चक्रपथमा मेनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीसँग भयो यस्तो सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार काठमाडौँ भएको एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन कम्पनी (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि दुईपक्षीय समझदारी (एमओयू) भएको छ ।

उक्त चीनीया कम्पनी सीआरसीसीलाई अबको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने गरी जिम्मा दिइएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र कर्पोरेशनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालगायत अधिकारी सहभागी थिए ।

महानगरले मोनोरेल सञ्चालन सम्बन्धी प्रकाशन गरेको आशयपत्रमा रेल–वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुखस्तरीय निर्णयबाट शुक्रबार रेल वे कम्पनीसँग सम्झौता गरिएको बताइएको छ ।

सम्झौताअनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु सिफारिस गर्नेछ ।

कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोेरेल सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।