युवक मारेर भाग्दै गरेको ट्रकमा आगजनी

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाको को नयाँ बसपार्कको भानु चोकमा सोमबार दिउँसो ट्रकको ठक्करबाट एक युवकलाई ठक्कर दिएर भाग्दै गरेको ट्रकलाई स्थानीयले जलाइदिएका छन् ।

ठक्कर दिएर भाग्दै गरेको ट्रकलाई आक्रोशित स्थानीयले आगजनी गरेका हुन्। कन्टेनर बोकेर वीरगन्ज भन्सार कार्यालयतर्फ जाँदै गरेको ना ५ ख ८६६० नम्बरको ट्रकले भानु चोकमा दिउँसो १ बजे ठक्कर दिँदा रौतहटको भेलाहीका २५ वर्षीय दिपेन्द्र दासको घटनास्थलमै मृत्यु भएको थियो । दिपेन्द्रलाई ठक्कर दिएपछि बाइपास हुँदै भन्सार कार्यालयतर्फ भाग्दै गरेको ट्रकमा नगवा पोखरी नजिक स्थानीयवासीले रोकेर आगजनी गरेका हुन्।आगजनीबाट ट्रकको अगाडि पट्टीको पूरै भाग जलेर नष्ट भएको छ।

स्थानीयले आगजनी गरेलगत्तै वीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्रले आगो निभाएकाले कन्टेनरमा थप क्षति हुन नपाएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। ट्रकका चालक अनिल लामालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक युवकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको र ट्रकमा आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

स्थानीयहरुले भने ट्रकले ब्याक गरेर जानीजानी युवकको हत्या गरेको भन्दै चालकलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । उनीहरुले ट्रकमा आगजनी गरेपछि केहीबेर प्रदर्शन समेत गरेका थिए ।