अदालत पुगे खेलाडी, कारण देखाऊ आदेश जारी


काठमाडौं, (नेस)
आगामी भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद प्रतियोगिताका लागि भएको बक्सिङ खेलाडी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै अन्तर्राष्ट्रिय बक्सर दिनेश श्रेष्ठले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

एसियाली खेलकुदका लागि गत पुसमा विर्तामोडमा सम्पन्न राखेप च्याम्पियनसिपमा प्रथम र द्वितीय भएर बन्द शिविरमा परेका खेलाडीबीच मात्र छनोट गराइएपछि असन्तुष्टि जनाएका दिनेशले खुला छनोटको माग राखेका थिए। यसका लागि बक्सिङ संघका अध्यक्ष र प्रमुख प्रशिक्षकलाई पटकपटक अनुरोध गर्दा पनि खेल्नबाट बञ्चित गराइएपछि बाध्य भएर अदालत जानुपरेको खेलाडी श्रेष्ठले बताए। उनले भने– ‘मैले छनोटमा सहभागी हुन पाऊँ भनेर नेपाल बक्सिङ संघमा थुप्रै पटक अनुरोध गर्दा अन्त्यमा पनि मैले खेल्न पाइनँ।’

खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल बक्सिङ संघलगायत खेलसँग सम्बन्धित १४ संस्थाविरुद्ध उनले दायर गरेको मुद्दामा बिहीबार न्यायाधीश अच्युतप्रसाद भण्डारीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। अन्तरिम आदेश माग गर्दै दायर भएको रिटमा निवेदक दिनेशका तर्फबाट अधिवक्ता लालबहादुर बस्नेतले बहस गरेका थिए। बहसपछि अन्तरिम आदेश किन जारी गर्नुनपर्ने भनी विपक्षीका नाममा १५ दिनभित्र कारण पेस गर्न आदेश दिइएको छ। मुद्दाको अर्को पेसी वैशाख २० गतेका लागि तोकिएको छ।

दुईपटक विश्व च्याम्पियनसिप, एकपटक एसियाली खेलकुद तथा दुईपटक साग गेम्स खेलिसकेका दिनेश गत पुसमा भएको राखेप च्याम्पियनसिपको सेमिफाइनलमा निधारमा चोट लागेपछि कांस्यमा सीमित भएका थिए। चोटमुक्त भएपछि अभ्यासमा फर्किसकेका उनले एसियाली खेलकुदका लागि गत चैत २९ र ३० गते भएको छनोट प्रतियोगितामा सहभागिता खोजेका थिए। तर, बक्सिङ संघले बन्द शिविरका खेलाडीबीच मात्र छनोट प्रतियोगिता गराएपछि उनी खेल्नबाट वञ्चित भएका हुन्।
यसअघि पनि एसियाली खेलजस्तो प्रतिष्ठित प्रतियोगिताका लागि खुला प्रतिस्पर्धामार्फत नै छनोट हुने गरेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सदस्यसमेत रहेका दिनेशले बताए। ‘यसपटक पनि खुला प्रतिस्पर्धाबिना नै खेलाडी छनोट गरिएको छ। त्यो भनेको हाम्रा होइन राम्रा छनोट हुने हो।’

‘खुला छनोट गराएर राम्रो र लायक खेलाडीले राष्ट्रको प्रतिनिधित्व गर्न पाउँछ भने किन नगराउने त? यो मेरो मात्र असहमतिको विषय होइन, देशभरिका ती सबै खेलाडीलाई सम्बोधन गरिनुपर्दछ, जो दिनरात खेलकै लागि भनेर अभ्यासमा जुटेका हुन्छन्। अनि यस्तो प्रतिष्ठित प्रतियोगिताको छनोटसम्म खेल्न पाउँदैनन्।’ –उनले भने। एक दशकभन्दा लामो समयदेखि नेपाल पुलिसबाट खेल्दै आएका दिनेशले अदालतमा मुद्दा दर्ताका लागि आफ्नो संस्थाको अनुमति लिएको बताए।