सडककै नमाज

0
Shares

नेपाल समाचारपत्र, बाँके
मुस्लिम समुदायले महान पर्व इद मनाएका छन् । एक महिने कठोर ब्रत (रोजा) सिधिएको दिन शनिबार नेपालगञ्जको वीपीचोकस्थित मस्जिदमा सामुहिक नमाज पढेर खुशीयाली साटसाट गरिएको हो ।

नयाँ–नयाँ कपडा लगाएर मस्जिदमा पुगेका मुस्लिम समुदायका मानिसले देशमा शान्ति र भाइचाराको कामना गरेका छन् । वीपीचोकमा जम्मा भएका ठूलो संख्याका मानिस मस्जिदमा नअटेपछि सडकमै नमाज पढिएको थियो ।शहरी विकास मन्त्री भएका मो. इस्तियाक राइले पनि सामुहिक नमाज पढेका छन् ।

वीपीचोकमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, उपमेयर उमा थापा, नेकपाका नेता अशोक कोइराला, दामोदर आचार्य, दत्तप्रसाद आचार्य, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतका नेताहरु शुभकामना दिन पुगेका थिए ।
इदमा मिठो चोखो खाने, गरीवलाई कमाईको अढाई प्रतिशत दान (जाकात) दिने गरिन्छ । यसपालीको इदमा मुस्लिम समुदायका अगुवाले देशमा शान्ति सुव्यवस्थाको कामनासँगै सरकारले आफ्नो पर्वको बिदा काटेकोमा असन्तुष्टि जनाएका छन् ।

मौलना मन्सुरले सामुहिक नमाजमा देशमा सुखशान्तीको कामना गरेको बताउनुभयो । उहाँले सरकारले इद, मोहम्मद डेको बिदा कटौती गरेकोमा आपत्ति जनाउनुभयो । शुरुमा मस्जिद अगाडि ‘कम्युनिष्ट सरकार धोखा हो, मुस्लिम विरोधी केपी ओली राजीनामा दे’ लेखेको कालो ब्यानर झुण्ड्याइएको थियो । प्रहरीले त्यसलाई हटाएको थियो ।