वर्षात्ले बिथोलेको एनएफडीसी अवार्डमा, शत्रु गते सर्वोत्कृष्ट फिल्म र मिलन निर्देशक



रश्मी थापा
वर्षात्को सास्तीका बीच बिहीबार राति राजधानीमा सम्पन्न छैठौं एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७४ मा सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता र अभिनेतृ छुट्टाछुटै फिल्मले पाएका छन्।
लगातारको झरीका बीच सम्हाल्नै मुस्किल परेको अवार्ड समारोहमा सर्वोत्कृट फिल्मको अवार्ड शत्रु गते, निर्देशकको अवार्ड लिली बिली, अभिनेताको अवार्ड कृ र अभिनेतृको अवार्ड ब्लाइन्ड रक्सले उचालेको छ।
राजधानीको बौद्धस्थित होटल हायातको रक्स गार्डेनको खुला स्थानमा सम्पन्न अवार्ड समारोह लगातार पानी परेका कारण बिथोलिन पुग्यो।
कार्यक्रम शुरू भएलगत्तै परेको पानीका कारण समारोह केहीबेर रोकिन पुग्यो, पानी कम भएपछि नरेश भट्टराई र सुगारिका केसीले अवार्ड प्रदान गर्ने अतिथिहरूलाई मञ्चमा भेला पारी कार्यक्रम अगाडि बढाए पनि पुनः वर्षात् भएपछि समारोह अगाडि रहेको हलभित्र अस्तव्यस्तरूपमा सम्पन्न गर्नुपर्यो।
जसलाई हेरेर अवार्डका संरक्षक उद्धव पौडेलले मौसमले साथ नदिए पनि कलाकर्मीका साथ र धैर्यताले कार्यक्रम सफल भएको र फिल्म क्षेत्रको श्रीवृद्धिका लागि अवार्डलाई निरन्तर गर्दै जाने बताए।
वर्षात्कै कारण मनोरञ्जनका कार्यक्रम रद्ध गर्नुपरेको अवार्ड समारोहमा शत्रु गतेले सर्वोत्कृष्ट फिल्मसँगै कथा र संवाद, पटकथा, सम्पादन तथा ध्वनि पुनर्मुद्रण गरी ५ अवार्ड उचाल्यो।
नेपाली फिल्म क्षेत्रका दिवंगत तथा जीवित फिल्म हस्ती र पत्रकारको नाममा नामाकरण गरिएको अवार्ड समारोहमा लिली बिलले पनि निर्देशक, नवअभिनेतृ, छायांकर र पाश्र्व संगीत गरी ४ अवार्ड जित्यो।
त्यसै गरी ऐश्वर्यले सहअभिनेता, सहअभिनेतृ र पाश्र्वगायन गरी ३ अवार्ड उचालेको छ। छक्का पञ्जा–२ केवल २ अवार्डमा सीमित हुन पुग्यो।
यो फिल्म कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक फिल्म र हास्य कलाकारको अवार्ड पायो भने अर्को फिल्म २ रुपियाँले सर्वोत्कृष्ट संगीतकार र नृत्य निर्देशकको अवार्ड उचाल्यो।
अचानक मौसम खराब भई वर्षात् हँुदा कार्यक्रम बिथोलिए पनि समारोहमा सहभागी कलाकर्मी मौसम सुध्रने आशमा धैर्यतापूर्वक बसेका थिए। राम्रो गर्ने प्रयासका बाबजुद मौसुमले व्यवधान गरेपछि उनीहरू थकथकाएका थिए।

प्रतिक्रिया दिनुहोस्