सम्पूर्ण यात्रु सकुशल

0
Shares

एजेन्सी
अमेरिकाको टेक्सासबाट होन्डुरसका लागि उडेको एउटा चार्टर्ड जेट विमानको मंगलबार क्र्यास ल्यान्डिङ गरिएको तथा त्यसमा सवार सम्पूर्ण व्यक्ति जीवित रहेको होन्डुरसको सुरक्षा निकायले जनाएको छ। मंगलबार बिहान होन्डुरसको राजधानी टेगुसिगाल्पामा यसरी विमान अवतरण गरिँदा कम्तीमा छ अमेरिकी घाइते भएका छन्।

डी गल्फस्ट्रिम जी–२०० विमान टेक्सासको अस्टिनबाट निजी उडानमा होन्डुरसतर्फ उडेको थियो। टोन्कोन्टिन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा सो विमान धावनमार्गमा चिप्लिएर एउटा खाल्डोमा खसेको थियो। तर सो विमानमा कुल कतिजना सवार रहेको भन्ने यकिन तथ्यांक प्राप्त भइसकेको छैन।

सो संख्या छ वा नौ हुनसक्ने बताइएको छ। एकजना प्रत्यक्षदर्शीले आफूले ५ जना पुरुष र एकजना महिलालाई उद्धार गरेको र तिनीहरूलाई खासै कुनै चोटपटक नलागेको बताएका छन्।
उड्डयन विशेषज्ञ एन्ड्रु चार्लटनले बीबीसीलाई भनेका छन्– ‘यस्तो विमानको पछाडिको भागमा कार्गो, किचेनर ट्वाइलेट हुने भएकाले त्यतातिर गह्रुँगो हुने गर्दछ। त्यसैले प्रतिघन्टा २ सय माइलको गतिमा अवतरण हुँदा विमानमा ठूलो दबाब पर्ने गर्दछ। सबैले सिटवेलट प्रयोग गरेकाले पनि विमानको अग्र भागमा बसेका यात्रु सकुशल रहेका हुन्। भविष्यामा यस्तो घटना दोहरिन नदिन यस दुर्घटनाको विस्तृत ढंगले अनुसन्धान गरिनु जरुरी छ।’

सन् २००८ मा पूर्वएयरलाइन टीएसीएको एउटा विमान सोही स्थानमा दुर्घटनाग्रस्त हुँदा ५ जनाको ज्यान गएको थियो। विमानस्थल वरपर पहाड रहेको र धावनमार्ग निकै सानो भएकाले टोन्कोन्टिन विमानस्थल विश्वकै सबैभन्दा खतरनाकमध्ये एक मानिन्छ।