रामेशले फेरि गुञ्जाए गाउँ–गाउँबाट उठ

0
Shares

जनगायक रामेशले जनतालाई राजनैतिक क्रान्तिका लागि जोस्याउँदै उही बेला गाएका थिए ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ।’

उनले गाएजस्तो, उनले जोस्याएजस्तो गाउँ–गाउँ र बस्ती–बस्तीबाट उठेका जनताकै कारण पटक–पटक राजनैतिक परिवर्तन पनि भइसकेका छन्। तर देशको मुहार भने उस्तै छ। त्यसैले रामेशले शनिबार फेरि दर्शक उचाल्दै गाए ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ।’ गणतन्त्र दिवसको अवसर पारेर शनिबार सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले आयोजना गरेको जनगायक रामेश श्रेष्ठको एकल गायन युगीन आवाजमा उनले योसँगै झन्डै डेढ दर्जन गीत गाए। उनलाई अर्का जनगायक रायन पनि साथ दिएका थिए। उनले आफ्नो एकल सांगीतिक साँझमा आफ्ना लोकप्रिय गीत गाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नाचघरको प्रेक्षालयमा जम्मा भएका सबैलाई मन्त्रमुग्ध पारिदिए।

७४ वर्षको उमेरमा समेत तन्नेरी जोश देखाउँदै करिब ३ घन्टासम्म आफ्ना गीत संगीत पस्कँदा रामेशले प्रधानमन्त्री, मन्त्री, नेतादेखि सर्वसाधारणसम्मबाट तालीको गडगडाहट पाइरहे। कार्यक्रम हेर्न पुगेका दर्शक सिट नपाएपछि हलबाहिरै व्यवस्था गरिएको प्रत्यक्ष प्रसारणमा चित्त बुझाउन बाध्य भए। उनले हरेक गीतमा त्यसको सिर्जना, पृष्ठभूमि र महŒव तथा त्यसले ल्याएको परिवर्तनबारे प्रकाश पार्दै दर्शकलाई आकृष्ट बनाए।

रामेशलाई प्रत्यक्ष गायनमा उनका साथी जनगायक रायनले पनि साथ दिए। कार्यक्रममा रामेशले गाउँ–गाउँबाट उठ, पूर्वबाट उदायो, तिमी देउ तिम्रा हातहरू, मेरो देश खोज्दै जाँदा, हामी जित्नेछौं, ओ जनता महान, ऋतु गीत, एकले थुकी, आर्यशील जिन्दगी, ओलाङचुङ्गोला, हिमगिरी मण्डित, मेरो प्यारो ओखलढुंगा, रोक्ने को हो दुरदर्शी, कति राम्रो छ नेपालीको मन गीत गाएर दर्शकलाई मोहित बनाए।


सांस्कृतिक संस्थान र सार्थक जनसंगीत प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उनलाई ५ दशकभन्दा लामो समयदेखि नेपाली संगीतमा पु¥याएको योगदानको कदरस्वरुप संस्कृति मन्त्रालय (सांस्कृतिक संस्थान) का तर्फबाट अभिनन्दन गरियो। उनलाई प्रधानमन्त्री ओलीका साथ पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतले अभिनन्दन गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०३० सालताका रामेश र रायनले आफ्ना गीतसंगीत लोकतन्त्रका लागि जनजागरण ल्याएको स्मरण चर्चा गरे। ‘म जेल पर्दासमेत रामेश, रायनका गीतले एकदिन हामी जित्नेछौं भन्ने आशा जगाउँथ्यो। आज हामीले जित्यौं।’ –प्रधानमन्त्री ओलीको भनाई थियो। अब उहाँहरूको गीतमा भनिएझैं देशलाई समृद्ध बनाउनु छ।