सकियो संगीत प्रशिक्षण

0
Shares

हेटौंडा, (नेस)। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको १५ दिने संगीत प्रशिक्षण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रममा ५३ जनाले प्रशिक्षण लिएका थिए।

मकवानपुर सँंस्कृतिक मञ्च हेटौंडाले संयोजन गरेको प्रशिक्षणमा तालबाजा, सुरबाजा र गायन सिकाइएको थियो। मादलको प्रशिक्षण प्रलय चौलागाईंले दिएका थिए। जसमा १७ जना सहभागी थिए। धिमेबाजामा सुनकुमार मानन्धर र मोहन सांगामीले प्रशिक्षण दिएका थिए। जसमा २२ जना सहभागी थिए। गायनतर्फ हेटौंडाका संगीतकार तथा गायक ईश्वर खड्काले १४ जनालाई शास्त्रीय संगीत प्रशिक्षण दिएका थिए।

प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक रायन श्रेष्ठ, संगीतकार कविन्द्र महर्जन, नेवाः पुचःका विष्णुगोपाल महर्जन र भेष खड्कीलगायत सहभागी थिए। कार्यक्रम प्रतिष्ठान सदस्य उदय श्रेष्ठको सभाध्यक्षतामा भएको थियो।