राजधानीका तीन स्थानमा मोनोरेल

188
Shares

ईश्वरराज ढकाल, काठमाडौं
राजधानीका तीन स्थानमा मोनोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरू भएको छ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार तीन स्थानबाट रेल सञ्चालन गर्ने गरी सम्भाव्यता अध्ययन शुरू भएको हो।

काठमाडौंका तीलगंगा–नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरू गरेको हो। कामपा सार्वजनिक निजी साझेदारी इकाइ (पीपीपीयू) प्रमुख महेश काफ्लेले तीन ठूला कम्पनीले अध्ययन शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल काठमाडौं महानगरपालिकामा तीनवटा मोनोरेल सञ्चालन गर्ने प्रस्ताव अघि बढेको छ।

रिङरोडका लागि चाइना रेल्वे कम्पनी (सीआरसीसी भन्ने चाइनाको कम्पनी), महानगरपालिकाभित्र बग्ने नदी किनारालाई आधार बनाएर चीनकै चाइना रेल्वे सियुयान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड र बिवाइडीका नेपाली प्रतिनिधि साइमेक्सले कलंकीदेखि तीलगंगासम्म मोनोरेल बनाउने प्रस्ताव अघि बढाएका छन्।

तीनवटै कम्पनीले मोनोरेल सञ्चालन गर्ने सम्भाव्यता अध्ययन गरी कम्पनीले नै रेल सञ्चालन गर्ने गरी प्रस्ताव तयार गरिरहेको इकाइ प्रमुख काफ्लेले जानकारी दिनुभयो। कामपाभित्रको धोवीखोला, विष्णुमती र बागमती नदी किनारामा मोनोरेल सञ्चालन गर्ने तयारी गरेको कम्पनीले सम्पूर्ण प्रस्ताव तयार गरी कामपासमक्ष पेस गर्ने र कामपासँग सम्झौता गरी कम्पनीकै नामबाट रेल सञ्चालन गर्ने जनाएको छ।

त्यस्तै रिङरोडमा मोनोरेल सञ्चालन गर्न इच्छुक कम्पनीले अध्ययन शुरू गरिसकेको छ। कलंकी–तीलगंगाको कम्पनीले पनि अध्ययन शुरू गरी प्रतिवेदन बुझाउने तयारी गरेको इकाइको भनाइ छ। उपत्यकामा सञ्चालन गर्ने तयारी गरेका तीनवटै कम्पनीले मोनोरेल सञ्चालन गर्ने लागत, सो क्षेत्रको जग्गाको अवस्थालगायत सम्पूर्ण अध्ययन गर्नेछ। इकाइ प्रमुख काफ्लेले तीनवटै कम्पनीको अध्ययन प्रतिवेदन प्राप्त भइसकेपछि कामपाले मोनोरेल निर्माण प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो।

तीनैवटा कम्पनीले चाँडै नै अध्ययन सम्पन्न गर्ने जानकारी गराएको बताउँदै इकाइ प्रमुख काफ्लेले भन्नुभयो– ‘अध्ययन शुरू गरिसकेका छन्।’ कामपाका मेयर विद्यासुन्दर शाक्यले राजधानीमा मोनोरेल सञ्चालन गर्ने विषयमा विभिन्न कम्पनीले अध्ययन गरिरहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो– ‘हामी चाँडै अध्ययन सम्पन्न गरेर काम अघि बढाउनेछौं।’ मेयरले सार्वजनिक गरेको योजनामा काठमाडौंमा मोनोरेल सञ्चालन गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ। सरकारले हालै घोषणा गरेको नीति तथा कार्यक्रममा काठमाडौंमा रेल सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ।

कामपाले स्थानीय निकायका पदाधिकारी आउनासाथ राजधानीमा मोनोरेल सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै विभिन्न निकायसँग छलफल अघि बढाएको थियो। मेयर शाक्यले राजधानीमा रेल सञ्चालन गर्ने विषयमा विशेष गरी चीन सरकारले बढी चासो देखाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘चीनको प्राविधिक टोलीले राजधानीका विभिन्न स्थानमा अध्ययन गरिरहेको छ।’

मोनोरेलको जिम्मा चिनियाँलाई

काठमाडौं, (नेस)
काठमाडौं र ललितपुर महानगर घेरेको चक्रपथमा मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५औं ब्युरो ग्रुप कम्पनीलाई जिम्मा दिइएको छ। शुक्रबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक लि हो·कीले अध्ययनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएपछि काम रेल वेको जिम्मामा पुगेको हो।

सो अवसरमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालगायत अधिकारी सहभागी हुनुहुन्थ्यो। महानगरले मोनोरेल सञ्चालन सम्बन्धी प्रकाशन गरेको आशयपत्रमा रेल वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो। यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुखस्तरीय निर्णयबाट शुक्रबार रेलवे कम्पनीसँग सम्झौता गरिएको हो। यस सम्झौताअनुसार रेल वे कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपनाजस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरू सिफारिस गर्नेछ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोेरेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले आफू महानगरबासीलाई सरल जीवन यापन गर्ने सुविधाको सुन्दर उपहार दिन लागि रहेको बताउनुभयो।

अहिलेको चक्रपथमध्ये १० किलोमिटर खण्ड आफ्नो भूगोलमा रहेको जनाउँदै मेयर महर्जनले यस क्षेत्रमा काम गर्न आवश्यक वातावरण तयार पार्न आफू तत्पर रहेको बताउनुभयो।

सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौंको शहरी यातायात व्यवस्थापनमा थप जिम्मेवार भएको बताउँदै कम्पनीका महाप्रबन्धक, हो·कीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो। सम्झौताअनुसार, पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेस हुनेछ।