आईपीएलः टिम मुम्बईको ब्याड लक


काठमाडौँ ।
भारतमा जारी आईपीएल ११ अन्तर्गत मंगलबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले हारको सामना गरेको छ ।

आफ्नै घरेलु मैदानमा मुम्बईले सनराइजर्स हैदराबादबाट ३१ रनले हार बेहोरेको हो । वानखेडे रंगशालामा २०१३ देखि आईपीएल खेल्न थालेको हैदराबादको यो पहिलो जित पनि थियो । यसअघि तीन खेलमा यही मैदानमा मुम्बईले हैदराबादलाई हराएको थियो । तर यस सिजनमा कप्तान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईले लो स्कोरिङ खेलमा पनि जित हात पार्न सकेन ।

टस जितेर शर्माले हैदराबादलाई ब्याटिङको निम्तो दिएका थिए । जसमा बलरले राम्रो साथ दिँदा हैदराबाद १८.४ ओभरमा १ सय १८ रनमै अलआउट भएको थियो । कप्तान केन विलियम्स र युसुफ पठानले समान २९ रन जोड्नु नै टोलीको व्यक्तिगत सर्वाधिक योगदान थियो । योसँगै युसुफ आईपीएलमा ३ हजार रन पुरा गर्ने १२ औं खेलाडी बने ।

जवाफमा घरेलु टोली २१ रनका लागि नै तीन विकेट गुमाएर दवावमा आएको थियो । यो क्रम नरोकिएपछि मुम्बई १८.४ ओभरमा अल आउट हुँदै ८७ रनमै समेटियो । जसमा कप्तान रोहित समेत फलप भएका थिए । उनले २ रन मात्रै बनाएका थिए । त्यस्तै विस्फोटक ब्याटसम्यान किरोन पोलार्ड पनि आवश्यक समयमा ९ रनमै पवेलियन फर्के ।

त्यसो त लयमा रहेका सुर्यकुमार यादवले ३३ रन र क्रुणाल पाण्ड्याले २४ रन बनाएपनि हैदराबादका बलर सामु मुम्बईका ब्याटसम्यान निरीह भएका थिए । म्यान अफ द म्याच रसिद खानले किफायती बलिङ गर्ने क्रममा ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए । त्यस्तै सिद्धार्थ कौलले तीन विकेट प्राप्त गरेका थिए ।

हैदराबादको यो ६ खेलमा चौथो जित थियो । टोली अंकतालिकामा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै मुम्बई भने ६ खेलमा पाँच हारसँगै दिल्ली डेयरडेविल्स भन्दा माथि सातौं स्थानमा रहेको छ । टोलीले एक मात्र जित दिल्लीलाई हराएर हासिल गरेको थियो ।