आर्मीलाई हराउँदै मनाङ फाइनलमा

0
Shares

गणेश घिमिरे, इलाम

नाङमस्र्याङ्दी क्लब इलाममा जारी माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि १–० को कठीन जित निकाल्दै उपाधि होडमा प्रवेश गरेको हो। उपाधिका लागि मनाङले शनिबार हुने अन्तिम सेमिफाइनलको विजेता एपीएफ र थ्री स्टार क्लबबीचको खेलको विजेतासँग खेल्नेछ। टोलीका लागि ५८औं मिनेटमा अञ्जन विष्टले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। हेम गुरुङको फ्रि किकमा अञ्जनले हडमार्फत गोल गरेका थिए।

आर्मीले बल बढी आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन। पहिलो हाफमा मनाङमा दीपक राईले पेनाल्टी डिबक्सभित्र पाएको तीनवटा गोल गर्ने अवसर गुमाएका थिए। यस्तै आर्मीका भरत खवास र नवयुग श्रेष्ठले पनि गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लबका स्ट्राइकर अञ्जन विष्ट म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार रुपियाँ प्राप्त गरे। प्रतियोगितामा सीधै वाई पाएर क्वार्टरफाइनल खेलेका आर्मीले युनाइटेड सिक्किम एफसी र मनाङले आयोजक माइभ्याली फुटबल क्लबलाई हराएर सेमिफाइनलमा प्रवेश गरेका थिए।

खेलपछि मनाङका प्रशिक्षक फुजा तोपेले रणनीतिअनुसार नै खेलाडीले प्रदर्शन गरेकाले जित हात परेको प्रतिक्रिया दिए। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पाएको अवसरलाई सदुपयोग गर्न नसक्नु नै हारको प्रमुख कारण रहेको प्रतिक्रिया दिए। गएको सिजनमा मनाङ र आर्मीबीच पाँचखेलमध्ये आर्मीले चार खेलमा जित हात पारेको थियो। आर्मीले गएको संस्करणमा देशका विभिन्न जिल्लामा भएका गोल्डकपमध्ये सातवटा गोल्डकपको उपाधि उचालेको थियो।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टिमको सहभागिता थियो । फाइनल खेल आउँदो १७ गते हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपियाँ प्राप्त गर्नेछन्।