पुष्कर बुढाथोकी, भक्तपुर
अरनिको राजमार्गअन्तर्गत साँगा सूर्यविनायक सडक खण्डको नलिनचोकमा भएको सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
बनेपाबाट भक्तपुरतर्फ आइरहेको बा५६प १२२७ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा३ख ६६७४ नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिँदा स्कुटीमा सवार तीनजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। दुर्घटनापछि उपचारका लागि भक्तपुर अस्पताल लगिएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटी चालक भक्तपुर लोकन्थलीका हरि कट्वाल, दोलखा घर भई अहिले लोकन्थली बस्ने सविता घिमिरे र बालक अविन्द्र घिमिरेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार बालक घिमिरे सविताका छोरा हुन्। ट्रिपरका चालक फरार रहेका छन् भने गाडी र स्कुटर जगाती प्रहरीको नियन्त्रणमा राखिएको छ । फरार चालकको खोजी भइरहेको जगाती प्रहरीले बताएको छ।
लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षकी अनुजा घिमिरेलाई बिहान खाना खुवाएर पठाएकी आमा र होस्टेलमा बसेर पढ्दै गरेको भाइको मृत्युले आहत भएकी छिन्।
साँगाबाट करिब दिउँसो १२ः३० बजे तीव्र गतिमा आएको ट्रिपरले अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका ९ पलाँसेमा स्कुटरलाई ठक्कर दिँदा स्कुलरमा सवार तीन जनाले घटनास्थलमै ज्यान गुमाउनुपर्यो।
घटनामा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक कटुवाल, दोलखा मेलुङ गाउँपालिका ६ घरभई विगत १६ वर्षदेखि लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता र उनको छोरा १३ वर्षीय अरबिनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो।
साँगामा रहेको नेपाल प्रहरी आवासीय माध्यामिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरा बिरामी भएको खबर आएपछि छिमेकी हरिबहादुरलाई लिएर स्कुल पुगेर छोरालाई उपचारका लागि लैजाँदै गर्दा ट्रिपरले ठक्कर दिँदा छोराको उपचार नै गर्न नपाई आमाछोराको एकैपटक ज्यान गयो।
लोकन्थलीमै घर बनाउने सपना बोकेर दुई महिनाअघि मलेसिया गएका श्रीमान् केशव घिमिरेले एकैसाथ श्रीमती र छोरा मात्रै गुमाउनुभएन, बुधबारै साँझ ५ बजे अमेरिका जान लागेका सविताको भाइ कुमार काफ्लेको यात्रासमेत यही शोकले रोकियोे।
हरिबहादुरको अवस्था पनि उस्तै छ। जेठी छोरी, एक छोरा र श्रीमती अस्ट्रेलिया र कान्छी छोरी अमेरिकामा बस्छन्। नयाँ घर बनाउन अस्ट्रेलियाबाट फर्केका हरिबहादुको यही घटनामा मृत्यु भएपछि उनका आमाबुबाले अस्पतालमा आफ्नो आँसुलाई रोक्नै सकेनन्।
‘खाना खाएर म छिट्टै फर्कन्छु है आमा भनेर हिँडेको छोराको यो हालत भयो नि’ भन्दै आमा जानकी कटुवाल रुदाँ अस्पतालमा पुगेका कसैको आँसु थामिएन।
सविताको दाजु नवराज काफ्लेले टिपर चालकलाई पक्राउ नगरेसम्म शव नबुझ्ने र कडा कारबाही गर्न माग गर्नुभएको छ। कुनै पनि बाहनामा चालकलाई उन्मुक्ति दिने प्रयास गरिए चुप लागेर नबस्ने उहाँको भनाइ छ।











प्रतिक्रिया