राजनीतिक प्रेरणा


पढाइमा अब्बल अनि बिहे गर्ने उमेर पुगेका छोरालाई श्रीमती र आफूलाई उपयुक्त बुहारी खोज्न एक दम्पती निकै दौडधुपमा जुट्या बेला एक आफन्त घरमै टुप्लुक्क आइपुगेछन्। दम्पतीले सबै बेलिविस्तार लगाएपछि आफन्तले जनवादी विवाह गर्ने सल्लाह दिँदा भावी सासु ससुरा झसंग।

जनवादी विवाह गरेका नेताको सम्पत्तिले छलाङ मारेको इतिश्री आफन्तले बुझाएपछि त्यस्तै बिहे गर्न दम्पती राजी भएछन्। विवाहमा ठूलो खर्च पनि गर्न नपर्ने, सुन चाँदी र अन्य दाइजो पनि टन्नै आउने भएपछि राजी नहुने कुरै भएन। यो त अब घर–घरको कहानी पो होला जस्तो छ त। अनि खै के–के विषय पढेर ठूलै नाम कमाउँछु, श्रीमती लिएर अमेरिकातिरै लाग्छु भन्ने छोरो पनि पूरै परिवर्तन भएको देख्दा धरहरा छक्क पर्या छ।

छोरो सब कुरा छोडेर राजनीति गर्ने रे। आखिर राजनीतिले नाम, दाम, सम्मान सबै दिने भएसी। कन्या पक्ष पनि आजकल परिवर्तन भइसक्या धरहराले सुन्ने गरेको छ। युरोप र अमेरिका पुग्या होइन, सक्रिय राजनीतिमा होमिएका युवा नै उपयुक्त ज्वाइँ बन्न सक्छन् रे। कन्यापक्षका लमीको तर्क। लमी भन्छन्– ‘के गर्नु हजुर, जमनाअनुसार बदलिनै पर्यो, आखिर राजनीतिले देशमै सुब्बे फाब्बे हुन्छ भने किन विदेशिनु हैन र ?’