कौरा किङ दुर्गा गुरुङ



रश्मी थापा

बाँसुरीवादकको रूपमा परिचय बनाएका दुर्गा गुरुङ हाल मगर तथा गुरुङ समुदायमा प्रचलित कौरा (चुट्का) गीत गायनमा एकछत्र राज गरिरहेका छन्। त्यसैले उनलाई कौरा किङका रूपमा चिनिन्छ। कौरा गीत–संगीतको क्षेत्रमा भन्ने गरिन्छ– ‘कौरा किङ दुर्गा गुरुङ।’ २०३५ सालमा तनहुँ–८ वसन्तपुरमा जन्मेका उनले २०५० सालमा पोखराको लालीगुराँस कल्चर सेन्टरमा बाँसुरीवादकको रूपमा सांगीतिक यात्रा शुरू गरेका थिए। सांगीतिक क्षेत्रमा छाउने उद्देश्यले २०५३ सालमा राजधानी आएका उनले यहाँ आएर पनि करिब १ दशक बाँसुरीवादनकै क्षेत्रमा एकछत्र राज गरे।

‘एसएलसी सकिएपछि तनहुँबाट पोखरा गएर पृथ्वीनारायण क्याम्पस पढ्दै गर्दा बाँसुरीवादनको काम पनि सँगै अघि बढिरहेको थियो। साथीभाइले यत्तिको प्रतिभा भएको मान्छे यहाँ बस्नुभन्दा काठमाडांै गएर संगीतमा लाग्नु राम्रो हुन्छ भन्ने सल्लाह दिएपछि काठमाडांै आएँ। त्यसपछि बबरमहलमा रहेको रीमा रेकर्डिङ स्टुडियोमा नारायण रायमाझी दाइसँग भेट भयो र त्यहीं बाँसुरीवादकको रूपमा लगभग १० वर्षसम्म काम गरेर अनगिन्ती गीतमा बाँसुरी बजाएँ’, दुर्गाले सुनाए– ‘त्यतिबेला बाँसुरीवादक भनेपछि दुर्गा गुरुङ भनेर प्रत्येक स्टुडियोका मानिसले चिन्थे। मेरो फोन नम्बर काठमाडौंका प्रत्येक स्टुडियोका डायरीमा अहिलेसम्म भेटिन्छ।’

२०५६ देखि २०६० सालसम्म सांगीतिक समूह मंगोलियन हार्टमा बाँसुरीवादकको रूपमा रहेका उनी बाँसुरीवादनकै क्रममा गीत एरेन्ज र संगीत कम्पोज पनि गर्थे। यही क्रममा उनले संगीत संयोजकका रूपमा राजु परियार एकल साँझ, शर्मिला गुरुङ एकल साँझ, प्रेमराजा महत एकल साँझजस्ता कार्यक्रम गरेका थिए। डेढ दर्जन गुरुङ फिल्ममा संगीत तथा स्वर दिएका उनले ५ हजार गीतको म्युजिक एरेन्ज गरेका छन्।


‘सानैदेखि बाँसुरी बजाउँथें। रेडियो नेपालमा बज्ने गीतहरूमा कसरी बाँसुरी बज्छ भन्ने सुनेर क्याच गर्दै फेरि बाँसुरीमै धुन भर्थें। त्यही गीत कतिबेला आउला भनेर बस्थें र प्राक्टिस गर्थें। बाँसुरी बजाउने कलालाई गड गिप्mटेड मान्छुु।’ –बाँसुरीको साथमा मादल, तबला, हार्मोनियम, किबोर्डलगायतका वाद्यवादनमा समेत पोख्त उनले भने।

आँसु नझार एल्बममा रहेको आँसु नझार बोलको दोहोरी गीतबाट गायन यात्रा शुरुआत गरेका उनले रोदी घरैमा नामक लोक पप एल्बममा रहेको रोदी बस्न आउँछ रे भन्दिनु यानी मायालाईबाट लोकपप गायकको परिचय बनाए भने हे कान्छी ढल्क्यो जोवन माइतै नभुल, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो हाइ मेरो मायालु, ठूल ढुंगाको बजारैमा रसैको माया हे मायाजस्ता गीतमा स्वर दिएका छन्। कौरा, लोकपप, दोहोरी गरी डेढ सयभन्दा बढी गीत गाएका उनको चांैरी गोठैमा, माछी लेवैमा, रोधी घरैमाजस्ता लोकपप, हे कान्छी, रिसिङ डाँडा रमाइलो, सोलोजुलुको, साली भेना, रसैको माया, आकाशै उज्यालोजस्ता कौरा एल्बम बजारमा आइसकेका छन्।

‘धेरै जनाले कौरा गीत निकाल्दा मलाई नै गीत गाउन अफर गर्नुहुन्छ। यस्तो देख्दा खुसी लाग्छ। ६०÷७० भन्दा माथि कौरा गीत गाइसकें। अझ केही गीत आउने तयारीमा छन्। आफूले गाएका अधिकांश गीत आफैंले एरेन्ज गर्छु।’ –उनले भने। केही समयसम्म दोभान दोहोरी साँझमा कलाकार संयोजकको रूपमा काम गरेका उनले पछि पार्टनरसिपमा त्यही दोहोरी साँझ सञ्चालन गरेका थिए। ‘अहिले त म्युजिक कम्पोज, एरेन्ज र स्टेज पर्फमहरूमा नै व्यस्त छु।

त्यसैले अन्य कामका लागि समय पनि हँुदैन’, दुर्गा भन्छन्– ‘उमेरले झन्डै ४० टेक्न लाग्दासम्म म संगीतमै लागिरहेकाले अब अन्य व्यवसायकोे बारेमा सोचेको पनि छैन र सम्भव पनि छैन। पूरा जीवन संगीतमै अगाडि बढाउँछु। पछिल्लो समय कौरा गीतलाई विशेष प्राथमिकतामा राखेको छु। कौरा गीत हाम्रो संस्कृति भएकाले यसलाई बचाउने तथा अन्य समुदायमा पनि परिचित गराउन भनेर व्यावसायिकरूपमा कौरा गीत गायनमा धेरै समय दिइरहेको छु। दर्शकले पनि कौरा गीतलाई पछिल्लो समय निकै मन पराउनुभएकाले थप हौसला मिलेको छ

। यसमा मलाई लय तथा शब्द संकलक दाजु रेशम गुरुङले साथ दिइरहनुभएको छ।’ दुर्गा सम्झन्छन्– ‘पहिलेपहिले गाउन बजाउन हुँदैन भन्ने मान्यता थियो। तर, मेरो परिवारले भने कहिले पनि रोक्नुभएन अहिले पनि फुल्ली सपोर्ट छ।’


सांगीतिक कार्यक्रमको सिलसिलामा सन् २००० मा सिंगापुर र मलेसियाको भ्रमणमा गएका उनी २००४ मा कतार र २०१२ मा पहिलोपटक युरोप पुगेका थिए भने सांगीतिक कार्यक्रमकै लागि २०१५ मा युरोप र सन् २०१६ मा हङकङको समेत भ्रमण गरेका छन्। तमु से हुला, आँधीखोला तमु समाजलगायत विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका उनले गुरुङ फिल्म समाजद्वारा आयोजित पहिलो गुरुङ फिल्म अवार्ड तथा दोस्रो रोधी अवार्डमा उत्कृष्ट संगीतकारको अवार्ड चुमेका छन्।

प्रतिक्रिया दिनुहोस्