काठमाडौं, (नेस)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् झपटबहादुर रावलले विभिन्न ३ मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक माथिको पुस्तिका सम्बन्धित मन्त्रीलाई फिर्ता गरिदिनुभएको छ। रावल कैलाली–२ बाट तत्कालीन नेकपा एमालेबाट प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो।
संसद्को बैठकमा बोलिसकेपछि रावलले आफूले पाएका पुस्तिका मन्त्रीलाई फिर्ता गरिदिनुभएको थियो। ‘मेरा योजना केही पनि परेनन्, त्यो भारी किन बोक्नु भनेर पुस्तिका फिर्ता गरें’, रावलले भन्नुभयो– ‘अरूकै मात्र योजना परेछन्, आफ्नो योजना नआएपछि झोला च्यातिने गरी भारी बोक्न मन लागेन।’ बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजन विधेयक–२०७५ का विभिन्न शीर्षकमाथि छलफल भएको थियो।
सांसद रावलले पर्यटन मन्त्रालयको पुस्तिका पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्मालाई सम्बन्धित मन्त्रालयको पुस्तिका र अर्थको पुस्तक अर्थमन्त्री डा. युवराज खतिवडालाई संसद्मै फिर्ता गरिदिनुभएको थियो।
रावलले अन्य मन्त्रालयको बजेटमा पनि आफ्नो असन्तुष्टि रहेको बताउनुभयो। रावलले जे वास्तविकता छ, त्यही संसद्मा राख्दै आउनुभएको छ।
‘म जनताको प्रतिनिधि हुँ त्यसैले उहाँहरूको आवाज बोल्छु’, रावलले भन्नुभयो– ‘जनताको जनजीविकालाई सरकारले ध्यान दिन सकेन भने हामी सांसदले सरकारलाई पनि खबरदारी गर्छौं।’
रावलले १ साताअघि संसद् सचिवालयले सांसदलाई दिएको २ दिने जानकारीमूलक कार्यक्रम पनि बहिष्कार गर्नुभएको थियो। उहाँले अन्य सांसदलाई पनि विदेशी संघ संस्थाले विभिन्न स्वार्थमा प्रदान गरेको तालिममा सहभागी नहुने अभियान नै चलाउनुभएको थियो।
नेकपाले आज शुक्रबार संसदीय दलको बैठक बोलाउने भएको छ। संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आवश्यक परे बैठक बोलाइने र आवश्यक नपरे नबोलाइने बताउनुभयो। सचेतक शान्ता चौधरीले साँझसम्म कुनै औपचारिक जानकारी नभएको बताउनुभयो।











प्रतिक्रिया