२१औं विश्वकप विजेताले कति पुरस्कार पाउँछन् ?


काठमाडौँ । विश्वकप फुटबलको घम्साघम्सीसँगै उपाधि विजेताले कति पुरस्कार पाउलान् भन्ने कौतूहल पनि अहिले उत्तिकै छ ।

२१औं संस्करणसम्म आइपुग्दा विश्वकप विजेताको पुरस्कार राशिमा पनि क्रमश: वृद्धि हुँदै गएको छ । यसपटकको विश्वकप पुरस्कार राशि चालीस करोड अमेरिकी डलर छ ।

विश्वकप विजेताले तीन करोड ८० लाख डलर अर्थात् चार अर्बभन्दा बढी नेपाली रुपैयाँ पुरस्कार पाउनेछ। यो पुरस्कार राशि चार वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणको विश्वकपमा भन्दा १२ प्रतिशतले बढी हो ।

रुस विश्पकप उपविजेताले दुई करोड ८० लाख अमेरिकी डलर पुरस्कार हात पार्नेछ। यसैगरी तेस्रो हुने टोलीले दुई करोड ४० लाख र चौथो हुनेले दुई करोड २० लाख अमेरिकी डलर पाउनेछन् ।

क्वार्टरफाइनल अर्थात् अन्तिम आठमा पराजित हुने चार टोली प्रत्येकले एक करोड ६० लाख अमेरिकी डलर, अन्तिम १६ मा पराजित हुने आठ टोली प्रत्येकले एक करोड २० लाख र समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०/८० लाख अमेरिकी डलर प्राप्त गर्नेछन् ।

सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि पाउने तयारी रकमसमेत जोडिएको छ। विश्वकप फुटबलको नियमनकारी निकाय (फिफा)ले प्रतियोगिता तयारीको रकमसमेत विश्वकप सम्पन्न भएपछि पुरस्कार राशिसँगै प्रदान गर्ने जनाएको छ ।