ब्राजिलको कीर्तिमानी चौथो उपाधि (१९९४)


संयुक्त राज्य अमेरिकामा भएको फिफा विश्वकपको १५औं संस्करणमा उपाधि जित्दै ब्राजिल कीर्तिमानी चौथोपटक उपाधि जित्ने पहिलो राष्ट्र बन्यो। इटालियन स्टार रोबर्टो बाजियोले सन् १९९४ को १५औं विश्वकपको फाइनलमा ब्राजिलविरुद्ध पेनाल्टी प्रहार चुकाउँदा इटाली ४ पटक विश्वकप जित्नबाट चुक्यो। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका बाजियो भने फाइनलमा चुके।

रोबेर्टो बाजियोको सनसनीपूर्ण प्रदर्शनका कारण फाइनल पुगेका इटालीविरुद्ध रोमारियोबाट प्रेरित ब्राजिलले बाजी मारेको थियो। निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा टुंगिएको उक्त खेल थपिएको अतिरिक्त समयमा पनि गोलविहीन बनेको थियो। जसका कारण विश्वकपको इतिहासमा पहिलो पटक विजेताको निर्णय टाइब्रेकरमार्फत गरियो। जसमा ब्राजिल ३–२ ले विजयी बन्यो।
प्रतियोगिताभरि सर्वाधिक ६ गोल गरेका बुल्गेरियाका रिश्तो स्टाइचकोभ सर्वाधिक गोलकर्ता बने। सोही विश्वकपमा प्रतिबन्धित औषधि सेवन गरेका कारण डीएगो म्याराडोनामाथि प्रतिबन्ध लगाइएको थियो।