हैदराबादको रोमाञ्चक जित


काठमाडौँ ।
हैदराबादको राजीव गान्धी रंगशालामा खेलिएको बिहीबारको खेल घरेलु टोली सनराइजर्स हैदराबादले रोमाञ्चक तरिकाले जितेको छ ।

लो स्कोरिङ खेलमा हैदराबादले किंग्स इलेभन पन्जाबलाई १३ रनले हराएर जितेको हो । यो जितसँगै हैदराबाद जारी सिजनको आईपीएल ११ अन्तर्गत अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । हैदराबादले १ सय ३३ रनको लक्ष्य दिएकोमा पञ्जाबले सबै विकेट गुमाएर १ सय १९ रनमै समेटिएको थियो । पञ्जाबका लागि केएल राहुलले ३२ रन र क्रिस गेलले २३ रन जोडेका थिए । पञ्जाबको ब्याटिङ ध्वस्त बनाउन प्रमुख भुमिका खेलेका हैदराबादका बलर रसिद खानले ३ विकेट लिएका थिए ।

यसअघि अंकित राजपूतको सानदार बलिङले गर्दा हैदराबादले १ सय ३२ रन मात्र जोडेको थियो । राजपूतले आईपीएलमा पहिलो पटक ६ विकेट लिएका थिए । उनले ४ ओभरमा १४ रन मात्रै खर्चेका थिए । हैदराबादको तर्फबाट मनीष पाण्डेले सर्वाधिक ५४ रन बनाएका थिए ।

खेलमा गेल र राहुलले पन्जाबलाई बलियो शुरुवाती दिएका थिए । दुबैले पहिलो विकेटका लागि ५३ रन जोडेर जित सहजै हुने संकेत गरे । तर राहुल र गेल लगातार आउट भएपछि मध्यक्रमको ब्याटिङ धरासयी बनेको थियो र पन्जाबले सहज लक्ष्य पनि भेटाउन सकेन । राजीव गान्धी ंरंगशालामा पन्जाबले २०१४ देखि कुनै पनि खेल जितेको छैन ।