नेपाल समाचारपत्र, काठमाडौँ ।
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार काठमाडौं ल्याइने भएको छ ।उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं झिकाउन लागिएको हो ।
जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिइसकेको छ । सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत उनीहरुलाई काठमाडौं ल्याइने प्रहरीले जनाएको छ । गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको छ भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको छ । तर, अब भने तीनै जनालाई काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
जेठ १० मा समातिएका गोरेले सुन तस्करी स्वीकार्नुका साथै श्याम खत्री र मोहनकुमार अग्रवाललाई पोलेका छन् । तर, अन्य लगानीकर्ताबारे बोलेका छैनन् । अनुसन्धान टोलीलाई छलेर लामो समय फरार भएका एसएसपी श्याम खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । साथै, भुजुङ भने अनुसन्धानको प्रारम्भीक चरणमै पक्राउ परेका थिए ।











प्रतिक्रिया