फणीन्द्र फुयाल ज्वाला
हिजोआज विकासका नाममा चिल्ला सडक बनाउने, बन विनाश गर्ने, कंक्रिटका भवन बनाउने, चाहिनेभन्दा बढी मात्रामा यातायातका साधन उत्पादन गर्ने र तिनको धुवाँ, धूलो र कार्बनडाइअक्साइड मानवजातिले फोक्सोमा हुल्ने कार्य भइरहेको छ। विज्ञान र विकासका नाममा एटम बम, आणविक भट्टी र अत्याधुनिक हतियार बनाउने होडबाजी संसारमा चलिरहेको छ। ध्वंशको यस्तो क्रियाकलापलाई विकास भन्नै मिल्दैन।
विश्वका तेस्रो दर्जाका भनिएका (अल्पविकसित) मुलुकहरू कथित विकसित मुलुकहरूका लागि समस्याका विषय बन्दै गएका छन् (उनीहरूको भाषामा)। अल्पविकसित मुलुकले बन, जंगल, जडीबुटी, जल, हिमालय, विश्वबाटै लोप हुँदै गएका जनावर, कीरामिरा आदि नजोगाइदिने हो भने विकसित भनिएका मुलुकका मानिसहरू एक वर्ष त के एक महिना पनि धर्तीमा टिक्न सक्दैनन्।
त्यसैले विकास भनेको भौतिक वस्तु मात्र होइन। यो त स्वच्छ हावा हो, पानी हो। विकास भनेको धर्तीका सबै जीवहरूको जिउन पाउने अधिकार पनि हो। विकासका नाममा क्लोरोफ्लोरोकार्बन, कार्बनडाइअक्साइड लगायतका घातक तथा विषाक्त ग्यास र विकिरणहरू उत्पादन गरेर सेता हिमाल पगाल्न, जीवहरूको नाश गर्न हामी कसैलाई पनि छुट छैन। अबको विकास पत्रकारिताले यस्ता एजेन्डाहरूको उठान गर्नुपर्छ, जसले मानवजातिको मात्र नभई समग्र ब्रह्माण्डको र यस ब्रह्माण्डमा बसोबास गर्ने सबै जीवहरूको रक्षा गर्न सकोस्,
भलो गर्न सकोस्।
यस पृथ्वीमा पानीको भागभन्दा माटोको भाग न्यून छ। तर पनि धर्तीमा बसोबास गर्ने जीवहरूका लागि पानीको हाहाकार मच्चिन थालेको छ। अफ्रिका मात्र होइन कतिपय युरोपेली, अमेरिकी र एसियाली मुलुकमा पनि पानीको चरम समस्या छ। नेपालको पनि शहरी क्षेत्रमा पिउने पानीको समस्या ज्वलन्त छ भने देशका विभिन्न ग्रामीण भेगमा खानेपानी, सिंचाइका लागि चाहिने पानीको अभाव नै छ।
पानीका मुहानहरू बिस्तारै सुक्दै जान थालेका छन् भने जमिनमुनिको पानी पनि काठमाडौं उपत्यकालगायतका शहरी क्षेत्रमा सुक्दै जान थालेको विभिन्न खोज तथा अनुसन्धानहरूले देखाएका छन्। यी सबै समस्या देखा पार्नुमा मानवजातिको सुखी र आनन्दीपनाको जीवनशैली भोग्न चाहनुको परिणाम हो। विकासको नाममा शहरीया खानपान र जीवनशैलीले मानिसको स्वास्थ्यमा प्रतिकूल समस्या देखा पर्न थालेको छ।
विकास पत्रकारिता भनेको फगत पुल शिलान्यास, बाटो उद्घाटन, मन्दिर निर्माण मात्र होइन। यी भौतिक सामग्री निर्माणका लागि सरकारले बनाएको हरेक वर्षको योजना र नीति पनि विकास पत्रकारिताको दायरामा पर्छ। विकास पत्रकारिताले सरकारले हरेक क्षेत्रमा छुट्याएको बजेट कति सदुपयोग भयो र बजेट सिध्याउने नाममा कति बजेट टालटुले काममा खर्च ग¥यो ? त्यसका बारेमा खोजिनीति गरेर खबरदारी गर्न सक्नुपर्छ। विकास पत्रकारिता सुशासनसँग जोडिनै पर्छ।
जसरी विकास भन्ने शब्द गहन, फराकिलो र भेग छ विकास पत्रकारिता पनि त्यस्तै छ। पञ्चायतकालको विकासको कुरा गर्ने हो भने त्यति बेला राजा वीरेन्द्र देशका विभिन्न स्थानमा भ्रमण गर्न हवाईजहाज चढेर जान्थे। उनी मुगु, मन्थली, डोल्पा, हुम्लालगायतका जिल्लाको भ्रमण गर्दा सरकारी कर्मचारीले विकासको नमुना देखाउन र राजाको अगाडि यहाँ विकास भएको छ भन्ने भान पार्न नजिकैका खेतमा रातारात साग र टिप्ने बेला भएका काउलीका बोट गाडेका हुन्थे। त्यो ‘कस्मेटिक कृषि’ देखेर राजा पनि मख्ख पर्थे र नेपाल कृषिप्रधान देश भएको र यो कुरा प्रमाणित भएकोमा खुशी हुँदै राजदरबार फर्किन्थे।
राजा राजधानी फर्किएपछि उनको भ्रमणका बारेमा सरकारी सञ्चारमाध्यममा सामाचार, तस्वीर छापिन्थे। यस्तो विकास र विकास पत्रकारिता देखेर राजा खुशीले गदगद हुन्थे। यसै गरी दशकौँ बिते। यथार्थ एउटा र धरातल अर्कै भएपछि विकासको मूल फुट्न सकेन। त्यति बेलाको पत्रकारिता पनि फलानोले यसो भन्नुभो, उसो गर्नुभो आदिमै सीमित भयो। विकास पत्रकारिताको अर्थ जानिए, बुझिए पनि यसको अभ्यास नै बसेन ऊ बेला। विकास पत्रकारितका लागि गोरखापत्रले तत्कालीन संवाददाता किशोर नेपाललाई देशका विभिन्न स्थानका ग्रामीण इलाकामा गएर समाचार संकलन गर्न खटाउनुलाई भने प्रशंसनीय कार्य मान्नुपर्छ।
हिजोका दिनमा देशको पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव थियो। पत्रकारिताबारे ज्ञानको कमी थियो। पत्रकारिताका कलेजहरू आजका जस्ता छ्यापछ्याप्ती थिएनन् र आजका जस्ता तालिम केन्द्रहरू पनि जताततै थिएनन्। त्यही भएर पनि विकास पत्रकारिताले उत्ति सारो विकास हुन पाएन, फड्को मार्न सकेन। ज्ञानको कमीले गर्दा पनि यसको दायरा फराकिलो हुन सकेन।
तर आज न्यू मिडिया र सोसल मिडियाले गर्दा हरेक नागरिक पत्रकार बनिरहेका छन्। उनीहरू विकासका नाममा भएका र हुने गरेका हरेक गतिविधिहरू स्वयम् अध्ययन, अनुसन्धान र अनुगमन गरी सञ्चारमध्यमहरूलाई समाचार कन्टेन्टहरू उत्पादन मात्र गरिरहेका छैनन्, आफैं पनि ती विषयका बारेमा आलेख, समाचार तथा विचारहरू लेखेर पोस्ट गर्ने र सञ्चारमाध्यमलाई उपलब्ध गराउने समेत गरिरहेका छन्।
अबको विकास पत्रकारिताले सडक बन्यो मात्र होइन, उक्त सडक बनाउँदा कतिवटा रुख कटान भए ? बिजुलीका तार टाँगिए मात्र होइन, त्यसले कति घरलाई लाभान्वित ग¥यो ? सरकारले यति खर्बको बजेट भाषण ग¥यो मात्र होइन, बजेटमा लोपोन्मुख, अल्पसंख्यक, जनजाति, महिला, बालबालिका, टुहुरा तथा विधवाहरूलाई के–कस्तो अवसर, व्यवस्था र सुविधा दिने नीति तथा कार्यक्रम ल्यायो ? यो प्रमुख सरोकार हुनुपर्छ।
त्यसैले विकास पत्रकारिताको दायरा निकै फराकिलो बन्दै गएको आजको यस सन्दर्भमा कम्तीमा पनि नेपाल सरकारको स्वामित्वमा रहेका चार सञ्चारमाध्यमहरू गोरखापत्र, रेडियो नेपाल, रासस र नेपाल टेलिभिजनले यस खालका समस्या र समाचारलाई प्रमुखताका साथ स्थान दिएर अन्य सञ्चारगृहलाई पनि यसतर्फ लाग्न अभिप्रेरित गर्नुपर्छ।
प्रतिक्रिया