रोशन पराजुली, हेटौंडा ।
हेटौंडा–५, सानोपोखराकी उमा दाहाल २४ वर्षकी भइन् । उनी विवाहिता हुन् । उनको घरपरिवारमा सबै पढेलेखेका छन् । तर, पनि उनी महिनावारीको समय भोक÷तिर्खा लागेको बेला भान्सामा गएर आफैंले मन लागेको खाना÷पानी खान नसक्ने गुनासो गर्छिन् ।
दाहाल भन्छिन्–पढेलेखेकालाई त यस्ता कुरामा परिवर्तनमा ल्याउन गाह्रो पर्छ, झन् चेतना अभाव हुनेलाई के होला । सरकार वा महिलासम्बन्धि कार्यरत् निकायले यसलाई प्राथमिकताका रुपमा लिएर घरघरमा चेतनामूलक कार्यक्रम गर्नु राम्रो हुने दाहालले सुझाइन् ।
हेटौंडा–१२, पदमपोखरीकी २१ वर्षीया पार्वती कुइँकेल अविवाहित हुन् । उनी महिनावारी हुँदा बुबा र दाजुभाइलाई छुन पाउँदिनन् । अनि, भान्सामा सँगै खाने वा कुनै चाडपर्वमा सहभागी हुनसमेत पाउँदिननन् । ‘यस्तो भइरहँदा महिलाका लागि अनेक नारा लगाउने निकाय चाहीं किन चुप बसेका होलान्, किन यस्ता अन्धविश्वास हटाउन नसकेका होलान्, के साँच्चै यस्ता निकाय लजाएका हुन् त ?,’ उनले प्रश्न गरिन् ।
प्रदेश–३ स्वास्थ्य मन्त्रालयकी पब्लिक हेल्थनर्स मिलन घिमिरेले महिनावारी भएका किशोरी तथा महिलाका लागि आवश्यक स्वास्थ्य सुविधा माग गर्नु जरुरी रहेको प्रतिक्रिया दिनुभयो ।
अशिक्षित आर्थिक विपन्नमात्र नभएर छाउपडी हटाउने अभियान वा मानवअधिकारमा काम गर्ने कर्मचारीदेखि राजनीतिकर्र्मी, स्वास्थ्यकर्मी र शिक्षक आदि महिलामा स्वभाविक र प्राकृतिकरुपमा हुने महिनावारी ‘बार्छन्’ । तर, महिनावारीविरुद्ध खुलेर बोल्न लजाउँछन् ।
महिनावारीका बेला हुने महिला स्वास्थ्यको जटिलतालाई सरकारी र गैरसरकारी निकायले भुल्न नहुने भन्दै अंग्रेजी महिनाको मे २८ तारिखका दिन विश्वभर स्वस्थ्य महिनावारी अधिकारका रुपमा मनाइँदै आएको छ ।
यही बेला मकवानपुरमा भने दिवसका अवसरमा चेतनामूलक÷स्वास्थ्यबारे कुनै कार्यक्रम हुन सकेन । नेपालले सन् २०१४ देखि महिनावारी दिवस कुनै न कुनै रुपले मनाउन थाले पनि मकवानपुरमा हालसम्म दिवस मनाइएको जानकारी नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अन्य दिन महिलाका अधिकार खोजतलास गर्दै र नारा लगाउँदै हिँड्ने सरकारी निकायदेखि गैरसरकारी संघसंस्थाले समेत हेटौंडामा कुनै कार्यक्रम गर्न सकेनन् वा गर्नेतर्फ वास्ता गरेनन् ।
प्रदेश–३ को स्वास्थ्य मन्त्रालयका अनुसार महिनावारीका कारण वर्षेनी ३० प्रतिशत महिलाको स्वास्थ्य प्रभावित हुने गरेको छ । महिनावारीका कारण पढ्न जान समस्या त छ नै, छाउपडी प्रथाको पीडाले विकटका महिलालाई उन्मुक्ति दिन सकिएको छैन । महिनावारी बार्ने क्रममा विभिन्न ठाउँमा महिलाले भोग्नुपरेका समस्या सार्वजनिक हुने वा प्रत्यक्ष देखिँदै आएको छ । महिनावारी सुन्दा जति सामान्य लाग्छ, त्यस बेला महिलामा स्वास्थ्य अवस्था जटिल हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।
२०१४ मा सयुक्त राष्ट्रसंघले लैंगिक समानता हासिल गर्न महिनावारी बार्ने कारण एक मुख्य बाधक भनेर घोषणा गरेपछि विश्व विकासको इतिहासमा महिनावारीले थोरै भए पनि ठाउँ पाएको हो । प्राकृतिकरुपमा हुने महिनावारी, जुन संसारभरकै महिलाले अनुभव गर्छन् र जन्मेदेखि मर्ने बेलासम्म यसको प्राकृतिक प्रभाव भए पनि लामो समयपछि महिनावारीलाई एक सवालका रुपमा हेर्न थालियो ।











प्रतिक्रिया