आत्मघाती गोलमा इरानको जित


सेन्ट पिटर्सबर्ग, (एजेन्सी)
रुसमा जारी विश्वकपअन्तर्गत शुक्रबार समूह बी को खेलमा इरानले आत्मघाती गोलको सहयोगमा जित हात पारेको छ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेल बराबरीतिर लम्किएको स्थिति उल्टियो इन्जुरी समयमा र इरानले मोरोक्कोलाई १–० गोलअन्तरले हरायो। यो इरानको विश्वकपमा दोस्रो जित हो। यसअघि १९९८ विश्वकपमा इरानले अमेरिकालाई २–१ ले हराएको थियो।

६ मिनेट थपिएको इन्जुरी समयको पाँचौं मिनेटमा इरानको फ्रिकिक पन्छाउने क्रममा अजीज बउहादुजले आफ्नै पोस्टमा गोल गरेका थिए। उनले इरानको फ्रिकिकलाई क्लियर गर्न हेड गर्दा बलले जाली चुम्न पुगेको थियो।

यो जितपछि इरानले ३ अंक जोड्दै पहिलो चरण पार गर्ने संभावनालाई बलियो पनि बनाएको छ। यद्यपि यो समूहमा अर्का दुई बलिया टोली स्पेन र पोर्चुगल सम्मिलित छन्। उता २० वर्षपछि पुनःविश्वकपमा छनोट भएको मोरोक्कोका लागि जित हात पार्न नसक्दा पहिलो चरणबाटै बिदा हुने संभावना भएको छ। टोलीले अन्य खेलमा स्पेन र पोर्चुगलको सामना गर्नुपर्नेछ। मोरोक्कोले खेलमा बढी दबाब बनाए पनि गोल गर्न सकेन।