नेपाल समाचारपत्र
मोरङ
सुन तस्करी र उर्लावारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिलमार्फत जिल्ला अदालत मोरङमा निवेदन दिएका छन्।
प्रहरी हिरासतमा आफू असुरक्षित रहेकाले मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिरासतमा बस्ने व्यवस्था मिलाउन माग गर्दै गोरेका तर्फका वकिल यमबहादुर मगरले अदालतमा निवेदन दर्ता गराएका हुन्।
अधिवक्ता थापामगरले गोरेको तर्फबाट अदालतमा निवेदन दिँदै हिरासतमा ज्यानमाथि नै खतरा भएकाले मानवअधिकारवादीको रोहबरमा हिरासतमा रहने व्यवस्था मिलाइदिन माग गरेका हुन्। सुन तस्करी प्रकरणको छानविनका लागि पक्राउ परी प्रहरी हिरासतमै एकजनाको मृत्यु भइसकेकाले आफ्नो ज्यान पनि खतरामा रहेको गोरेको भनाइ उद्धृत गर्दै थापामगरले जानकारी दिनुभयो।
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल संयोजकत्वको टोलीले पक्राउ गरेका प्रेमलाल चौधरीको महानगरीय प्रहरी परिसर सिंहदरबारको हिरासतमा शंकास्पद मृत्यु भएको थियो।
गत चैत २९ गते (बिहीबार) काठमाडौंबाट पक्राउ परेका नेपाल एयरलाइन्समा कार्यरत चौधरी चैत ३० गते प्रहरी हिरासतमा मृत भेटिएका थिए। उनको मृत्यु अहिले पनि रहस्यमय छ।
बयान सिन्धुलीसम्म पुग्यो
मंगलबार बिहान काठमाडौंबाट पक्राउ परेका गोरेको बुधबारबाट जिल्ला अदालत मोरङमा बयान शुरू भएको छ। बुधबार बिहान १० बजे अदालतमा उपस्थित गराइएका गोरेको बयान बिहान पौने ११ बजेदेखि शुरू भएको थियो।
लगातार बयान लिइए पनि अदालती समय सकिएपछि उनको बयान सकिएको छैन। सुन तस्करी र सनमको हत्यासँग जोडिएका सबै घटनाक्रमको सिलसिलेबर बयान भइरहेकाले बयानका लागि अझै केही दिन लाग्ने जिल्ला अदालत मोरङ स्रोतले जनाएको छ।
बुधबारसम्म गोरेले बयानमा ३३ किलो सुन तस्करी प्रकरणमा सिन्धुलीसम्मका घटनाक्रमको विवरण अदालतसमक्ष बताएका छन्।
अदालत स्रोतका अनुसार गोरेले सुन तस्करी प्रकरणमा अन्यको संलग्नता रहेको भन्दै केही उच्च व्यक्तिको नामसमेत बयानमा उल्लेख गरेका छन्। तर अदालत स्रोतले गोरेले लिएका ती व्यक्तिको नाम बताउन चाहेन।
मोरङ जिल्ला अदालतको बन्द इजलासमा गोरेको बयान लिइएको हो। बुधबारको बयानमा गोरेलाई ५३ पृष्ठको अभियोगपत्र सुनाइएको र अभियोग पत्रमा उल्लेख गरिएका ६३ जना व्यक्तिसँगको सम्बन्ध र चिनेनचिनेको विषयमा सोधिएको स्रोतले जनाएको छ। बयानको क्रममा सनमसहितका भरियालाई गोरे समूहले यातना दिएको भिडियो देखाउन भने गोरेका वकिलले विरोध गरेको जनाइएको छ।
यसैबीच आफूलाई सुरक्षा थ्रेट रहेको कारण देखाउँदै मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा रहन पाऊँ भन्दै गोरेले दिएको निवेदनमा अदालतले सुरक्षा व्यवस्था मिलाउन आदेश दिएको छ।
यसैबीच सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेकालाई क्षेत्रीय कारागार झुम्का लगिने भएको छ। जिल्ला कारागार मोरङमा राख्ने ठाउँ नभएपछि अदालतले उनीहरूलाई क्षेत्रीय कारागार झुम्का लैजाने तयारी गरेको हो। अदालतले सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि पक्राउ परेकालाई कारागार लगिएको थियो तर कारागारमा राख्ने ठाउँ नभएपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको थियो।
लगातार बयान लिइए पनि अदालती समय सकिएपछि उनको बयान सकिएको छैन।











प्रतिक्रिया