आजकल


आजकल जतिको घर–आँगनमा
जो–जो भीक्षा माग्न आएका छन्
नठानौं,
त्यागी सन्त, महन्त आएका छन्
निःस्वार्थले
हाम्रो घर आँगन धाएका छन् ⁄
वास्तवमा
यिनीहरूले धेरै कुरा जानेका छन् ⁄
पहिले,
नमस्कार फर्काउन गमक्क फुल्दथे
अहिले,
प्रत्येकको घर–आँगनमै आई
आफैंले ङिच्च ङिच्च
चिनेकै जस्तो गरी हाँसेका छन् ⁄
भन्नलाई भन्छन्
देश विकास गर्न जानेका छन् ⁄
तर, कुरो अर्कै छ
प्रायः सबैले श्रीसम्पत्ति थाती राखेर
देश र जनतालाई त यही नै हो
आफू र आफन्तलाई चैँ
राष्ट्रिय सम्पत्ति तानेरै भए पनि
राम्ररी नै पालेका छन् ⁄
भन्नलाई अरू धेरै कुरा भन्दछन्
तर पनि कठै
आफ्नो र आफ्नाका जीवन
दुखजिलो गरी धानेका छन्
अरू भन्या त्यस्तै नै हो
जनतालाई
आ–आफ्नै बिर्तासरि नै ठानेका छन्
कज्याउन जानेका छन् ⁄
हिसाब–किताब मिलाउन र
देशलाई दुहेर आफू मोटाउन चैँ
अझ बढी नै जानेका छन् ⁄
–प्रा. पवनकुमार बुढाथोकी
कोटेश्वर, काठमाडौं