नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) ले तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा विजयी शुरूआत गरेका छन्।
मंगलबार एन्फा कम्प्लेक्समा पहिलो दिनको खेलमा आर्मीले सरस्वती युवा क्लबमाथि ४–० को एकोहोरो जित हात पार्यो। त्यस्तै एनआरटीले मच्छिन्द्र क्लबको १–० को अग्रतालाई अस्विकार गर्दै ३–१ ले जित हासिल गर्यो। सरद राईले मच्छिन्द्रका लागि १४औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए।
तर एनआरटी दुई मिनेटमा दुई गोल गरेर खेलमा फर्केको थियो। साहिल केसीले ३०औं र विशाल क्षेत्रीले ३२औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा २–१ ले पछि परेको छिमेकी क्लब मच्छिन्द्रले दोस्रो हाफमा गोल फर्काउन नसकेपछि एनआरटीको जित सुनिश्चित भएको थियो। एनआरटीका लागि इन्जुरी समयमा निर्मल घिसिङले थप गोल गरे।
उता डिफेन्डिङ च्याम्पियन आर्मीका लागि पहिलो गोल गर्न पहिलो हाफसम्म कुर्नुपरेको थियो। पहिलो हाफको इन्जुरी समयमा सेसेहाङ आङदेम्बेले गोल गरेपछि आर्मीले दोस्रो हाफमा वर्चश्व बनायो र फराकिलो जितसँगै उपाधि रक्षा गर्ने लक्षण देखाएको छ।
आर्मीका प्रशिक्षक चक्र तामाङले खेलपछि बताए– ‘पहिलो खेल सधंै महत्वपूर्ण हुन्छ। हामीहरू डिफेन्डिङ च्याम्पियन हौ र उपाधि रक्षा गर्नेछौँ।
आर्मीका लागि दिनेश हेम्जनले दुई गोल गरेर अग्रता फराकिलो बनाएका थिए। उनले ६८औं र ८५औं मिनेटमा गोल गर्दा ७५औं मिनेटमा विवेक चौधरीले एक गोल थपेका थिए।











प्रतिक्रिया