उत्कृष्ट शिक्षा बोर्डिङ छाडेर सरकारीमा

0
Shares

रोशन पराजुली

बोर्डिङबाट त्यस विद्यालयमा आउने विद्यार्थीको संख्या धेरै छ। शिक्षालाई राज्यले उच्च प्राथमिकतासाथ लिएर यस क्षेत्रमा मनग्ये लगानी गरे पनि आफ्ना सन्ततीको शिक्षाका लागि पहुँच भएसम्म निजी विद्यालय (बोर्डिङ) नै अभिभावकको पहिलो रोजाइमा पर्ने गरेको छ। घरछेउको सरकारी विद्यालयको गेटनजिक बसी किताब कापीको गह्रौं झोला बोकेर घरदेखि टाढा रहेको बोर्डिङको बस कुर्नु आजका सहरी क्षेत्रका विद्यार्थीको यथार्थ हो।

अंग्रेजी भाषातर्फ अभिभावक आकर्षित हुनु र निजी विद्यालयले दिएको नतिजाजस्ता कुराले गर्दा पनि शिक्षामा निजी विद्यालयले प्रभाव पारेको छ। समाज जति विकास हुँदै जान्छ, उत्तिकै मात्रामा सरकारी विद्यालय औपचारिकतामा सीमित हुँदै गएका देखिन्छन्। निजी विद्यालय विद्यार्थी तान्न प्रतिस्पर्धामा उत्रिरहेका देखिन्छन्। विद्यार्थीको चाप पनि सरकारी विद्यालयको तुलनामा निजी मै बढी देखिन्छ। यस्तो सन्दर्भमा हेटौंडाको आधुनिक राष्ट्रिय मावि यस्तो विद्यालय हो, जसले भर्ना गर्न आउने विद्यार्थीलाई सिट नभएको भन्दै फर्काउनुपरेको छ।

विद्यालयमा अध्ययन गर्ने इच्छा लिएर आउनेहरूमा अधिकांश बोर्डिङका विद्यार्थी छन्। हेटौंडा बजारको विभिन्न स्थानमा रहेका बोर्डिङमा अध्ययनरत विद्यार्थी त्यस विद्यालयमा अध्ययन गर्ने इच्छा जाहेर गर्छन्। तर, विद्यार्थीको चाप र कक्षाकोठा तथा शिक्षकको सीमितता जस्ता कारण विद्यालय प्रशासनले धेरै विद्यार्थी तथा अभिभावकलाई भर्ना लिन सकिन्न भन्दै फिर्ता पठाउनुपरेको छ।

विद्यालयको भौतिक संरचना, सुविधाजस्ता कुराको विकास मात्र होइन, नतिजा र गुणस्तरीय शिक्षा मुख्य कुरा हो रहेछ भन्ने कुराको उदाहरण आधुनिक राष्ट्रिय मावि बनेको छ। जहाँ ठूला भवन, पर्याप्त कक्षाकोठा र डेस्कबेन्च तथा शिक्षक पर्याप्त छैनन्। तर परीक्षामा सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम हुँदै आएको छ।

विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी र नेपाली दुवै भाषाको माध्यमबाट अध्यापन हुने गरेको छ। एउटै कक्षामा ६० देखि ८५ जनासम्म विद्यार्थी अध्ययन गर्दछन् भने एउटै कक्षाको ६ वटासम्म सेक्सन छन्। मकवानपुरको हटिया, पदमपोखरी, बस्तीपुर, कमाने, चुच्चेखोला, सामरी, अमलेखगञ्जदेखिका विद्यार्थी दैनिक आवतजावत गरी यहाँ अध्ययन गर्दछन्। सिराहा, चितवन, पर्सालगायत छिमेकी जिल्लामा घर भएका विद्यार्थी पनि यहाँ अध्ययनरत छन्। विद्यालयले विद्यार्थीलाई कसरी रचनात्मक तरिकाले सिकाउन सकिन्छ भन्ने उपाय खोजी गर्दै सिकाइमा नयाँनयाँ प्रविधि उपयोग गर्ने गरेको छ।

आधुनिक स्कुल भन्नासाथ उत्कृष्ट विद्यालय हो भन्ने छाप समुदायमा परेको छ। जसका कारण आफ्ना छोराछोरी आधुनिकमा पढाउन अभिभावक इच्छुक रहन्छन् भने विद्यार्थी पनि यहाँ आउने चाहना राख्छन्।

विद्यालयबारे समुदायमा सकारात्मक छापकै कारण यस वर्ष करिब ४ सय जना नयाँ भर्ना लिने गरी सञ्चालन गरिएको प्रवेश परीक्षामा करिब २ हजार ५ सय विद्यार्थी सहभागी भए। प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले यहाँ भर्ना हुने अवसर पाए।

२०२४ सालमा स्थापना भएको विद्यालय हेटौंडा बजारको केन्द्रमा छ। हेटौंडाको आधुनिक राष्ट्रिय मावि देशमै चर्चित सामुदायिक विद्यालय हो, जुन विद्यालय एसएलसी र एसएईई परीक्षामा १३ पटक जिल्ला प्रथम हुन सफल भएको छ।

हेटौंडा–४ स्थित माविलाई शिक्षा विभागले विशेषरूपमा हेरेको छ। उक्त विद्यालय देशका २ सय २० नमुना विद्यालयमध्ये परेको छ, जसलाई नमुना विद्यालय बनाउने कार्यक्रममा समावेश गरिएको छ। नमुना विद्यालयको सूचीमा समावेश भएको आधुनिक राष्ट्रिय माविको प्रधानाध्यापक (प्रअ) को जिम्मेवारी केही दिनअघि वीरवंश बैठाले प्राप्त गर्नुभएको छ।

२३ वर्षदेखि आधुनिकमा शिक्षण गर्नुभएका बैठा यसअघि लगातार ५ वर्ष सहायक प्रधानाध्यापक हुनुहुन्थ्यो। प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका बैठाले शिक्षण विधिमा अझ सुधार गर्ने दाबी गर्नुभएको छ। उहाँका अनुसार अध्यापनमा आधुनिक सूचना प्रविधि प्रयोग गरिनेछ। सूचना प्रविधि प्रयोग गरेर प्रभावकारी शिक्षणका लागि शिक्षकलाई तालिमसमेत प्रदान गरिने, शिक्षकलाई अझ जिम्मेवार बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्ने योजनामा विद्यालय छ।

गुणस्तरीय शिक्षा मात्रै नभएर सबै कुरा हेर्नुपर्ने र त्यसले विद्यालयको अझ प्रगति गर्ने प्रअ बैठाकोे बुझाइ छ। विद्यालय भनेको सामूहिक कार्य (टिमवर्क) हो। विद्यालयको सामूहिक कार्यलाई सशक्त बनाउने पक्षमा उहाँले प्रतिबद्धता जनाउँदै शिक्षक, कर्मचारी सबैलाई कार्यविभाजन गर्ने, उत्तरदायी बनाउने योजना बनाउनुभएको छ।

आगामी शैक्षिक सत्रदेखि कक्षागतरूपमा शिक्षकलाई जिम्मेवारी दिइनेछ। शिक्षकलाई आफ्नो कक्षाकोठाकोे जिम्मेवारी दिने र अभिभावकले पनि आफ्नो बच्चाबारे बुझ्न आउँदा सिधै वर्ग शिक्षकलाई भेट्ने व्यवस्था मिलाउने र वर्ग शिक्षकलाई नै त्यो सबै जिम्मेवारी दिने व्यवस्था मिलाइनेछ।

२ हजार विद्यार्थीका बारेमा १ जना प्रअले मात्र थाहा पाउने स्थिति हुँदैन। त्यसैले थोरै भए पनि शिक्षकलाई सुविधा दिएर व्यवस्थापन गरिनेछ। विद्यार्थीको होमवर्कका लागि डायरीको व्यवस्था गराउने, कक्षा शिक्षकलाई विद्यार्थीको व्यक्तिगत विवरण राख्न लगाउने र हरेक महिनाको हाजिरी बुझेर अभिभावककहाँ पठाउने व्यवस्था मिलाउने र शिक्षक कक्षाकोठामा पुगे नपुगेको र विद्यार्थीले बुझे नबुझेका लागि ‘लगबुक’को व्यवस्था गरिनेछ, जसमा विद्यार्थीले आफ्नो प्रतिक्रिया जनाउन सक्नेछन्। शिक्षकले विद्यार्थीको उपस्थितिलाई हेर्ने मात्र नभएर विद्यार्थीले पनि आफ्ना शिक्षकको उपस्थितिको हाजिरी राख्नेछन्।

विद्यार्थी संख्याको हिसाबमा नमुना विद्यालयको निर्देशिकाअनुसार आधुनिक माविलाई ६६ जना शिक्षक अभाव हुने देखिन्छ। हाल ३४ जना शिक्षक छन्। १२ जना निजी स्रोतमा राखिएको छ। नमुना विद्यालयको गुरुयोजना बनाएर विभागमा पठाइएको छ। यदि त्यो स्वीकृत भएर आयो भने शिक्षक अभावसम्बन्धी समस्या सुल्झिनेछ। जिल्ला शिक्षा एकाइमा अर्को प्रस्ताव पेश गरिसकिएको छ, जसअनुसार विद्यालयलाई २ सिफ्टमा चलाउने व्यवस्था मिलाइनेछ।

टाइमटेबल बनाएर २ सिफ्टमा विद्यालय चलाउन सकिन्छ। स्थानीय तह, व्यवस्थापन समिति, अभिभावक, स्थानीय सरोकारवालासँग मिलेर २ सिफ्टमा विद्यालय चलाउन सकिन्छ। विद्यालयमा सकारात्मक राजनीतिक अभ्यास छ। नकारात्मक हस्तक्षेप छैन। प्राज्ञिक कुरा शिक्षकलाई दिनुहोस्, भौतिक तथा अन्य क्षेत्रमा व्यवस्थापन समिति, पीटीएलाई सहयोग गर्नुहोस् भनिएको छ। शिक्षकलाई भर्ना गर्ने, सरुवा गर्ने, हेडमास्टर बनाउनेतर्फ नलाग्नोस् भन्ने गरिएको छ। सोहीअनुसार काम भएको छ।

व्यवस्थापन समितिका पदाधिकारी बेलाबेलामा आइरहन्छन् तर विद्यालयमा अभिभावकको त्यति पहुँच छैन। सहयोग शुल्क तिर्न आउने, कि त कहिलेकाहीं छोराछोरी आएका छन् की छैनन् भनी बुझ्न आउनेबाहेक अरु छैन। तर अब प्रत्येक शनिबार अभिभावकलाई बोलाउने, उहाँहरूसँगै कक्षाकोठाको अवलोकन गरिनेछ। अभिभावकलाई विद्यालयको कमजोरीबारे मूल्यांकन गर्न लगाइनेछ। अब केही न केही नयाँ कुरा देखिन्छ भन्ने उहाँलाई विश्वास छ।

हरेक विद्यार्थीलाई हप्तामा एकपटक पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला जाने वातावरण बनाइनेछ। शनिबार मिलाएर भए पनि यो व्यवस्था मिलाइने उहाँले स्पष्ट पार्नुभयो। यो काममा अभिभावक, सरोकारवाला एवं सम्पूर्णले सहयोग गर्ने अपेक्षा उहाँको छ।