बन्दनाको अर्को हिन्दी गीत आयो

14
Shares

लोकप्रिय गायिका देवीका बन्दनाद्वारा स्वरबद्ध दोस्रो हिन्दी गीत सार्वजनिक भएको छ। गायिका बन्दनाले गाएको बस तेरा नाम बोलको गीतले लोकप्रियता पाएपछि अर्को हिन्दी भाषाकै गीत अब दिल जरा जरा म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। उनको यो गीत शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।

भारतको भेनस म्युजिक कम्पनिबाट सार्वजनिक भएको गीतमा युग भुसालको शब्द र संगीत रहेको छ। गीतको रेकर्डिङदेखि सम्पूर्ण काम भारतको कैलाश स्टुडियोमा गरिए पनि यसको म्युजिक भिडियो भने नेपालमै खिचिएको छ। म्युजिक भिडियोमा नेपालकै प्राविधिकले काम गरेका छन्। म्युजिक भिडियोमा नेपालका चर्चित अभिनेता अनुपविक्रम शाहीका साथ भारतीय मोडल पारुल गुलातीले अभिनय गरेका छन्।

फोटोग्राफर राजभाइ सुवाल पनि भिडियोमा छन्। सुवाल भिडियोमा फोटोग्राफरकै रूपमा देखिएका छन्। म्युजिक भिडियोको निर्देशन विजेश पौडेलले गरेका छन्। सम्पादन पनि उनैले गरेका छन् भने छायांकन प्रमोद कार्कीले गरेका छन्।यो गीत र म्युजिक भिडियो गीतलाई भेनस वल्र्ड वाइड इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि गायिका कुन्ति मोक्तानले देविकाले गरेको काम गौरवको विषय भएको चर्चा गरिन्। ‘उनी जहाँ पुग्छिन्, नेपालको नाम पनि लैजाने भएकाले नेपालीहरू सबै क्षेत्रमा सक्षम छन् भन्ने सन्देश जानेछ’ –मोक्तानले भनिन्।
त्यसै गरी गायिका बन्दनाले गीत रेकर्डिङको पृष्ठभूमिदेखि हिन्दी गीत गाउँदासम्मको बारेमा प्रकाश पारिन्।


दर्जनौं फिल्मका लागि पाश्र्व स्वर दिएकी गायिका बन्दनाले सयौं आधुनिक सुगम गीत गाएकी छिन्। हाल भने उनी फुटकर गायन र एल्बमहरू निकालिरहेकी छिन्। १४ एकल एल्बम बजारमा सार्वजनिक गरिसकेकी बन्दनाले नेपालीसँगै मैथली, भोजपुरी, नेवारी, हिन्दी भाषाका गीतहरू गाउँदै आएकी छिन्। उनी पञ्जावी र मराठी भाषामा गीत गाउँदै छिन्। २०४५ सालमा पहिलो गीत हे मायालु तिमीलाई बोलको गीत गाएकी बन्दनाले एक हजारभन्दा धेरै गीतमा स्वर दिइसकेकी छिन्।