मोदीको नागरिक अभिनन्दन, अभिनन्दनपत्रमा रञ्जना लिपि


सुनील महर्जन, काठमाडौं

काठमाडौं महानगरपालिकाद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरिएको अभिनन्दनपत्रमा नेपाल संवत् र रञ्जना लिपिको पनि प्रयोग गरिएको पाइएको छ। रञ्जना लिपि ऐतिहासिक शिलालेखहरूमा प्रयोग गर्दै आएको लिपि हो। अभिनन्दनपत्रमा दुई ठाउँमा रञ्जना लिपिको प्रयोग गरिएको छ। अभिनन्दनपत्र र काठमाडौं महानगरपालिका शब्द ठूलो अक्षरमा रञ्जना लिपिमा लेखिएको छ।

महानगरपालिकाले नेपाली भाषाका अतिरिक्त नेपाल भाषा र रञ्जना लिपिको प्रयोग र संरक्षण गर्दै आएको सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न अभिनन्दनपत्रमा त्यही भाषा र लिपिको प्रयोग गरिएको बुझिएको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्बोधनका क्रममा शुरूमा गुजराती, त्यसपछि नेपाल भाषा र नेपाली भाषामा सम्मानपूर्वक अभिनन्दन गरेकोे बताउनुभयो।

जनकपुरमा गरिएको नागरिक अभिनन्दन समारोहमा मैथिलीमा बोल्नुभएका भारतीय प्रधानमन्त्री मोदीले काठमाडौंमा हिन्दीमा नै नेवार सभ्यता र संस्कृतिसँगै गहनाको खुलेर प्रशंसा गर्नुभयो। ‘काठमाडौं एउटा शहर मात्र होइन, एउटा भूगोल मात्र होइन, नेपालको राजधानी मात्र होइन, बुद्ध र सगरमाथाको राजधानी भएर पनि होइन, काठमाडौं एउटा पुरापुरी दुनियाँ हो, त्यसको त्यति नै पुरानो इतिहास छ जति पुरानो इतिहास हिमालको छ।’ –भारतीय प्रधानमन्त्री मोदीले काठमाडौंको पनि आफ्नै छवि रहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘काठमाडौं संसारकै इतिहास र परम्पराको भव्यता हो। जुन हिमालझैं भव्य छ। काठमाडौं साझा संस्कृति, विरासतको वैभव हो।’ सम्बोधनका क्रममा उपत्यकाको संस्कृति विश्वकै अत्यन्त महŒवपूर्ण संस्कृति र सभ्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो– ‘भक्तपुरको माटोको भाँडाकुँडा बनाउने कला, पाटनको काष्ठकला, धातुकला, हस्तकला र कलाकारहरूले काठमाडौंलाई बेजोड बनाएको छ।’

काठमाडौं बागमती, मञ्जुश्री गुफा, लिच्छिविकालीन बौद्ध विहारहरू र ज्ञानभूमि, शान्तिभूमि, इतिहास र सम्पदाको जीवन्त संग्रहालय रहेको पनि प्रधानमन्त्री मोदीको भनाइ रहेको छ। उहाँले काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुर शहरका कला, संस्कृति र रहनसहनको लामो व्याख्या गर्नुभयो। ‘मलाई काठमाडौं र नेपालले सधैं आकर्षित गर्छ किनकि यो शहर जति गहन छ, उति नै गतिमान छ’, मोदीले भन्नुभयो– ‘काठमाडौं हिमालयको काखमा बसेको एक अनमोल रत्न हो।’

काठमाडौंमा काठको मण्डप मात्र नभई साझा समझदारीको विविधता, विरासत र त्यसको ठूलो मनको झलक भेटिने बताउँदै प्रधानमन्त्री मोदीले भन्नुभयो– ‘नागार्जुनको जंगल होस् अथवा शिवपुरी अथवा बागमतीको मञ्जुश्रीको गुफा किन नहोस् दुनियाँमा आफैमा अनौठो छ।’

प्रधानमन्त्री मोदीले अर्कोपटक नेपाल आउँदा बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने बताउनुभयो। ‘यसपटकको भ्रमणमा जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्ने अवसर पाएँ। अब जहिले नेपाल यात्राको अवसर मिल्छ, म समय निकालेर बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम अवश्य बनाउँछुु।’ –उहाँको भनाइ थियो।

सो अवसरमा उहाँले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताउनुभयो। प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताउँदै नेपालमा अहिले उज्ज्वल भविष्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहोल रहेको धारणा राख्नुभयो। ‘तर, लक्ष्य अझै टाढा छ। एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखर चढ्नु छ’, मोदीले आफ्नो दुवै काँधमा हात राख्दै भन्नुभयो– ‘जसरी पर्वतारोहीले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईंका लागि शेर्पाको काम गर्न तयार छ।’

शुरूको दुई तीनवटा वाक्य नेपाली भाषामा बोल्नुभएका भारतीय प्रधानमन्त्री मोदीले अधिकांश सम्बोधन हिन्दी भाषामा नै गर्नुभयो। यसअघि समारोहमा प्रमुख शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई सांस्कृतिक र कलात्मक पहिचान झल्काउने महानगरको साँचो (मांताःचा) प्रदान गर्नुभयो। त्यस्तो साँचो हाल मन्दिरहरूमा लगाइने गरिन्छ, जुन पहिला घरघरमा लगाउने गरिन्थ्यो। प्रधानमन्त्री मोदीका लागि काठमाडौं सधैं खुला रहने भन्दै साँचो हस्तान्तरण गरिएको हो। सो अवसरमा प्रमुख शाक्यले ५५ किलोको बुद्ध मूर्ति र कलात्मक मयूरको झ्याल उपहारस्वरूप भारतीय प्रधानमन्त्री मोदीलाई दिनुभयो।
नागरिक अभिनन्दन भनिए पनि समारोहमा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीलाई धन्यवाद ज्ञापन गर्न नलगाई प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालामार्फत गराउनुलाई उदेक लाग्दो रहेका सहभागीको प्रतिक्रिया रहेको छ।