बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले उनलाई बिहिबार बेलुकी पक्राउ गरेको जनाएको छ । ६६ वर्षिय नेदरल्याण्ड नागरिक पेट हेन भान टेर्विस्कालाई एक नेपाली बालक सहित ठमेलको सातघुम्तीमा रहेको एक होटलबाट पक्राउ गरिएको जनाईएको छ ।

बिभिन्न मुलुकका विदेशी नागरिकहरु समाजसेवाको आवरणमा नेपालमा आई गरिव र विपन्न परिवारका वालकहरुलाई ललाई फकाई, विभिन्न प्रलोभनमा पारी वाल यौन दुराचार गरिरहेका छन् भन्ने बिशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

बालकको तत्कालै उद्दार गरी अभियुक्त टेर्विस्कालाई जवरजस्ती करणी महलको वाल यौन दुराचार अपराध अन्तर्गत मुद्दा दर्ता गरी काठमाण्डौ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान कार्य जारी रहेको ब्युरोले जनाएको छ ।

मुलुकी ऐन, जबरजस्ती करणीको महल अन्तर्गत उक्त बालयौन दुराचार अपराधमा अधिकतम ११ बर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानुनी व्यवस्था रहेको छ ।