टेलिकमद्वारा ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा



काठमाडौं, (नेस)
नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो।

भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजनाअनुसार हालसम्म ९० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ। आगामी असार मसान्तसम्ममा बाँकी सबै स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरूप दु्रत गतिमा काम भइरहेको कम्पनीले जनाएको छ। समग्रमा हालसम्म २८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ।

जिल्लागत रूपमा हेर्दा सिन्धुपाल्चोकका ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४१ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६२ विद्यालय, काभ्रेपलाञ्चोकका १२६ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०५ विद्यालय, नुवाकोटका ५७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ३६ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६६ विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ। सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ। कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थानअनुसार वाईम्याक्स बेस स्टेशन, थ्रिजी डिभाइस र ईभीडीओ उपकरणको व्यवस्था गरेको छ। यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ। सर्भिस प्वाइन्टमा आवश्यकताअनुसार वाईम्याक्स, जीएसएम, सीडीएमए र एडीएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइएको छ।

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ वैशाख २१ मा भएको सम्झौताअनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो। उक्त आयोजनाअन्तर्गत नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ। साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्