खोटाङमा लोकगीत मोह


रामधन राई, खोटाङ

खोटाङ सदरमुकाम दिक्तेल बजारस्थित समीक्षालय हल खचाखच भरिएको थियो। बाहिर घरी घाम घरी पानी अर्थात कि चर्कियोस् घाम कि दर्कियोस् पानीको अवस्था भइरहँदा हलभित्र भने गडगडाहट ताली पड्किरहेको थियो।

सय मिटर जति टाढा स्थानीय हेलिप्याडमा आयोजित बृहत सांगीतिक कन्सर्टमा जम्मा हुने मानिस पनि सोही समीक्षालय हलतिर घुस्रिन पुगेका थिए। यसर्थ एकैसाथ नजिक–नजिकै आयोजित कन्सर्टस्थल सुनसान बन्यो भने जिल्लाव्यापी लोकगीत प्रतियोगिताको हल ठेलमठेल।

युवायुवतीको ठूलो उपस्थिति रहेको हलभित्र ६० माथिका देखि ५ बर्षमुनिका बालबालिकासमेत लोकगीतसँग रमाइरहेको पाइन्थ्यो। साँघुरो स्थानमा छमछमी नाच्नेको होडबाजीले पनि उक्त कार्यक्रमको रौनकता प्रस्ट्याउँथ्यो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जिल्लामै पहिलोपटक आयोजना गरेको जिल्ला स्तरीय लोकगीत प्रतियोगितामा गाउँगाउँबाट अनपेक्षित रूपमा उपस्थिति थियो। विभिन्न स्थानबाट १३ जना प्रतिस्पर्धीले लोकगीत प्रस्तुत गरेको कार्यक्रममा गायक तथा संगीतकार शिवसंगम राई, चर्चित लोक गायिका राधिका हमाल, गायक कृष्ण रेउलेलगायतको बेजोड प्रस्तुतिसँगै लोकगीत पारखी झुमेका थिए। कार्यक्रममा गायक दिपेन्द्र सिटौला, धर्मराज पोखरेल, मीत्र अधिकारी, शिखर गजरकोटे, निशा कार्की, सिर्जना बर्देवा र अर्जुन नेपालीले समेत प्रस्तुति दिएका थिए।

प्रविधिको विकाससँगै आगन्तुक गीतसंगीतले बजार समाइरहेको सन्दर्भमा खोटाङका स्थानीयमा भने लोकगीत मोह बढेको पाइएको छ। जिल्लामा शहरीकरण बढेसँगै आधुनिकतातर्फ ढल्किेने युवाको संख्या उल्लेख्य पाइए पनि लोकगीत मोह झनै बढेर आएको पाइएको हो।

पाश्चात्य शैली पछ्याउँदै आएको संगीतबजारमा लोक भाकाको महत्व बढेर आएको गीतसंगीत पारखीले बताए।

जिल्लाव्यापी खुला लोक गायन प्रतियोगिताको उपाधि पर्शुराम गजमेरले जितेका छन्। प्रतियोगितामा बेदना राई दोस्रो, युवराज राई तस्रो र हर्कराज लोहार चौथो भएको निर्णायक मण्डलको गायक तथा संगीतकार शिवसंगम राईले जनाए। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ११ हजार १ सय ११, ५ हजार ५ सय ५५, २ हजार ५ सय २५ र चौथो हुनेले २ हजार १ सय २१ नगदका साथमा प्रमाणपत्र प्राप्त गरे। प्रतियोगिताका विजेता र उपविजेताले प्रदेशस्तरीय लोक गायन प्रतियोगितामा भाग लिन पाउने समेत अवसर प्रदान गरिएको छ। यसैबीच, गायक हर्क गदालको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन गरिएको छ। उपाध्यक्षमा चञ्चल पोखरेल, सचिव पर्शुराम गजमेर, सहसचिव जीवन राई र कोषाध्यक्षमा अमिता राई चयन भएका छन्।