आर्सेनल बराबरीमा रोकियो

0
Shares

लन्डन, (एजेन्सी)
युरोपा लिगको सेमिफाइनलअन्तर्गत बिहीबार भएको पहिलो लेगमा एट्लेटिको मेड्रिडले आर्सेनललाई बराबरीमा रोक्न सफल भएको छ।

आर्सेनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा खेलको १०औं मिनेटदेखि १० जनामा सीमित एट्लेटिको मेड्रिडले आर्सेनललाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो। आर्सेनलले शुरुआती अग्रता लिए पनि अन्तिम समयमा एट्लेटिकोले अवे गोल गर्दै खेललाई बराबरीमा टुंग्याएको हो। खेल बराबरीमा सकिए पनि अवे गोल गरेकाले एट्लेटिकोलाई फाइदा पुगेको छ।

प्रशिक्षक आर्सेन वेन्गरको आर्सेनललाई खेलको दशौं मिनेटमा नै फाइदा पुगेको थियो। एट्लेटिकोका डिफेन्डर सिमे भर्साल्को दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान बाहिरिएपछि आर्सेनल घरेलु मैदानमा हावी देखिएको थियो। यति मात्र होइन, १० जनामा खुम्चिएको केही मिनेटपछि नै उग्र व्यवहार देखाएका कारण रेफ्रीले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीलाई पनि प्लेयर्स बक्समा बस्न निषेध गर्दै दर्शकदीर्घातिर पठाएका थिए। यति हुँदा पनि पहिलो हाफ गोलविहीन बनेको थियो।
पहिलो हाफमा फाइदा लिन नसकेको आर्सेनलले खेलको ६१औं मिनेटमा एल्केजेन्डर लाकजेटको हेड गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि पनि एकपक्षीय दबाब झेल्दै आएको एट्लेटिकोले खेलको ८२औं मिनेटमा बराबरी गोल फर्कायो। एट्लेटिकोका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिज्म्यानले काउन्टर अट्याकमार्फत सिर्जित अवसरमा आर्सेनलका गोलरक्षक र डिफेन्डरलाई बिट गर्दै बराबरी गोल फर्काएका हुन्। उक्त अवे गोलले दोस्रो लेगमा एट्लेटिको सम्भावनालाई मजबुत बनाएको छ।

मे महिनामा फ्रान्सको लियोनमा हुने फाइनलमा पुग्न आर्सेनलले एट्लेटिकोको घरेलु मैदानमा गोल गर्नेुपर्ने अवस्था छ। रक्षात्मकरूपमा कमजोर देखिएको आर्सेनलले एटलेटिकोमा जित्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ। अर्को सेमिफाइनलको पहिलो लेगमा फ्रान्सेली टोली मार्सेले घरेलु मैदानमा अस्ट्रियाको साल्ज्बर्गलाई २–० ले हरायो।

आफ्नै मैदानमा भएको खेलमा मार्सेलाई जित दिलाउन फेलोरियान थाउभिनले खेलको १४औं मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै खेलको ६२औं मिनेटमा क्लीन्टन निजेले दोस्रो गोल गर्दै मार्सेको जित सुनिश्चित पारेका थिए। जितसँगै मार्सेले फाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ।