खाना खानुअघि र खाना खाइसकेपछि अनि शौच गरेपछि पनि सफासँग साबुन–पानीले हात धुनुपर्छ भनेर विज्ञापनमार्फत सिकाइने गरिन्छ। हामी यस्तो देशको नागरिक हौं, पछिल्लो तथ्याङ्कलाई नै हेर्ने हो भने महिला साक्षरतादरमा समेत वृद्धि भएको देखाउँछ, अब कसलाई पढे–लेखेको भन्ने ? जबकि पढे–लेखेकै महामहिमले समेत साबुन–पानीले हात धुनुपर्छ भन्नेसम्मको हेक्का राख्दैनौं भने प्रगति केमा र कहाँ हुन्छ ?
यी र यस्ता कुराहरू त विद्यालयस्तरबाट नै सिकाइने कुरा हुन्, घरपरिवारको जिम्मेवारी छैन भन्ने ठान्नुहोला तर अहँ बालबालिकालाई घरका आमाबुबाभन्दा विद्यालयका शिक्षक–शिक्षिकाले भनेकै प्रिय लाग्छ। उनैले भनेका हरेक कुरा आँखा चिम्म गरेरै पत्याउँछन्।
केही समयअगाडि वास फोरम र घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले गरेको विद्यालयको सरसफाइसम्बन्धी अनुगमनले पनि देखाएको थियो, विद्यालयको सरसफाइ कस्तो हुन्छ भनेर। अनुगमनका क्रममा विद्यार्थीले प्रयोग गर्ने चर्पी, खानेपानीको धारा कस्तो प्रयोग भइरहेको छ, सहजै देखिएको थियो। मलाई थाहा छैन, यो समस्या दाङको मात्र हो कि अन्यत्रको पनि हो ? जे भए पनि सरसफाइसम्बन्धी सचेतना जगाउनुपर्ने विद्यालयले नै यत्ति फोहोर गर्दा विद्यार्थीले त्यहाँबाट के सिक्ने ? त्यति मात्र होइन, उच्च शिक्षाका लागि जाने हाम्रो यही महेन्द्र बहुमुखी क्याम्पसको हबिगत पनि तिनै विद्यालयभन्दा कम छैन।
म महेन्द्र बहुमुखी क्याम्पस गएको थिएँ, उही पुरानो चर्पी, ढोका नै नलाग्ने खालको। चर्पीमा हाल्नलाई पानी नै छैन। अब चर्पीमा राख्ने पानीसम्म नभएको कलेजले चर्पी प्रयोगपछि साबुन–पानीले हात धुनुपर्छ भनेर कसरी सिकाउने ? अचम्म लाग्छ। भवन मात्र ठूला बनाएर हँुदैन, त्यो विद्यालय र कलेजले संस्कार सिकाएको छ कि नाइँ ? महत्वपूर्ण कुरा तिनै हुन् कि जस्तो लाग्छ मलाई। मैले सरस्वती माध्यमिक विद्यालयमा पढ्दा पनि चर्पीकै समस्या थियो। महेन्द्र बहुमुखी क्याम्पसमा पुग्दा पनि समस्या उही नै थियो। आजसम्म पनि क्याम्पसमा त हबिगत उही नै रहेछ। नयाँ–नयाँ संरचना थपेर मात्र के गर्नु ? चर्पीमा पानी नै छैन भने अनि फेरि साबुन–पानीले हात धुनुपर्छ भन्दै लाखौं रुपियाँ विज्ञापनमै खर्चिने पनि हाम्रै परिवेशमा हुन्छ। विद्यालय, क्याम्पस भनेकै सिक्ने थलो हुन्। यहीँबाट नै उत्पादित हुने त हुन् देश हाँक्ने खम्बाहरू, अनि हामीले के सिकाइरहेका छौं ? एकपटक सोच्ने कि ?
– पार्वती बस्नेत, दाङ
प्राविधिक शिक्षामा जोड गर
नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको छ। नेपालमा शैक्षिक जनशक्ति पनि बेरोजगार बन्न बाध्य छन्। स्नातकोत्तर उत्तीर्ण गरेका कैयौं जनशक्ति विदेश पलायन भएका छन् भने डिग्री हासिल गरेर पनि रोजगार पाउन नसकेका दृष्टान्त थुप्रै छन्। विश्व एक्काइसौँ शताब्दीमा प्रवेश गर्न लाग्दासमेत नेपाली समाजले राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेको छ। यो अधिकांश नेपालीको नित्य कर्मजस्तै बन्न पुगेको छ। सीपमूलक काम गर्ने र आफ्नो कमाइ गरेर खाने संस्कृतिको अझैसम्म विकास नभएका कारण हाम्रो देश विकासमा धेरै पछाडि परेको छ।
प्राविधिक ज्ञान भए कोही पनि बेरोजगार बन्नुपर्दैन। त्यसैले आजको प्रमुख आवश्यकता नै व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा नै हो। नेपालका युवा जनशक्ति विदेश पयालन हुने प्रवृत्ति बढिरहेको छ। देशमा जनशक्ति घट्दै जाँदा छिमेकी मुलुकका मजदुरले घर तथा विकास निर्माणका काम गर्दै आएका छन्। देशमा भारतीय मूलका नागरिकले धान रोपिदिनुपर्ने, कपडा सिलाइदिनुपर्ने, धान भित्र्याउने र काटिदिने काम गरिदिनुपर्ने अवस्था छ। मेहनत गर्न सके नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि अरुले नै सिकाइदिनुपरेको छ।
अहिले देशभर भर्ना अभियान चलिरहेको छ। स्कुले बालबालिकालाई आफ्नो तौलबराबरको किताबको भारी बोकाएर हामीले शिक्षाका नाममा यातना दिइरहेका छौँ। कापी–किताबको संख्या बढाएर मात्रै विद्यार्थी शिक्षित हुने होइनन्। कैयौं देशमा बालबालिकाको रुचिअनुसार पठनपाठन गराउने अभ्यास भइसकेको छ। चीनमै सफल भएको छ। बालमैत्री, विद्यालयमैत्री र प्रविधिमैत्री वातावरणमा बालबालिकाले शिक्षा आर्जन गर्न सके दक्ष जनशक्ति स्वतः उत्पादन गर्न सकिन्छ। तर, हामीकहाँ शिक्षक देख्नासाथ त्रसित बन्नुपर्ने अवस्था छ।
वर्षौंदेखि लादिएर पढ्न बाध्य नेपाली युवा जनशक्ति अन्नतः खाडी मुलुकहरूमा ‘थ्रीडी’ अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य हुनपर्ने नियति छ। एकातिर हामी आफ्नो काम आफैँ गर्न नसकेर परनिर्भर भइरहेका छौँ भने शिक्षित जनशक्ति पनि प्राविधिक ज्ञान नहुँदा जस्तोसुकै कामका लागि पनि विदेशिनुपर्ने बाध्यता छ। त्यसै कारण गरिबी हाम्रो स्थायी मित्र बन्न पुगेको छ। पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थी तथा अभिभावकहरूको ध्यान केन्द्रित भइरहेको छ। तर, अझै पनि प्राविधिक शिक्षा अधिकांशको रोजाइमा पर्न सकेको छैन। एसईई परीक्षा उत्तीर्णसँगै भविष्यको मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके मात्र शैक्षिक बेरोजगारको अन्त्य हुनसक्ने देखिन्छ।
प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु जरुरी भइसकेको छ। जुन विषय अध्ययन गरे पनि त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ। देश विकासको मुख्य आधार नै शिक्षा प्रणाली भएकाले सरकारले प्रत्येक जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाहरूलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ। देश बनाउन युवाहरूको सक्रिय र रचनात्मक भूमिका रहने गर्दछ।
तसर्थ उनीहरूलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश विकासको महाअभियान पनि सफल हुने विश्वास गर्न सकिन्छ।
देशलाई आर्थिक विकास र समृद्धि बनाउने जुन सपना छ, त्यसलाई मूर्त रूप दिनु राज्यको उत्तरदायित्व हो। अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने देखिन्छ।
मुलुकभित्रै बेरोजगारी र अवसरको कमीले गर्दा उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थी विदेश पलायन भइरहेका छन्। यो राज्यका लागि ठूलो क्षति हो। त्यसैले हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ। व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिएको छ। यो विषयमा स्थानीय निकाय सचेत बन्नु जरुरी छ।
– सुरेश घले, लमजुङ
प्रतिक्रिया