पेरू भन्दा डेनमार्क बलियो


फिफा वरीयतामा दुवै टोलीमा धेरै दूरी छैन। पेरू ११औं स्थानमा छ भने युरोपियन राष्ट्र डेनमार्क १२औं स्थानमा रहेको छ। डेनमार्कको विश्वकपमा अनुभव धेरै नभए पनि १९९८ विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो। क्रिस्टियन इरिक्सनका सनसनी ह्याट्रिकले गर्दा डेनमार्क रुसमा पुगेको हो। युरोपियन छनोटअन्तर्गत प्लेअफमा रिपब्लिक आयरल्यान्डलाई ५–१ ले हराउन इरिक्सनले महत्वपूर्ण भूमिका खेलेका थिए। टोटनहामका लागि यी खेलाडीले १४ गोल गरेका थिए।

त्यस्तै विश्वकपमा समूहबाट शीर्ष भएर छनोट भएको पोल्यान्डलाई पनि डेनमार्कले हराएको थियो। यसैले पनि पेरूका लागि डेनिस टोलीलाई पन्छाउन यस्तै उच्चस्तरको खेल पस्कनुपर्ने हुन्छ। विश्वकप १९७० मा क्वार्टरफाइनलसम्म पुग्न सफल पेरूको एक बलियो आधार भनेको सन् २०१६ देखि १५ खेलमा अपराजेय रहेको हो। कमजोरी भनेको प्रतियोगितामा त्यति अनुभव लिन नपाएको हो।