च्याम्पियन्स लिगः लिभरपुलको फाइनल पुग्ने लक्षण


काठमाडौँ ।
यही साता मात्रै पीएफए वर्ष खेलाडी अवार्ड पाएका मोहम्मद सालहले अर्को सानदार खेल खेल्दा लिभरपुलले च्याम्पियन्स लिगको फाइनल पुग्ने लक्षण देखाएको छ ।

मंगलबार राति च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले एएस रोमालाई ५–२ गोलअन्तरले हरायो । लिभरपुल २००७ मा युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुगेको थियो । एनफिल्डमा भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लबले ६८ मिनेट भित्रै ५ गोल गरेर पाहुना टोलीमाथि वर्चश्व बनाएको थियो ।

लिभरपुलको जितमा सालह नायक बनेका थिए । सालहले आफना पुरानो क्लबविरुद्ध दुई गोल गर्नुका साथै थप दुई गोलको लागि सहयोग गरेका थिए । रोमाबाट एनफिल्ड आएदेखि सालहले यस सिजनमा ४३ गोल गरिसकेका छन् । त्यस्तै दोस्रो हाफमा फर्मिनोले दुई गोल गरे भने मानेले एक गोल गरेका थिए ।

उता इटालीयन टोलीका लागि ढिलो दुई अवे गोलले दोस्रो लेगमा केही आस बनाएको छ । दोस्रो लेग रोमाको मैदानमा आगामी मे २ मा खेलिनेछ । क्वाटरफाइनलमा पनि बार्सिलोनासँग पहिलो लेगमा ४–१ ले पछि परेपनि एक अवे गोलको सहयोगमा रोमाले इटालीमा ३–० कोजितसँगै अन्तिम चारको यात्रा गरेको थियो ।