आफ्नो जीन्दगीको हिसाब नखोजी ३५ वर्ष गणित सिकाउने भारतीय गुरु

0
Shares

पोखरा, “कास्कीको दक्षिणभेगस्थित बरमाझथर, बरपौवा, डाँडागाउँ र गैह्रागाउँका साथै आसपासका विद्यार्थीले लागि भारतीय गुरु भोलासिंह ठाकुरको योगदान अहिलेसम्म भुल्न सकेका छैनन”, शान्ति उदय माध्यमिक विद्यालय बरपाण्डेथुमका पूर्व विद्यार्थी मोती भुजेल बताउनुहुन्छ ।

भारतको ठकुरापार पोष्ट, बढया चोक गोरखपुरबाट आएर निरन्तर साढे तीन दशक आफ्नो जीवनको महत्वपूर्ण समय यहाँका विद्यार्थीलाई गणित र विज्ञान पढाएर बिताउनुभएका सिंहकै योगदानका जगमा आज धेरै विद्यार्थी प्रशासनिक, राजनीतिक, सञ्चारलगायतका क्षेत्रमा महत्वपूर्ण पदमा पुगिसकेका छन् भन्नुहुन्छ उहाँ ।

जवान अवस्थाका ठाकुरलाई विद्यालयका शिक्षक कमलप्रसाद आचार्य र शशिधर भण्डारीले २०४० सालमा गोरखपुर नै पुगेर ल्याउनुभएको हो ।

निरन्तर साढे तीन दशक अध्यापन गराए पनि अस्थायी शिक्षककै रुपमा उमेर हदका कारण यही वैशाख २७ गतेदेखि सेवा निवृत्त बन्नुभएका ठाकुर यतिखेर प्रत्येक पूर्व विद्यार्थीको मनमस्तिष्कमा छाइनुभएको छ ।

सेवा निवृत्त हुनुभएका सिंहलाई सामाजिक सञ्जालमार्फत आफ्नो जिन्दगीको हिसाब नै नगरी गणित सिकाउने एउटा आदर्श गुरुका रुपमा यतिखेर उहाँका पूर्व विद्यार्थीले चित्रण गरेका छन् ।

शान्ति उदय माविमा ल्याइनुपूर्व नै ठाकुरले गोरखपुरमा आइएस्सी उत्तीर्ण गरेपछि ब्याचलर ट्रेनिङ सेन्टरबाट दुई वर्षे बिटिसी तालीम लिइसक्नुभएको थियो ।

विद्यालयमा गणित तथा विज्ञान विषयको शिक्षक आवश्यक भएकाले ल्याइनुभएका ठाकुरले २०४० साल फागुन २८ गतेदेखि निरन्तर अध्यापन गर्दै आउनुभएको थियो ।

पढाउनुअघि आफू यता नआएको बताउनुहुने ठाकुरले विद्यालयमा पढाउन थालेपछि भने जीवनको झण्डै ३५ वर्षसम्मको समय यही बितेको बताउनुहुन्छ ।

भारतदेखि आएर ३४ वर्ष दुई महिनासम्म निरन्तर यस क्षेत्रका विद्यार्थीको शैक्षिक प्रगतिमा ठाकुरले पु¥याएको योगदान अतुलनीय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद लम्साल बताउनुहुन्छ ।

“भोला सरले आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शैक्षिक विकासमा खर्चनुभएको छ”, उहाँ भन्नुहुन्छ, “यत्रो लामो समय विदेशबाट आएर उहाँले गरेको योगदान यो गाउँ तथा समाजका लागि ठूलो सेवा पनि हो, यसलाई हामी कसैले बिर्सन सक्दैनौँ ।”

विद्यार्थीको सफलतालाई नै आफ्नो सफलता ठान्ने ठाकुर यस विद्यालयमा आएसँगै यस क्षेत्रका विद्यार्थीको गणित तथा विज्ञान विषयको सिकाइको स्तरमा राम्रो परिवर्तन आएको अभिभावकको अनुभव छ ।

विदेशबाट आएर पनि आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शिक्षाका लागि खर्चिनुभएका ठाकुरको योगदान अमूल्य रहेको अभिभावक शान्ता पौडेल बताउनुहुन्छ ।

“विदेशबाट आएर यस किसिमको योगदान गर्ने व्यक्ति विरलै हुन्छन्”, शान्ति उदय मावि विद्यालय व्यवस्थापन समितिकी पूर्व महिला सदस्यसमेत रहनुभएकी पौडेल भन्नुहुन्छ, “यहाँको समाजमा विद्यार्थीको शैक्षिक विकासका लागि उहाँले लगाउनुभएको गुन अतुलनीय छ ।”

ठाकुरलाई विद्यालयमा शुरुमा माध्यमिक तहकै नियुक्ति दिइए पनि २०४४ सालदेखि भने उहाँलाई निम्न माध्यमिक तहको दरबन्दीमा राखिएको थियो ।

त्यसयता निमावि तहमा नै अध्यापन गरी अन्ततः अस्थायी शिक्षकका रुपमा सेवा निवृत्त हुनुभएका ठाकुरले यतिखेर नियमानुसार पाउनु पर्ने उपदान रकम पनि सहज रुपमा पाउन सक्नुभएको छैन ।

विसं २०५९ साल साउन १को सरकारी निर्णय बमोजिम शिक्षा मन्त्रालयले २०४६। ०४७ साल सम्मका शिक्षकलाई एक शैक्षिक सत्र पुरा गरी अस्थायी रुपमा सेवा गरी अवकास भएका र हुने गैर नेपाली शिक्षकका हकमा पाँचदेखी १० वर्षसम्म सेवा गरेकालाई सेवा अवधिभर प्रत्येक वर्षको तलव अनुसारको आधा महिनाको, दशदेखि १५ वर्षसम्म सेवा गरेकालाई एक महिनाको र पन्ध वर्ष माथिका लागि डेढ महिनाबराबरको रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

पूर्व विद्यार्थी एवं लिटिल फ्लावर एजुकेशनल एकेडेमी रिठ्ठेपानीका प्रिन्सिपल विष्णुहरि पौडेलले उहाँको उपदानका लागि कागजात मिलाउन ठाकुर सर यतिखेर कहिले विद्यालय, कहिले जिल्ला शिक्षा कार्यालय त कहिले शिक्षक किताबखाना धाइरहनुपरेको कुरा सुन्नुपर्दा आफूजस्ता उहाँका पूर्व विद्यार्थीलाई निकै चिन्तित बनाएको बताउनुहुन्छ ।

विद्यालयमा पढाउन शुरु गरेदेखि सेवा निवृत्त हुँदासम्म नै ठाकुर स्थानीय होमनाथ आचार्यको घरमा डेरा गरी बस्दै आउनुभएको छ ।

व्यवहारमा अत्यन्त सरल र स्वाभिमानी भोला सरसँग विद्यालय समयका अतिरिक्त पढ्नका लागि बिहानैदेखि विद्यार्थी आउने गरेका घरभेटी ८२ वर्षीय आचार्य सुनाउनुहुन्छ ।

श्रीमती चन्द्रवती सिंह र पाँच छोरीका अभिभावक ठाकुरले यस क्षेत्रको शैक्षिक उन्नयनमा पु¥याएको योगदानको सम्मान गर्दै विद्यालयका पूर्व विद्यार्थीहरू तोयनाथ आचार्य, पितृराज आचार्य र लेखनाथ आचार्यले विद्यालयको वार्षिकोत्सवको अवसरमा गत वर्ष रु ५० हजार नगदसहित यसअघि नै सम्मान गरेका थिए ।

अस्थायी सेवाका कारण पेन्सन सुविधाबाट वञ्चित ठाकुरको सम्मानार्थ यतिखेर पूर्व विद्यार्थीहरू गुरु दक्षिणा संकलन अभियानमा जुटेका छन् ।

पूर्व विद्यार्थीहरू स्वतस्फूर्त यतिखेर गुरुदक्षिणा संकलन अभियानमा लागेको अभियानको संयोजन गर्दै आउनुभका पूर्व विद्यार्थी मोती भुजेल बताउनुहुन्छ ।

“गुरुको सम्मानमा हामीले स्वतःस्फूर्त यो अभियान शुरु गरेका हौँ”, उहाँ भन्नुहुन्छ, “सामाजिक सञ्जालका माध्यमबाट सञ्चालित गुरुदक्षिणा संकलन अभियानमा आजसम्म देश विदेशमा रही विभिन्न सेवा, पेशा एवं व्यवसाय गर्दै आएका ठाकुरका चेलाहरूबाट रु एक लाख ९० हजार संकलन भइसकेको छ ।”

गुरुभेटी संकलन अभियानमा उत्साहपूर्ण साथ र सहयोग प्राप्त भइरहेको बताउँदै उहाँ यस अभियानमा साथ दिन चाहने पूर्व विद्यार्थीले नेपाल बैंक लिमिटेडको खाता नं ००९०१२००५६८३९७०००००१ (भोला सिंह)मा सहयोग गर्न सक्ने जानकारी दिनुहुन्छ ।
रासस