विश्वकप विजेताले ३८ मिलियन पाउने


लन्डन, (एजेन्सी)
फिफा विश्वकपको यस संस्करणमा कूल पुरस्कार राशि बढेको छ। गत ब्राजिलमा भएको २०औं संस्करणको विश्वकपको भन्दा रुसमा हुने विश्वकपमा ४२ मिलियन डलर रकम बढी भएको हो। यो नेपालीमा हिसाब गर्दा साला खाला साढे ४ अर्ब रुपियाँ हुन आउँछ। विश्वकप ट्रफी ४.९२७ किलोग्रामको शुद्ध सुन लेपिएको हुन्छ।

रुसमा हुने विश्वकपको कूल पुरस्कार राशि ४ सय मिलियन डलर रहेको छ। यो नेपाली रकम ४२ अर्ब ८० करोडबराबरीको हुन्छ। यो रकम कुनै पनि विश्व प्रतियोगिताभन्दा बढी हो। क्रिकेट विश्वकपसँगै दाँज्दा पनि कयौं गुणा बढी छ। सन् २०१५ विश्वकपमा कुल पुरस्कारको रूपमा १ करोड डलर (नेरु १ अर्ब ७ करोड) राखिएको थियो।

विश्वकप २०१८ को विजेता टोलीले ३८ मिलियन डलर ( नेरु ४ अर्ब ६ करोड ६६ लाख) प्राप्त गर्नेछ। फाइनलमा हार्ने टोलीले २८ मिलियन डलर (नेरु करिब ३ अर्ब) हात पार्नेछ। तेस्रो स्थानका लागि २४ मिलियन र चौथो हुनेलाई २२ मिलियन डलर छुट्याएको छ। यसैगरी पँचांैदेखि आठौं स्थानमा रहने टोलीको भागमा १६–१६ मिलियन डलर पर्नेछ। जबकी नवौंदेखि १६औं स्थानसम्म आउने टोलीका लागि १२–१२ मिलियन डलर भाग लगाएको छ।

यो फुटबलको महाकुम्भको विशेषता यस्तो छ कि प्रतियोगितामा एक पनि जित हासिल नगर्ने टोलीले पनि रकम पाउनेछ। फिफाको नियमअनुसार १७ देखि ३२औं स्थान ओगटने हरेक टोलीले ८–८ मिलियन डलर प्राप्त गर्नेछ।

विश्वकपको हरेक टोलीलाई तयारीको लागि १.५ मिलियन डलर दिइन्छ। फिफाले क्लब बेनिफिट प्रोग्रामअनुसार खेलाडीलाई विश्वकपका लागि क्लबबाट रिलिज गराउन त्यसको बदलामा सदस्य देसलाई २ सय ९ मिलियन डलर दिएको छ। यस्तै विश्वकपको दौरान कोही खेलाडी घाइते भएमा क्लबसँग आबद्ध छन् भने ती क्लबलाई फिफाले नोक्सान भरपाई भनेर १ सय ३४ मिलियन डलर अलग बजेट राखेको छ।