ह्याप्पी डेजसँगै प्रियंकाको एकसाथ ४ फिल्म



यो शुक्रबार नायिका प्रियंका कार्कीका लागि सानदार दिन भएको छ। आज शुक्रबार अल नेपाल रिलिज हुन लागेको ह्याप्पी डेज र कोहलपुर एक्सप्रेससँगै देशभर प्रियंकाकै ४ फिल्म छाउने भएको छ।

यसलाई लिएर नायिका प्रियंका कार्की दंग परेकी छिन्। ‘म त लक्की सावित भएको छु। शुक्रबार नेपालभर ४ नेपाली फिल्म हलमा देखिने छन् र चारवटै फिल्ममा म छुु’, प्रियंकाले भनिन्– ‘शुरूमा त कोहलपुर एक्सप्रेससँगै ह्याप्पी डेज पनि लाग्ने भएपछि मिलाउने कोशिस गरें।

तर, नमिल्ने भएपछि जे भए पनि सबै मेरै फिल्म हो भनेर खुसी लागेको छ।’ प्रियंका नायिका रहेको फिल्म शत्रु गते आजैबाट छैठौं हप्तामा प्रवेश गरेको छ भन उनको अर्को फिल्मे लिली बिली तेस्रो सातामा प्रवेश गर्नेछ। उनीद्वारा अभिनित कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज आजै थपिने भएपछि देशभर प्रियंकाका फिल्म छाउने भएका छन्।

लिली बिली र ह्याप्पी डेजका निर्देशक मिलन चाम्सका अनुसार दुईमध्ये ह्याप्पी डेज प्रियंकाका लागि बलियो फिल्म हो। ‘किनभने ह्याप्पी डेजमा प्रियंकाको सेन्ट्रल क्यारेक्टर छ। लिली बिली मैले आफ्नो लागि बनाएको फिल्म हो भने ह्याप्पी डेज अडियन्सका लागि बनाएको फिल्म हो’, मिलनले भने– ‘ह्याप्पी डेज विदेशमा बस्ने एनआरएनको आम भोगाइको कथाको फिल्म हो। यसमा धेरैपछि दयाहाङ राई र प्रियंकाको जोडीलाई देखिनेछ। यो लिली बिलीभन्दा पहिला विदेशमा राम्ररी सुटिङ गरिएको फिल्म हो। यसको कथावस्तु पनि पृथक छ। गीत–संगीत पनि यसको राम्रो छ।’ मिलन भन्छन्– ‘एकसाथ प्रियंकाको ४ फिल्म चल्दै छ। यो राम्रो अवसर हो। यसलाई त गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा छपाउनुपर्छ भन्ने सोचेको छु। यो कसैले चाहेर होइन, संयोगवश एउटै नायिकाको ४ वटा फिल्म एकैपटक लाग्दै छ। यसको महत्त्व भनेको अहिलेभन्दा पनि अबको २० वर्षपछिलाई हुनेछ।

प्रतिक्रिया दिनुहोस्