टोलटोलमा प्रहरी अभियान शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक कार्यक्रमबीच शनिबार टोलटोलमा प्रहरी अभियान शुरु गर्नुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना २०७४ बुँदा नम्बर ३७, एवं प्रहरी महानिरीक्षकका प्राथमिकताको बुँदा नम्बर ६ मा समावेश भएको ‘नागरिक मैत्री प्रहरीको रुपमा छवि विस्तारमा तीव्रता’ ल्याउन ‘टोलटोलमा प्रहरी अभियान’ कार्यक्रमको नेपाल पुलिस क्लव भृकुटीमण्डपमा शनिबार आयोजित बिशेष समारोहबीच शुभारम्भ गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले टोलटोलमा प्रहरी अभियान कार्यक्रम हरेक नागरिकको मन–मनमा प्रहरी बस्नुपर्छ भन्ने हो भन्दै सर्वसाधारणले प्रहरी हाम्रा लागि हो भनेर अनुभुत गर्न समाजका हरेक टोल–टोलमा प्रहरी पुग्नुपर्नेमा जोड दिनुभयो ।

टोल–टोलमा खटिने प्रहरीले अपराध र अपराधीसंग कुनै सम्झौता नगरी नागरिक समाजप्रति प्रहरीको विश्वास बढाउदै लगिने समेत प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा.गोविन्द प्रसाद थापाले जनताको मनमनमा प्रहरी छ साथी भन्ने भावनाको विकास हुनुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीले अभियान सफल बनाउन प्रहरीले सीमित स्रोत साधनको अधिक्तम उपयोग गरी नागरिक समाजसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

समारोहमा प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले स्वागत मन्तव्य व्यक्त तथा प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी बरिष्ठ अधिकृतहरु, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायत प्रहरी अधिकृत तथा जवानको सहभागित रहेको थियो ।