नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विगतमा भएका सहमति सम्झौता कार्यान्वयन मुख्य एजेन्डा बन्ने भएको छ। रेलवे, सडक, ऊर्जा, पारवहन, कृषि, पर्यटन, अन्तरदेशीय विद्युत् प्रशारण लाइन जस्ता विषय कार्यान्वयनमा भ्रमण केन्द्रित हुँदै छ।
तिब्बतसँग सीमा जोडिएका उत्तरी भेगका बस्तीलाई सडक सञ्जालमा जोड्न ‘तिब्बेतियन हाइवे’ सञ्चालन गर्ने बारेमा दुवै पक्षबीच हस्ताक्षर हुने भएको छ। तिब्बतबाट खाद्यान्न ढुवानी गर्न र नेपालबाट तिब्बततर्फ मालसामन निर्यात गर्न सो हाइवे सञ्चालन गर्ने लक्ष्य अघि सारिएको छ।
पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिको दार्चुलाका विभिन्न भेगमा ८ वटा नाका खुलाउन तिब्बेतियन हाइवे सञ्चालन गर्न दुवै मुलुक गृहकार्यमा जुटेका हुन्। बझाङ, दार्चुला, ताप्लेजुङमा २–२ वटा र रसुवागढी तथा हुम्लामा १–१ वटा व्यापारिक नाका खुल्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।
‘८ वटा नाका खुलाउने बारेमा परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय सम्झौता हुँदै छ’, उहाँले बिहीबार सञ्चारकर्मीसँग भन्नुभयो– ‘खाद्यान्न र अन्य सामग्री ढुवानीका लागि नाका खोल्ने तयारी गरिएको हो।’
चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणमा प्रधानमन्त्री ओली आगामी मंगलबार चीन भ्रमणमा जाँदै हुनुहुन्छ। यो भ्रमणका क्रममा सातवटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र सञ्चालन, कृषि र पशुपालन साझेदारीमा आवश्यक सहयोग गराउने बारेमा समेत समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ।
यसै गरी तातोपानी नाकाको मितेरी पुल र रसुवागढी–स्याफ्रुबेंसी जोड्ने पुल निर्माणका लागि चीनले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने बारेमा पनि सहमति हुँदै छ। यससम्बन्धी सम्झौता गर्ने बारेमा गत आइतबारको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको छ। तातोपानी नाका अर्को वर्षको मे महिनाबाट पुनः सुचारु गर्न यसअघि नै चीन सहमत भएको मन्त्री ज्ञवालीले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘नेपालले आफ्नो तर्फको सडक बनाएपछि चीनले नाका खुलाउनेछ, पहिलो चरणमा कार्गो ढुवानीका लागि तातोपानी नाका सञ्चालन हुनेछ।’ ३ वर्षअघिको भूकम्प र त्यसलगत्तैको वर्षाले सो नाका, सडक र आसपासको भौतिक पूर्वाधार पूर्णरूपमा क्षतिग्रस्त बनेको छ। चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपालको प्राथमिकता र चिनियाँ सहयोग, समुद्री बन्दरगाहको पहुँच, सुक्खा बन्दरगाहको प्रयोगलगायतका विषयले पनि यो भ्रमणमा प्राथमिकता पाउनेछ।
द्विपक्षीय व्यापार र जलविद्युत्मा चिनियाँ लगानी भित्याउनेबारेमा दुवै मुलुकका उद्योगी व्यवसायीबीचको जमघटमा महत्वपूर्ण सम्झौता हुने बताइएको छ। चिनियाँ लगानीलाई प्रोत्साहन गर्न प्रधानमन्त्री ओलीले चीनको राजधानी बेइजिङमा नेपाल–चीन बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई प्रबद्र्धन गर्न ‘नेपाल–चीन मैत्री दौड’को आयोजना गरिएको र सो कार्यक्रममा प्रधानमन्त्री ओली र चिनियाँ विशिष्ट अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।











प्रतिक्रिया