रोहिंग्या मुसलमानले नरसंहारमा ९९ हिन्दुको हत्या गरे ः एम्नेस्टी

0
Shares

न्युयोर्क, (एजेन्सी)
मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले म्यान्मारको रखाइन प्रान्तमा भएको हिंसा तथा द्वन्द्वको ताजा जाँचपछि दिएको प्रतिवेदनमा रोहिंग्या मुसलमानले दर्जनौं हिन्दुको नरसंहार गरेको दाबी गरेको छ। रोहिंग्या मुसलमानका सशस्त्र कट्टरपन्थी संगठनले एक वा दुईवटा नरसंहारमा ९९ हिन्दु नागरिकको हत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सन् २०१७ अगस्टमा हिन्दु गाउँहरूमा अराकान रोहिंग्या सेल्भेसन आर्मी (एआरएसए) द्वारा गरिएका हमलाहरूमा महिला तथा पुरुषसहित कयौं बच्चा मारिएको प्रतिवेदनमा दाबी गरिएको छ। म्यान्मार र बंगलादेशमा लिएका दर्जनौं अन्तर्वाता, कयौं तस्वीर, साझी र फोरेन्सिक परीक्षण प्रतिवेदनको विश्लेषणका आधारमा एम्नेस्टी इन्टरनेसनलले उक्त प्रतिवेदन तयार पारेको हो।

अराकान रोहिंग्या सेल्भेसन आर्मी अर्थात् अर्साले हिन्दुहरूमाथि क्रुर आक्रमण गर्दै उनीहरूमा भय बसाल्ने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ। अर्सा म्यानमारको उत्तरी प्रान्त रखाइनमा सक्रिय एक सशस्त्र संगठन हो। उक्त संगठन रोहिंग्या मुस्लिम अल्पसंख्यकको रक्षाका लागि सशस्त्र संघर्ष गरिरहेको बताइन्छ। यसका धेरै जसो सदस्य बंगलादेशबाट आएका अवैध आप्रवासी भएको जनाइएको छ। यस संगठनको नेता अताउल्लाह अबु अमार जुनुनी भएको संगठनले जनाएको छ।

अर्सालाई पहिला अर्कै नामबाट चिनिन्थ्यो, जसमा एउटा नाम ‘हराकाह अल–यकिन’ थियो। अराकान रोहिंग्या सेल्भेसन आर्मीका प्रवक्ताका अनुसार उक्त विद्रोही सेनाले सन् २००३ देखि प्रशिक्षण थालेको हो। तर पहिलो हमला अक्टोबर २०१६ मा गरेका थिए। जसमा ९ प्रहरी मारिएका थिए। म्यान्मार सरकारले उक्त संगठनले २० भन्दा धेरै प्रहरीको हत्या गरेको आरोप लगाएको छ।

संगठनका अनुसार उसको उद्देश्य म्यान्मारमा रहेका रोहिंग्या समुदायका नागरिकको रक्षा गर्नु हो। ऊ रोहिंग्या नागरिकलाई सरकारी दमनबाट बचाउन चाहन्छ। उसले, आफूले कहिले पनि आम नागरिकमाथि हमला नगरेको दाबी गर्दै आइरहेका छन्। तर उसको दाबीमाथि प्रश्न भने उठ्ने गरको छ।

अर्साले एमनेस्टीको ताजा प्रतिवेदनमा संगठनमाथि लागेको आरोपलाई अस्वीकार गर्दै त्यस्तो कुनै आक्रमण भएको तथ्यलाई अस्वीकार गरेको छ। सन् २०१७ मा एक अज्ञात स्थानमा समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा अताउल्लाहले उनको लडाइँ म्यान्मारका बौद्ध बहुमतको दमनविरुद्ध भएको बताएका थिए। म्यान्मारकी नेतृ आङ सान सुकीले उनीहरूलाई बचाउने कुनै कदम नउठाएसम्म लडाइँ जारी रहने उनले बताएका थिए। यस लडाइँमा लाखौंको ज्यान गए पनि नरोकिने उनले चेतावनी दिएका थिए।

संगठनका सदस्यहरू सबैले सन् २०१२ मा भएको दंगापछि सरकारको हिंस्रक प्रतिक्रियालाई लिएर रुष्ट रहेको बताएका थिए। इन्टरनेसनल क्राइसिस ग्रुप (आईसीजी)को प्रतिवेदनले अर्सा पूर्णरूपमा अनुभवहीन नभएको उल्लेख गरको छ। प्रतिवेदनमा यसका विद्रोही सेनाले अन्य संघर्षमा सक्रिय रहेकाहरूको मद्दत लिइरहेको र यसमा अफगानिस्तानबाट आएका लडाकूहरू पनि रहेको बताइएको छ। रोहिंग्या विद्रोहीरुले मल तथा स्टिल पाइपबाट आईईडी तयार गरेको म्यान्मार सरकारले जनाएको छ। अराकान रोहिंग्या रक्षा सेना एक कट्टरपन्थी संगठन भएको र त्यसका नेताले विदेशमा प्रशिक्षण लिने गरेको म्यान्मार सरकारको आरोपछ।

सन् २०१७ मा प्रहरी चौकीहरूमाथि अर्साका लडाकुहरूले आक्रमण गरेपछि रखाइनमा रोहिंग्या मुसलमान संकट गहिरिएको हो। त्यसपछि मात्र म्यान्मार सुरक्षा बलको कारबाही शुरू भएको र लाखौं रोहिंग्या मुसलमान बंगलादेश पलायन हुन बाध्य भएको हो।

संयुक्त राष्ट्रको एक प्रतिवेदनमा म्यान्मारको सुरक्षा बलले रोहिंग्या मुसलमानविरुद्ध व्यापक नरसंहार र सामूहिक बलात्कार गरेको उल्लेख गएिको थियो। उक्त प्रतिवेदनमा म्यान्मार सुरक्षा बलको कारबाहीलाई मानवताविरुद्धको अपराध भएको आरोप लगाइएाको छ।