दुलहीजस्तै सिँगारिँदै वीर अस्पताल, स्वास्थ्य सेवा र भित्री रूप पनि फेरियोस्

0
Shares

भगवती तिमल्सिना

नेपालको सबैभन्दा पुरानो वीर अस्पताल यतिबेला रंगीचंगी बनेको विषय सर्वत्र चर्चाको रहेको छ। यो अस्पतालको बाहिरी स्वरूप परिवर्तनले ल्याएको चर्चा हो। वास्तवमा सरकारका निकायहरू जनमुखी र सर्वसुलभ हुनुपर्ने विषयमा नीतिगतरूपमै व्यवस्था हुनुका साथै हरेक व्यक्तिमा सकारात्मक सोच आउने हो भने जुनसुकै क्षेत्रको सुधार सम्भव छ भन्ने उदाहरण टड्कारोरूपमा वीर अस्पतालको सरसफाइ र रंगरोगनलाई लिनु निकै राम्रो पक्ष हो।

डा. भुपेन्द्र बस्नेत
निर्देशक, वीर अस्पताल

तर, यो अस्पताल निकै पुरानो र जनस्वास्थ्यका हिसाबले नेपाली जनताको पहिचान दिने एउटा प्रमुख थलो पनि हो। यो अस्पतालमा उपचारका लागि आउने हरेक बिरामी नेपाली हुन् र नेपालको स्वास्थ्य अवस्था कस्तो छ र नेपाली जनताको बुझाइ र भोगाइ कस्तो छ भन्ने बारेमा आम नेपालीले छर्लङ्ग देख्न सकिन्छ। यो अस्पताल विक्रम संवत् १९४७ सालमा तत्कालीन प्रधानमन्त्री वीर शमशेर जंगबहादुर राणाको नाममा स्थापित भएको ऐतिहासिक पृष्ठभूमिमा उल्लेख गरेको छ। यो १ सय २८ वर्ष पुरानो इतिहास बोकेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल हो। यो अस्पताल सुधारका लागि राष्ट्रिय नीति बन्नुपर्छ। नेपाली जनताले आशा, भरोसा र विश्वास गरेको नेपालको सबैभन्दा ठूलो देशभरिका बिरामीले सर्वसुलभरूपमा सेवा लिन सक्ने अस्पताल बन्न सकोस् भन्ने सबैको अपेक्षा हो।

यो देशकै जेठो अस्पताल भएकै कारण सेवा प्रवाह गर्ने जनशक्ति, उपकरण, भौतिक संरचनालगायत यो अस्पताललाई हेर्ने दृष्टिकोण पनि उत्तिकै पुरानो छ। यस अस्पतालमा रोगअनुसारका विशेषज्ञ पनि उत्तिकै दक्ष र अनुभवी भएकै कारण देशभरीबाट अन्यत्र उपचार गराउँदा विषयअनुसारको विशेषज्ञ सेवा नपाएर या सन्तोषजनक नभएर आउने बिरामीको संख्या पनि उत्तिकै रहेको छ। यतिबेला देशका नीति निर्माण तहमा रहेर काम गर्ने जिम्मेवारी पाएका राजनैतिक नेताहरू सामान्यभन्दा सामान्य उपचारका लागिसमेत राज्यको ढुकुटी रित्याएर निजी क्षेत्रबाट सञ्चालित महंगा अस्पताल तथा विदेश धाउने प्रचलनले गर्दा वीर अस्पताल आर्थिक अवस्था कमजोर भएका र नीति नियमका बारेमा खबरदारी गर्न नसक्ने वर्गको पहुँचमा भएको भान हुन्छ।

यतिबेला २ साताअघि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको अगुवाइमा नेपाल सरकारद्वारा सरसफाइ दूत घोषित हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेले, सफाइ अभियन्ता खेम शर्मा, बागमती सफाइ अभियन्ता अर्जुन धरेलसहित वीर अस्पतालका विभागीय प्रमुखसहितको टोली २ साताअघि देशकै नमुना अस्पताल बनाउने उद्घोष गर्दै १५ दिने अस्पताल सफाइ अभियान लिएर मैदानमा उत्रिएको थियो। अझै यो टोलीले थप २ साता काम लम्बिएको जनाएको छ। पहिलो दिन राज्यमन्त्रीसहितको टोलीले वीर अस्पतालको चौथो तलामा रहेको शौचालय सफाइ गरेर अभियानको थालनी गरेको थियो। तर, शौचालय र वरिपरिको सरसफाइसँगै रंगरोगन, धारा, बत्तीको पनि सुधार गर्ने सोचको विकास गर्दै यतिबेला टोली अघि बढेको छ। यो अत्यन्तै सकारात्मक र प्रशंसनीय कार्य भएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेत बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ-‘काम अत्यन्तै राम्रो भएको छ। विगतमा गरिएका कामहरू बजेट हेरेर सस्तो र सरल ढंगले हेरिन्थ्यो तर यतिबेला स्वास्थ्य राज्यमन्त्रीसमेतको अठोटमा अघि बढेको सरसफाइ दूतसहितको टोली निकै प्रतिबद्ध भएर लागेका छन्। साथमा अस्पतालका हरेक विभागका कर्मचारी पनि छन्। यतिमात्र नभई नयाँ प्रविधिबाट रंगरोगनका विज्ञद्धारा अस्पतालका कर्मचारीलाई समेत साथमै लिएर काम भएको छ।

विगतमा बजेट अभावमा एकै कलरको चुना लगाउनुपथ्र्यो भने यतिबेला विशेषज्ञसमेतको संलग्नतामा आर्कषक रंगरोगन गरिनुले घरको चमक बढाएको छ। काम गर्ने हरेक व्यक्ति कति लगनशील हुनुपर्छ भन्ने कुराको उदाहरण उहाँहरूले प्रस्तुत गर्नुभएको छ। बिहान ६ बजेदेखि राति २ बजेसम्म पनि एकनास खट्नुभएको हुन्छ। जिम्मेवारी बोध गरी कामप्रतिको लगनशिलतातर्फ हरेक कामदारको मानसिकता नसच्चिए सम्म केही हुन्न्।

हरेक व्यक्तिले यो मेरो जिम्मेवारी हो अस्पताल जस्तो स्वास्थ्य सेवा प्रदान गर्ने ठाउँमा प्रवेश गर्दादेखि बाहिरिँदासम्म चिकित्सक, नर्स, कर्मचारी, बिरामी र बिरामीका आफन्त तथा भिजिटरले आफ्नो ठाउँबाट जिम्मेवारी बोध गर्नुपर्छ र जवाफदेहिता अवलम्बन गर्नुपर्ने निर्देशक बस्नेतको ठम्याइ रहेको छ। यति लामो अवधिसम्म अस्पताल सुधारका लागि धेरै प्रयत्न नभएका हैनन्। तर, सरकारले बनाएका नीति नियमको पालना गर्ने निकाय र अनुगमन गर्ने निकायले हरेक क्षण अनुगमन, मूल्यांकन र व्यवस्थापन गर्ने पाटोमा निरन्तरता दिन आर्थिक, सामाजिक, व्यावहारिक पक्ष कमजोर भएकै हो।

वीर अस्पताल काठमाडौंको मुख्य केन्द्रमा रहेको छ। अस्पतालका आसपासमा रहेका न्युरोड, महाबौद्ध, रत्नपार्क, बसपार्कजस्ता क्षेत्रमा अहिलेसम्म पर्याप्त शौचालय छैनन्। त्यसका कारण वीर अस्पतालको शौचालय सार्वजनिकजत्तिकै भएको छ। शौचालय प्रयोगकर्ताले कसैले कपडा, कसैले बोतल, कसैले स्यानोटरी प्याड भित्रै छिराएर हिड्ने गरेकै कारण भर्खरसम्म चालु भएको शौचालय मिनेटभरमै जाम हुने गर्छ। पहिलो कुरा शौचालय प्रयोगकर्ता पनि सचेत र जिम्मेवार हुनुपर्छ।

यसका लागि अस्पताल आसपासमा व्यवस्थित शौचालय हुनुपर्छ। दैनिक बिरामी र बिरामीका आफन्त मात्र ५ हजारको हाराहारीमा आउने वीर अस्पतालको क्षमता र कर्मचारीको दरबन्दी १ हजारको हाराहारीमा छ। यो हेर्ने हो भने पनि कति काम कसरी गराउन सकिन्छ भन्ने स्पष्ट हुन्छ। यसका लागि हरेक मानिसमा चेतनाको तह वृद्धि हुनैपर्छ भन्नुहुन्छ निर्देशक बस्नेत। उहाँ प्रश्न गर्नुहुन्छ १ हजार जनशक्तिले चौबिसै घन्टा बिरामी हेर्ने कि सरसफाइ भयो भएन हेर्ने? यसका लागि स्वास्थ्य मन्त्रालयले सुधारका लागि आवश्यक जनशक्ति थप गरी नियमित अनुगमन गर्नुपर्छ। अस्पताल सञ्चालक समिति तथा व्यवस्थापन पक्षले पनि निकै जिम्मेवार भएर काम गरिरहेको कुरा पनि सम्बोधन हुनुपर्छ। सधैं यो भएन त्यो भएन मात्र होइन कसरी भएन, किन भएन र कसरी गर्ने भन्ने स्पष्ट नीति र जनशक्ति हुनैपर्छ।

नेपालमा भित्रिएका प्रविधिलाई हेर्ने हो भने वीर अस्पतालमा जति पुरानो सामान र पुराना अनुभवी दक्ष जनशक्ति सायदै नयाँ अस्पतालमा छैनन्। यिनै जनशक्तिबाट सेवा लिएर सन्तुष्टी प्राप्तिका लागि देशका कुना-कुनाबाट बिरामीहरू आउँछन्। वीर अस्पतालमा अहिलेसम्म रंङरोगन नभएको र शौचालय कहिल्यै सफा नगरेको होइन। यो नियमित प्रक्रिया हो। नयाँनयाँ प्रविधिको प्रवेश बिस्तारै हुँदैछ। त्यसमा पनि कहिलेकाहीं प्राविधिक समस्याका कारण सेवा केही समय अबरुद्ध हुन सक्छ तर सेवा नै नदिएको भने छैन।

देशभरीका जटिल खालका बिरामीको चाप हुने अस्पताल भएकाले वीर अस्पतालमा पालो नकुरी विशेषज्ञीय सेवा लिन भने यतिनै जनशक्ति र उपकरण तथा भौतिक संरचनामा सम्भव नुहने डा. बस्नेत बताउनुहुन्छ।

वीर अस्पताल भनेको समग्र देशका जनताको प्रतिनिधित्व गर्ने ऐना हो। यहाँ सम्भव भएसम्म नयाँनयाँ प्रविधि पनि भिœयाउँदै गएका छौं। आन्तरिकरूपमा पनि अस्पतालको सर्भिसको मूल्यांकन गरिन्छ। हाम्रो ठम्याइमा देशका हरेक निकायको सुधार हुनुपर्छ, देशका नीति नियम सच्चिनुपर्छ। नेपाल पनि विदेशभन्दा कम सुविधामा स्वास्थ्य सेवा सञ्चालन गरेर बस्नुपर्ने बाध्यता हुँदैन। तर, यतिबेला भएको सहयोगजस्तै सबै बेलामा हुने हो भने काम गर्ने र गराउने, चिकित्सक, नर्स र बिरामीका बीचमा जुन खालको खाडल छ त्यसको अन्त्य हुन समय लाग्दैन।

हरेक व्यक्तिले यो मेरो जिम्मेवारी हो। अस्पताल जस्तो स्वास्थ्य सेवा प्रदान गर्ने ठाउँमा प्रवेश गर्दादेखि बाहिरिँदासम्म चिकित्सक, नर्स, कर्मचारी, बिरामी र बिरामीका आफन्त तथा भिजिटरले आफ्नो ठाउँबाट जिम्मेवारी बोध गर्नुपर्छ र जवाफदेहिता अवलम्बन गर्नुपर्छ।

हाल जेजति सेवा सुविधा छ, त्यसलाई नियाल्दा अस्पतालको क्षमताअनुसार सुधार राम्रो भएको छ। समय(समयमा सुधार्नुपर्ने विषयवस्तु र कमजोरीलाई औंल्याएको अवस्थामा तत्काल सुधार गर्न मद्दत मिल्ने थियो। यता सरसफाइ र रंङरोगनको काम चलिरहँदा केही दिनअघि विद्युत् लाइनमा देखापरेको समस्याका कारण आईतबार साँझसम्म सीटीस्क्यानको काम रोकियो। त्यतिबेला चौतर्फीरूपमा नकारात्मक सन्देश फैलाउन कोसिस गरियो। आईतबार साँझदेखि नै मेसिन चालु भइसकेको छ। यो मेसिनरी उपकरणमा समस्या आउनु स्वाभाविक हो। दैनिक ठूलो संख्यामा गम्भीर बिरामी आउने अस्पतालमा मेशिन हरबखत चलेकै हुनुपर्छ। अन्यत्रको दाँजोमा छिटो समस्या देखा पर्यो भन्न मिल्दैन। वीर अस्पतालमा अन्तभन्दा सस्तो र सर्वसुलभ सबैको पहँुचमा सेवा प्रदान गरिएकै कारण सीटीस्क्यान, एमआरआई, भिडियो एक्सरे, इण्डोस्कोपी, एक्सरे, ल्याब अत्याधिक मात्रामा प्रयोगमा आउँछन्। बिरामी पनि अन्यत्र अर्थात् नीजि क्षेत्रमा जस्तो सीमित नभई असिमित हुने डा. बस्नेत बताउनुहुन्छ।

उहाँ थप्नुहुन्छ -‘यो १ सय २८ वर्षको इतिहास हो र नेपालको पहिलो अस्पताल जहाँ आधुनिक चिकित्साको अभ्यास गर्दछौं। यो नेपालकै लागि गर्वको विषय हो। जतिबेला अस्पतालको परिकल्पना गरियो त्यो अवस्थालाई नियाल्दा अहिले धेरै आधुनिक सेवा सुविधा रहेका छन्। तत्काल खुलेका निजी अस्पतालसँग वीर, प्रसूतिगृह, कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताललाई दाँजेर हेर्न मिल्दैन। जुनबेला केही थिएन त्यतिबेलाबाट शुरू भएका भौतिक संरचना, उपकरण, जनशक्ति सबै ऐतिहासिक हुन् र त्यसलाई समयसापेक्ष परिमार्जन गराउँदै गएका छांै र जान्छौं। एकैपटक यो पनि खत्तम भयो त्यो पनि भन्नुभन्दा सबै पक्षले आ-आफ्नो स्थानबाट आत्मसात् गरी जिम्मेवारी बोध गरेको खण्डमा सुधार पक्कै सुनिश्चित छ।

यो ऐतिहासिक अस्पताल हो र विश्वका विकसित मुलुकमा भएका आधुनिक चिकित्सा सेवा यहाँ पाइन्छ। पालो कुर्नुपर्ने बिरामीको चाप धेरै भएर नै हो। यतिबेला निजी क्षेत्रमा खुलेका अस्पतालमा पनि पालो कुर्नुपर्ने अवस्था छ। यो न्यूरो सर्जरी शुरू गर्ने पहिलो अस्पताल हो, जहाँ सीटीस्क्यान नजिकै थिएन। आधुनिक हृदयविज्ञानको क्षेत्रमा काम गर्ने नेपालकै पहिलो अस्पताल, नेपालको एन्जीयोग्राफीको पहिलो सेवा दिने अस्पताल, क्याथल्याब र भल्व प्रतिस्थापन सबै वीर अस्पतालमा सम्पन्न गरिन्थ्यो। हरेक वरिष्ठ डाक्टर जो आधुनिक प्रविधिका साथै औषधिको क्षेत्रमा पनि अग्रगामी भूमिका निर्वाह गर्दै आएकै छन्। यही अस्पताल हो जहाँ डा. मृगेन्न्द्रराज पाण्डे, डा. अंजनीकुमार शर्मा, डा. दिनेशनाथ गौगल, डा. दिव्यश्रम कुमार भट्टाचार्य, डा. मोहन शाह, डा. ईश्वरलाल, डा. ध्रुवलाल सिंह, डा. यादवबहादुर कार्की, डा. रामप्रसाद पोखरेल, डा. वसन्तलाल श्रेष्ठ, डा. गोपाल आचार्य, डा. हेमांग दीक्षित, डा. शंकरबहादुर श्रेष्ठ, डा. लक्ष्मण पौडेलजस्ता चिकित्सा क्षेत्रका हस्तिहरूले यस अस्पतालमा महŒवपूर्ण योगदान गर्नुभएको छ। विगतमा शाही परिवारलेसमेत उहाँहरूबाट सेवा लिने उत्कृष्ट अस्पताल हो। आज पनि यो सेवा कायम छ।

स्वास्थ्य क्षेत्रमा देशको आवश्यकताअनुसार समय सान्दर्भिक कम्पाउन्डरको तालिमदेखि चिकित्सा शिक्षाको शुरूआत पनि वीर अस्पतालबाटै भएको पाइन्छ। यतिबेला हरेक वर्ष यस अस्पतालमार्फत वार्षिक २ सय जना एमडी, एमएस र एमडीएसको उत्पादन हुन्छ। यो नेपाल र नेपाली जनताको लागि निकै खुसीको कुरा हो। यही जनशक्ति अहिले देशका कुनाकुनासम्म फैलिएर विशेषज्ञ सेवा प्रदान गरिरहेका छन्। उत्कृष्ट न्यूरो सर्जरी, आँखा सेवा, मानसिक सेवा प्रदान गरेकै हो। विस्तार विषयान्तरका अस्पताल, प्रसूतिगृह, आँखा अस्पताल, कान्ति बाल अस्पताल, दीपेन्द्र प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल विकाससँगै विषयगत सेवाहरू विस्तारित भएका हुन्। वीर अस्पताल नै त्यस्तो अस्पताल हो जुन अस्पताल सेवाका लागि आवश्यक जनशक्ति, नर्स, डाक्टर, विशेषज्ञ, ल्याबका लागि चाहिने दक्ष जनशक्ति यही उत्पादन गर्दै आएको छ।

निर्देशक बस्तेत भन्नुहुन्छ-‘यतिमात्र नभई शैक्षिक विकासकै लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थापना गरी चिकित्सा शिक्षा यसैमार्फत दिईंदैछ। वीर अस्पतालको क्षेत्र विस्तारसँगै राष्ट्रिय ट्रमा सेन्टर बनेको छ। उक्त सेन्टर वीर अस्पतालले नै सञ्चालनमा ल्याई दुर्घटनामा परी अंगभंग भएका बिरामीको विशेष उपचार विशेषज्ञद्वारा गरिँदै आएको छ। यो नेपाल र नेपाली जनताका लागि गौरवको विषय हो। यदि सरकारले ट्रमा सेन्टरलाई प्राथमिकतामा नराखेको भए सर्वसाधारण जनता घटना, दुर्घटनामा पर्दा उपचारका लागि महंगो शुल्क तिर्न बाध्य थिए। यी सबै अवस्थालाई नियाल्दा वीर अस्पतालले केही नगरेको हैन, धेरै गरेको छ। गुणस्तरीय चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा समर्पित भएकै छ। यो अवस्थालाई अझ व्यवस्थित बनाउन धेरै काम गर्न बाँकी छ। राम्रो कामका लागि सरसफाइ दूतमात्र नभई थुप्रै कलाकार, शुभचिन्तक, वीर अस्पतालका कर्मचारी, सरकार स्वयं लागिपरेको छ। यो अभियानले वीर अस्पताललाई नमुना बनाउन मद्दत पुग्नेछ।

भोलिका दिनमा पनि यस्ता कामलाई सरकारमात्र हैन सबैको भूमिका रहिरहनुपर्छ। काम गर्नेलाई काम गर्ने वातावरणसहितको हौसला र काम चोर्नेलाई कानुनी र व्यावहारिकरूपमै सचेत गराउनुपर्छ। साना ठूला सबैलाई नियम कानुन समानरूपमा लागू हुने वातावरण बन्नुपर्छ। अस्पताल वास्तवमै बिरामीमैत्री बनाउन सम्भव छ। आम जनमानसले पनि वीर अस्पताललाई सार्वजनिक शौचालय गर्ने ठाउँका रूपमा नभई स्वास्थ्य संस्थाकारूपमा हेर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्दछुँ।ु ७० वर्ष पुरानो भवनमा जडित लिफ्ट, उपकरण, खानेपानी, बिजुली, बिरामीका लागि आवश्यक पर्ने औषधिका लागि फार्मेसीजस्ता क्षेत्रको सुधारमा निरन्तर काम भइराखेको छ।

यतिबेला वीर अस्पतालको सफाइ तथा रंगरोगनका लागि सफाइ अभियन्ता खेम शर्मा, बागमती सफाइ अभियन्ता अर्जुन धरेल, सिस्नुपानी नेपालका टंक आचार्य, मनोज गजुरेल, कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)लगायतका अभियन्ताहरू स्वास्थ्य राज्यमन्त्रीको वीर अस्पताललाई सुविधा सम्पन्न नमुना अस्पताल बनाउने अभियानमा तल्लीन भएर रातदिन नभनी खटिनुभएको छ। उहाँहरूको यो सकारात्मक अभियानलाई भैरहवाको लीलाराम कुन्तीदेवी प्रतिष्ठानले रङरोगनका लागि आर्थिकरूपमा २ लाख सहयोग गरेको छ। पूर्वयोजनाबिनै शुरू गरिएको रंगरोगनका लागि आर्थिक अभाव सार्वजनिक भएलगत्तै आर्थिक सहयोग जुटिरहेको सरसफाइ अभियन्ता कलाकार सीताराम कट्टेल बताउनुहुन्छ।

धुर्मुस-सुन्तली फाउन्डसनको नेतृत्वमा भइरहेको सरसफाइ, रंगरोगन र मर्मतका लागि कम्तिमा पनि ५० लाख खर्च हुने अनुमान गरिएको छ। आकस्मिक बनेको यो परियोजनाका लागि ६ लाख संकलन भएको छ भने १८ लाख बराबरको काम भइसकेको छ। यसरी नै कामलाई निरन्तरता दिँदै जाँदा सहयोग जुट्ने अपेक्षाका साथ सीतारामको नेतृत्वमा वीर अस्पतालका कर्मचारी, प्रशासन, स्वास्थ्य मन्त्रालय सहमत भएर अघि बढेको छ। यो सकारात्मक कार्यले ठोस रूप लिन सकोस् र आम जनताले गुणस्तरीय स्वास्थ्य सेवा लिनका लागि चिकित्सक, उपकरण, बेडको अभावमा महिनांैसम्म पालो कुर्नुपर्ने र हारगुहार गर्नुपर्ने अवस्थाको अन्त्य होस् भन्ने अपेक्षा वीर अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीहरूको रहेको छ।
धुर्मुस-सुन्तली फाउन्डेसनको नेतृत्वमा चलाइएको यो अभियानलाई निरन्तरता दिन वीर अस्पतालकै कर्मचारीले गर्ने गरी आवश्यक तालिमसमेत दिँदै आएको धारणा कलाकार कट्टेलले सार्वजनिक गर्नुभएको छ। यस कार्यमा ख्यातिप्राप्त हास्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले साथ दिइरहनुभएकाले पनि आफूमा अझ आत्मबल बढेको उहाँले बताउनुभयो।