म्याच फिक्सिङको चपेटामा परेका फुटबलर सागर थापासहित ६ जनालाई सफाइ


नेपाल समाचारपत्र, काठमाडौँ ।

म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।अदालतका न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला गरेको हो । फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका अन्य खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।

तर, २४ कात्तिकमा भने सबै धरौटी बुझाएर छुटेको थिए । अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए । फिक्सिङको आरोपमा फुटवल खेलाडीहरु सन्दीप राई, विकास सिंह क्षेत्री पनि पक्राउ परेका थिए ।

नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरी पक्राउ गरेको थियो । तर, मुद्दा चलिरहेका बेला फिफाले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो ।