कुरो १४ गते राति १२ बजे नागढुंगा चेक पोस्टको हो। म छक्कापन्जा–३ को सुटिङ सकेर फर्किंदा चेकजाँचमा रहेका शुरक्षाकर्मीले मलाई मोटरसाइकल रोक्न भने र मैले रोकँे।
प्रहरी : मापसे गरेको छ?
म : छैन।
प्रहरी : आँ गर्नुस्।
म : हा आँ आँ।
प्रहरी : गन्हाइरको छ त।
म : मैले खाएकै छैन कसरी गन्ध?
प्रहरी : ब्लु बुक, लाइसेन्स, नागरिकता दिनुस्।
म : दिएँ, नागरिकता किन नि?
प्रहरी : चाहिन्छ। (धन्न थियो, दिएँ)। अफिसमा आउनुस्। (भित्र एक ट्राफिक हुनुहुन्थ्यो।)
ट्राफिक : तपाईंलाई अब कारबाही हुन्छ।
म : किन सर?
ट्राफिक : मापसे गरेकामा।
म : मैले गरेकै छैन।
ट्राफिक : आज रातभर थुनामा बस्नुस्।
म : थुनामा किन? मैले के गल्ती गरेको छु?
ट्राफिक : गल्ती नगरी प्रहरीले समात्छ? (हास्न मन लागेको थियो। तर रात झन् झन् छिप्पिँदै गएकामा मनमा त्रास बढ्दै थियो।)
म : ठीक छ, मैले मापसे गरेको छ भन्ने लाग्छ भने नियमानुसार पुर्जा काट्नुस्।
ट्राफिक : होइन, आज तपाईंलाई थुनामै राख्छु।
म : मलाई थुनामा राख्ने मैले सडक कानुनको खिलाप कुनै अपराध गरेको छैन।
ट्राफिक : तपाईंको मान्छे बोलाउनुस्, ऊ नआएसम्म छोड्दिन।
म : अचम्म कुरा, यति राति किन?
ट्राफिक : तपाईंको मान्छे नआएसम्म छोड्दिन।
म : मेरो सबै कागजात, मोटरसाइकल यही छोड्छु। म ट्याक्सीमा जान्छु।
ट्राफिक : हुन्न।
म : त्यसो भए मलाई मेडिकल गर्न लैजानुस्।
(यत्रो बेरसम्म सोफामा खुट्टा तेर्साएर, शरीर पल्टाएर बसेका उनी एकोहोरो मलाइ खाउँलाझैं हेर्दै थिए) मलाई तपाईंहरू अनावश्यक दुःख दिँदै हुनुहुन्छ। अब म बग्गीखाना फोन गर्छु र भ्यान मगाउँछु। हामी दुवैको मेडिकल गर्न अनुरोध गर्छु।
(कार्यालयबाहिर निस्केँ। ट्राफिक महोदय कुन बेला हो बाहिर आउनुभयो र मेरा सबै कागजात मलाई समात्ने प्रहरीको हातमा दिएर चम्पट।
प्रहरी : (कागजात दिएर) जानुस्।
रातको १ बजे, प्रहरी मेरो साथी बन्न सकेन महानिरीक्षक ज्यू।
प्रतिक्रिया