रुसको अगाडि साउदी अरेबिया निरीह


मस्को, (एजेन्सी)
विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसको अगाडि साउदी अरेबिया निरीह सावित भएको छ। मस्कोस्थित लुजनीकी रंगशालामा बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै करिब ८० हजार दर्शकका अगाडि रुसले साउदी अरेबियामाथि धाक जमायो। रुसले एसियाली टोली साउदीलाई ५–० गोलअन्तरले हराएको हो। टोलीका लागि डेनिस चेरिसेभले दुई गोल गरे। यो जितसँगै समूह ए मा रहेको रुसले ३ अंक जोड्दै दोस्रो चरणमा पुग्ने आशा बनाएको छ।

रुसले यसअघिका विश्वकपमा पहिलो चरण पार गर्न सकेको छैन। घरेलु दर्शक र घरेलु मैदानको फाइदा यसपटक रुसले लिन सकिने पहिलो खेलबाट प्रस्ट्याएको छ। रुसका लागि पहिलो गोल खेलको १२औं मिनेटमै आएको थियो। लुरी गाजिनिस्की २१औं विश्वकपमा पहिलो गोल गर्ने खेलाडी बने। लुरीले एलेक्सान्डर गोलोविनको क्रसमा गोल गरेका थिए। बक्सभित्र पाएको बललाई अनमार्कका रहेका लुरीले गोल गर्न कुनै कन्जुस्याइँ गरेनन्।

दोस्रो गोल पहिलो हाफ सकिन २ मिनेट बाँकी हुँदा डेनिस चेरिसेभले गरेका थिए। डेनिसले यो गोल सुन्दर तरिकाले गरेका थिए। उनले दुई साउदी डिफेन्डरलाई छलाएर बललाई जाली चुमाएका थिए। साउदी गोलकिपर अब्दुल्लाह अल्मुआइफलाई उनको प्रहार बचाउन कुनै मौका पनि उपलब्ध भएन। योसँगै चेरिसेभ उदघाटन खेलमा गोल गर्ने पहिलो सब्सीच्युट खेलाडी बनेका छन्। उनको गोलपछि घरेलु टोली पहिलो हाफमा २–० ले अगाडि बढेको थियो।

दोस्रो हाफमा भने रुसको दबाब साउदीमाथि र≈यो। साउदीका लागि खेलमा फर्कने त्यतिबेला सकियो जतिबेला रुसले तेस्रो गोल थप्यो। ७१औं मिनेटमा आर्टेम डजुबाले गोल गरेका थिए। यसपटक पनि गोलोविनले नै पास उपलब्ध गराएका थिए। उनी मैदान आएको एक मिनेटमा गोल गर्न सफल भएका थिए। अरू दुई गोल खेल सकिन लाग्दा भएका थिए। चेरिसेभले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे भने अर्को गोल इन्जुरीको पाँचौ मिनेटमा गोलोविनले फ्रि–किक मार्फत् गरेका थिए। साउदीका लागि भने पहिलो खेल नै निराशाजनक बनेको छ।

रुसले साउदी अरेबियालाई ५–० ले हराएर कीर्तिमान रचेको छ। यो जित आयोजक राष्ट्रको उद्घाटन खेलमा दोस्रो ठूलो जित हो। यसअघि इटालीले १९३४ विश्वकपमा अमेरिकालाई ७–१ गोलअन्तरले हराएको थियो।