मेलम्ची–२ को काम लगभग सम्पन्न



सुरेश तामाङ, काठमाडौं
मेलम्चीको पानी काठमाडौंको घरघरमा रहेको धारासम्म पु¥याउन पूर्वाधार तयार पार्ने काम मेलम्ची उप–आयोजना–२ ले गरिरहेको छ। यो उप–आयोजना आयोजना कार्यान्वयन निर्देशनालय मातहत रहेको छ।

यस आयोजनाले साढे २६ किलोमिटर सुरुङ भएर सुन्दरीजलको पानी प्रसोधन केन्द्रमा मेलम्चीको पानी आइसकेपछि काठमाडौंवासीको घरघरसम्म खानेपानी पु¥याउने काम गर्दछ।

यसका लागि यस आयोजनाले काठमाडौं उपत्यकाका १० स्थानमा ७ करोड ५० लाख लिटर क्षमताका १० वटा ट्यांकीमध्ये ९ ट्यांकी निर्माण गरेर सञ्चालन गर्ने तयारी अवस्थामा राखेको निर्देशनालयका प्रवक्ता लीला ढकालले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘हामीले उपत्यकाका १० स्थानमा ७ करोड ५० हजार लिटर क्षमताका १० वटा ट्यांकीमध्ये ९ ट्यांकी निर्माण सम्पन्न गरेर पानी सञ्चालनका लागि तयारी अवस्थामा राखेका छौं।’

उहाँका अनुसार भक्तपुरको कटुन्जेमा १ ट्यांकी निर्माणाधीन अवस्थामा रहेको छ भने बालाजु, बाँसबारी, महांकाल, आरुबारी, टिगेनी, खुमल्टारमा २ वटा ट्यांकी निर्माण सम्पन्न गरिसकेको छ।

निर्देशनालयअन्तर्गत उप–आयोजना–२ को काम खानेपानीको पाइप लाइन बिछ्याउने, भल्भ चेम्बर, फायर हाइड्रेन्ट र घरघरमा धारा जडान गर्ने रहेको छ।
उप–आयोजनाले यसबेला यी सबै काम अन्तिम चरणमा पुगेको दाबी गरेको छ। समग्रमा उप–आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको जनाएको छ।
अहिले निर्देशनालयले पानी वितरणका लागि थोक वितरण प्रणाली, पानी पोखरी निर्माण, वितरण सञ्जाल सुधार तथा क्षेत्रगत मापन एकाइको स्थापना गरी घरघरमा धारा वितरणको काम अन्तिम चरणमा पु¥याएको छ।

निर्देशनालयले थोक वितरण प्रणालीअन्तर्गत ६१ किमि पाइप लाइन विस्तार गर्नुपर्नेमध्ये हालसम्म ५९ किमि पाइपलाई विस्तार गरिसकेको छ। ६७० किमि भनिएकामा पछि १ सय १० किमि थप गरेको वितरण सञ्जाल विस्तारअन्तर्गत अहिले ७ सय २० किमि पाइप लाइन विस्तार गरिसकेको छ।

निर्देशनालयले थोक वितरण प्रणाली विस्तार गर्दा ठूलो आकारको पाइप प्रयोग गरिएको छ भने वितरण सञ्जालअन्तर्गत सानो आकारको पाइप प्रयोग गरिएको जनाएको छ।

खानेपानीका यी पाइप लाइन विस्तार गर्दा प्रायजसो ट्राफिक डाइभर्सन गर्नुपर्ने स्थिति थियो। अब हुने पाइप लाइन विस्तारको कामले ट्राफिक डाइभर्सन गर्न नपर्ने निर्देशनालयले जनाएको छ।

 

ठूलो साइजको खानेपानीको पाइप लाइन मुख्यगरी कलंकी, हेप्पाली हाइट, बाँसबारीलगायतका स्थानमा बिछ्याउनुपर्ने निर्देशनालयले जानकारी दिएको छ।
मेलम्चीको पानी ल्याउन गएको वर्षको माघ महिनापछि काठमाडौंका मुख्य र सहायक सडक गरी ४० ठाउँमा एकसाथ पाइप बिछ्याइरहेको छ।

रिङरोड, सहरका भित्रीखण्ड पुग्ने मुख्य सडक र अन्य सहायक सडकमा विभिन्न ११ खण्डमा विभाजन गरेर पाइप बिछ्याउने काम निर्देशनालयले गरिरहेको छ।
खानेपानीको पाइप बिछ्याउन सहरको भित्री बाटो, गल्ली, सडक र फुटपाथलगायत सडक पेटीहरूसमेत भत्काएपछि निर्देशनालयले जस्ताको तस्तै पार्न कालोपत्रेसमेत गरिरहेको भए पनि घाम लाग्दा देखिने धुलोलाई कम गर्न भने सकेको छैन।

अहिले निर्देशनालयले चेम्बर निर्माण गर्नेतर्फ १५ सय चेम्बर निर्माण गर्नुपर्नेमा १२ सय वटा चेम्बर उपत्यकाका विभिन्न स्थानमा बनाउने काम सम्पन्न गरिसकेको छ। त्यस्तै काठमाडौं उपत्यकाकामा आगलागी भएको अवस्थालाई मध्यनजर गर्दै अढाइ सय स्थानमा फायर हाइड्रेन्ट निर्माण गर्नुपर्नेमध्ये १ सय ८० स्थानमा निर्माण कार्य सम्पन्न गरिसकेको छ।

करिब ८४ हजार घरधुरीमध्ये ५३ हजार घरधुरीमा धारा जडान गरिसकेको छ। इन्टर कनेक्सन र टेस्टिङको काम भइरहेपनि पूरा टेस्टिङको काम हुन नसकेकोे निर्देशनालयले जनायो। मेलम्चीको पानी आइसकेपछि मात्रै ‘फुल टेस्टिङ’ को काम पूरा गर्ने निर्देशनालयको योजना छ।

आउने दशैंमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने लक्ष्यका साथ काम गरिरहेको यस उप–आयोजनाको काम मात्रै करिब २ महिनाभित्र सम्पन्न भइसक्ने निर्देशनालयका प्रवक्ता ढकालले भन्नुभयो।

‘दशैंभित्र काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउन सुरुङमार्फत आउनुपर्दछ। हाम्रो तिरको काम लगभग सकिइसकेको छ। करिब २ महिनाभित्र सबै काम सम्पन्न भइसक्छ।’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्