रविन घिमिरे
लेडी विथ द ल्याम्प अर्थात् हातमा टुकी बोकेकी महिलाका नामबाट परिचित फ्लोरेन्स नाइटिंगेलको जन्मदिनका अवसरमा आज मे १२ मा विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ। चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् स्वास्थ्य परिचारिका पेसाको शुरुआत उनले नै गरेको पाइन्छ।
युरोपको तत्कालीन क्रिमेन युद्धका घाइते सैनिकको उपचारार्थ रातको समयमा टुकी बालेर सम्पूर्ण बिरामी भएका ठाउँमा अहोरात्र खटिएका कारण सैनिकहरूले उनलाई सम्मानका साथ लेडी विथ द ल्याम्प भनेका हुन्।
संसारकै पहिलो निजी नर्सिङ स्कुल थोमस हस्पिटल उनैले लन्डनमा स्थापना गरेकी हुन्, जुन अझैसम्म सञ्चालनमा छ। त्यतिबेला फ्लोरेन्सले अस्पताललाई सफा राख्न अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिङ पेसालाई स्थापित गराएकी हुन्।
सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधि बोकेकी अनि मुस्कानसहितको सेवा प्रदायक स्वास्थ्य परिचारिकाका रूपमा नर्सलाई लिइन्छ।
नेपालमा नर्सिङको शुरुआत र वर्तमान अवस्था
राणा शासनका समयमा सभ्रान्त परिवारमा स्वास्थ्योपचार गर्न नेपालमा नर्सिङको शुरुआत भएको पाइन्छ। राणाहरूको उपचार र प्रसूति सेवाको राम्रो व्यवस्था नभएका कारण धेरै महिलाले प्रजनन स्वास्थ्य सेवा नपाई ज्यान गुमाउनुपरेको थियो। त्यस अवस्थामा विद्यावति कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईलाई १८ महिने मिडवाई फ्री तालिमका लागि भारत पठाइयो। त्यसपछि २००९ सालमा स्टाफ नर्स पढ्नका लागि उमादेवी दास र रुक्मिणीचरण श्रेष्ठलाई पनि भारतमै पठाइएको थियो। अध्ययन पूरा गरेर उनीहरू नेपाल फर्किएपछि २०१३ सालमा डब्लूएचओको सहयोगमा सुरेन्द्र भवन, सानेपामा पहिलो नर्सिङ स्कुल सञ्चालनमा आएको पाइन्छ।
त्यतिबेला सञ्चालनमा आएका शैक्षिक कार्यक्रम, विद्यालय तथा क्याम्पसहरू २०२९ (सन् १९७२) मा त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतमा ल्याएपछि महाबौद्ध नर्सिङ विद्यालयको नाम परिवर्तन भएर नर्स क्याम्पस महाबौद्ध भयो। २०३० र २०३५ मा अनमी क्याम्पस तानसेन र क्षेत्रपाटीमा स्थापना भए, तर ती दुवै क्याम्पस हाल बन्द छन्। अहिले देशभर धेरै नर्सिङ कलेज सीटीईभीटीअन्तर्गत सञ्चालनमा छन्। यी कार्यक्रममा भर्ना हुन एसएलसी उत्तीर्ण हुनुपर्छ। यी कार्यक्रममा वार्षिक र सेमेस्टर प्रणाली विश्वविद्यालयले लागू गरी अरू कार्यक्रमसँग मिल्ने बनाएर त्रिभुवन विश्वविद्यालयले सन् १९८० देखि लागू हुने गरी पहिलो स्टाफ नर्स कार्यक्रमको शुरू गरेको हो।
स्नातक तहमा प्रौढ नर्सिङ (ई. १९८३), स्नातक बालरोग नर्सिङ (ई. १९८४) ३ किसिमका (अस्पताल, सामुदायिक र मनोवैज्ञानिक) कार्यक्रमहरू नर्सिङ क्याम्पस महाराजगन्जमा राम्ररी चलिरहेका छन्। पछि विस्तारै प्रौढ नर्सिङ २०५७ र बालरोग नर्सिङ २०५८ मा पनि स्नातकोत्तर कार्यक्रम शुरू भयो। २०६२ देखि क्याम्पसले बीएस्सी (नर्सिङ) पनि शुरू गरिसकेको छ। त्रिभुवन विश्वविद्यालयको अनुमति लिई वीर अस्पतालले पनि वीर अस्पताल नर्सिङ क्याम्पस खोल्यो। हाल यो राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको छ।
हाल काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सीटीईभीटीअन्तर्गतका धेरै क्याम्पसमा प्रमाणपत्र तहलगायत स्नातक तहका कार्यक्रम सञ्चालनमा छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०५३ देखि धरानमा ४ वर्षको बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गरेको छ। हाल पूर्वाञ्चल, काठमाडौं, त्रिवि र पोखरा विश्वविद्यालयअन्तगर्तका क्याम्पसमा कार्यक्रम चलिरहेको छ। अहिले गल्लीपिच्छे अस्पताल र क्लिनिकमा नर्स देख्न सकिन्छ। अहिले कतिपय नर्सिङ कलेजले पुरुषलाई पनि नर्सिङ तालिम दिने व्यवस्था गरेको भए पनि उनीहरू यस व्यवसायमा त्यति आकर्षित देखिँदैनन्।
नर्सका समस्या
लाखौं खर्च गरी पढेका नर्सले अस्पतालमा वर्षौंसम्म स्वयंसेविकाका रूपमा रातदिन ड्युटी गर्नुपर्ने अवस्था छ। जाडो, गर्मी, घरपरिवार, चाडपर्व नभनी चौबीसै घण्टा खटिएका नर्सहरूको पारिश्रमिक ज्यादै कम हुनु, रातको ड्युटीमा जानआउन सवारीसाधनको व्यवस्था नहुनु, नर्सहरूले पेसागत सुरक्षाको अनुभूति गर्न नपाउनु र कार्यबोझ बढी, कम सुविधा प्राप्त गर्नेजस्ता पीडा पनि उनीहरूका छन्। देशमा प्रभावकारी नीतिनियमको अभावमा योग्यता, क्षमता वृद्धि गरेर पनि एउटै तहमा वर्षांै रहिरहनुपर्ने र पदोन्नतिको अवसर प्राप्त गर्न नसक्ने अर्काे पीडाले नर्सहरू आफ्नो पेसाप्रति उदासीन छन्। यसका साथैे क्षमतावान् व्यक्तिहरू विदेशतिर पलायन हुनु र नेपाली स्वास्थ्य क्षेत्रमा नर्सको एक किसिमको अभाव सधंै खड्कनु पनि अर्काे समस्याका रूपमा देखिएको छ।
नर्सलाई कार्यक्षेत्रमा यथोचित रुपमा व्यवस्थापन नगरिनु, जथाभावी दिइएका सम्बन्धन प्राप्त क्याम्पसबाट उत्पादित जनशक्तिमा गुणात्मक कमजोरी देखिनु, अस्पतालमा काम गर्ने स्टाफ नर्सहरूका लागि तालिम र उच्च शिक्षाको अवसर सीमित व्यक्तिले मात्र प्राप्त गर्नुले पनि नर्सिङ पेसाप्रति वितृष्णा बढेको छ। नर्सहरूका लागि सेवा प्रवेश गर्दाको तालिम, कार्य क्षेत्रमा दिइने तालिमको उचित व्यवस्था हुन सकेको देखिँदैन। नर्सिङ पेसामा संलग्न नर्सहरू पेसागतरूपमा नै हिंसामा परेको, बिरामीको स्याहारसुसार गर्दा विभिन्न प्राणघातक रोगको सिकार हुनुपरेको र रातदिन नभनी सेवामा संलग्न हुँदा आपसी असमझदारीका कारण पारिवारिक विचलन आउनु बिडम्बना हो।
समाधानका उपाय
नर्सिङ पेसालाई मर्यादित र स्तरीय बनाउन रोजगारी दिने सरकारी र गैरसरकारी संघसंस्था र शिक्षा प्रदान गर्ने नर्सिङ क्याम्पस, लाइसेन्स प्रदान गर्ने नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ संघ आदिले पेसागत हकहित र अधिकारका लागि विशेष कदम चाल्नु जरुरी देखिन्छ। अस्पतालमा काम गर्ने स्टाफ नर्सहरूका लागि तालिम र उच्च शिक्षाको अवसर प्रदान गर्नुपर्ने देखिन्छ। नर्सहरूको पेसागत समस्याको समाधानका लागि सुरक्षित स्याहारसुसार गर्न मिल्ने व्यवस्था गरिनुपर्ने, पारिवारिक समझदारीको विकास गराई पेसाप्रति आकर्षित गराउन सम्बन्धित पक्षले पनि ध्यान दिनु आवश्यक छ। क्षमतावान् व्यक्तिका लागि स्वदेशमै अवसरको सृजना गरी विदेश पलायनबाट रोक्नुपर्ने देखिन्छ। कार्यबोझ कम गराई पदोन्नतिको व्यवस्थासमेत मिलाउन सकेमा नर्सिङ पेसाप्रति सबैको आकर्षण बढ्ने देखिन्छ।
प्रतिक्रिया