काठमाडौं विश्वविद्यालयमा हृदय रोगको अनुसन्धान



भगवती तिमल्सिना

राष्ट्रिय जनसांख्यिक तथ्यांक २०११ मा उल्लेख भएअनुसार मानिसको खानपान र बसाइको स्तर वृद्धि भएको छ। बाथ, दम, मुटुरोग लाग्नेमा बढी मात्रामा गरिब देखिएका छन्। खानपान र उपचारमा सरदर खर्च गर्न सक्ने भनेका धनीवर्ग देखिएका छन्।

‘नेपालमा मुटु तथा रक्तनलीका रोगको सम्बोधन गर्नका लागि अनुवादिक अनुसन्धान क्षमता निर्माण पहल’ अभियान काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले शुरूआत गरेको छ।

नसर्ने रोगको प्रकोप बढेसँगै विश्वमा नै झन्डै ६० प्रतिशतभन्दा बढी मानिसमा नसर्ने रोगका कारण हुने मृत्यु तथा अपाङ्गतामा २५ प्रतिशतको हाराहारीमा हृदयरोग भएको विश्व स्वास्थ्य संगठनले औंल्याइसकेको छ। यसमा पनि कमजोर आयस्रोत भएका मुलुकमा मुटुरोगको प्रकोप अझ बढी रहेको औंल्याइरहँदा काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञसहितको एउटा ठूलै समूहले अमेरिका, चीन र भारतसमेतको सहकार्यमा नेपालमा हृदयरोगको सम्बोधन गर्नका लागि अनुवादिक अनुसन्धान क्षमता निर्माण पहलको अभियान नै चलाउन

 

थालेका छन्। यो कार्यको थालनी   नेपालका लागि नयाँ र निकै बृहत् तथा प्रशंसनीय भएको मुटुरोग विशेषज्ञको ठम्याइ छ।

यो परियोजनाले नेपालमा हालसम्म सरकारी तथा गैरसरकारी निकायबाट मुटुरोगको पहिचान, उपचार तथा के कस्ता कार्यक्रम भएका छन् भन्ने बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै नेपालमा मुटुरोग लाग्नै नदिन के गर्ने र लागेकाको रोगको व्यवस्थापनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने बारेमा अध्ययन अनुसन्धानका लागि ४ वर्षे कार्यक्रम लिएर अघि बढेको परियोजनाका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘रोग लागेपछि उपचार गर्नेभन्दा पनि नेपालमा हालसम्म मुटुरोगको रोकथाम र यसका बिरामीका लागि के भइरहेको छ र भोलिका दिनमा रोगलाई कमी गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य सेवा कसरी प्रदान गर्न सकिन्छ। त्यसका लागि कुन–कुन निकायले के–के रणनीति अपनाउनु जरुरी छ भन्ने बारेमा यो परियोजनाले खोज तथा अनुसन्धान गर्नेछ।

नेपालमा हाल विद्यमान जटिल समस्याका साथै बढी खर्चिलो स्वास्थ्य समस्याका रूपमा देखा परेको रक्तनली र मुटुरोगको समाधानका लागि केन्द्रित छ। यस विषयमा दक्ष जनशक्ति हुँदाहुँदै पनि विविध कारणले गर्दा कार्यान्वयनको पक्ष भने कमजोर हुन पुगेको छ। यसलाई कसरी समाधान गर्ने र समस्यालाई बृहत् रूपमा पारिवारिक बनाउने भन्ने विषय अनुसन्धानको एउटा पाटो रहेको छ। रक्तनली तथा मुुटुरोगका कारण के–कस्ता जटिलता निम्तिँदै छ भन्ने विषयमा सिकाइमै कमी छ। यसलाई कसरी परिणाममुखी बनाउने भन्ने विषयमा थालनी गरिएको अनुसन्धानका लागि अमेरिकाको हार्डवर्ड विश्वविद्यालय, युनिभर्सिटी अफ वासिङ्टन, युनिभर्सिटी अफ विसकन्सेन, पब्लिक हेल्थ फाउन्डेसन इन्डिया र चाइनाको सनयात्सेन युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको संयुक्त प्रयासमा नेपालमा अनुसन्धानका लागि नेपाल सरकारका निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, बीपीकेआईएचएस, आमसञ्चारलगायतका सबै क्षेत्रलाई समेटेर सन् २०१८ को फेब्रुअरीदेखि कामको थालनी गरिएको परियोजनाका सहनिर्देशक डा. विराजमान कर्माचार्य बताउनुहुन्छ।

नेपालमा हृदय रोगको अवस्थालाई कसरी पहिचान र समाधान गर्ने भन्ने खोज अभियानका अर्का हस्ति डा. अभिनभ वैद्य भन्नुहुन्छ– ‘यो अनुसन्धानात्मक परियोजनाबाट मुटु तथा रक्तनलीको समस्याको समाधानका लागि सकारात्मक प्रभाव कसरी पार्ने भनेर यथार्थमा आधारित बाटो पहिल्याउने परियोजनाको लक्ष्य छ। व्यावहारिक एवं परिणाममुखी बनाउन बहुआयामिक दक्ष जनशक्ति तयार पार्न विभिन्न क्षेत्रका स्वास्थ्य जनशक्तिलाई समेटेर बहुआयामिक तालिम र परिणाम प्राप्त गरी जनस्वास्थ्यमा सुधार ल्याउनु नै हाम्रो मुख्य उद्देश्य हो।’

काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागमा कार्यरत डा. दुर्गा विष्ट भन्नुहुन्छ– ‘मुटुरोगकै विषयमा पीएचडी गर्दा कसरी मुटुरोगको पहिचान गर्ने र रोकथामको उपाय अपनाउने भन्दै सोचिरहेको थिएँ। यो परियोजनाको थालनी मेरा लागि अत्यन्तै महŒवपूर्ण र इच्छाको विषय थियो। यो परियोजनाले मेरो सीप र अनुभव पूर्ण रूपमा प्रयोगमा आउँछ र परियोजना सफल बनाउन मद्दत गर्नेछ।’ नेपालमा बिरामीको पहिचान, रोगको प्रकार अनुसारको दर्ता, अवसर, अवस्था धेरै फरक छ। अनुसन्धानमा नेपालको तथ्यांक धेरै पछि परेको अवस्था छ। विषयगत विद्या छुट्याएर गरिने खोज अनुसन्धान कम हुने भएकै कारण तथ्यांक पहिचान गर्न अर्को जटिलता रहेको अवस्थामा यो परियोजनाले नेपालमा हृदय रोगको अवस्था कस्तो भन्ने थाहा पाउन ठूलो मद्दत पुग्नेछ।

परियोजनाको परिकल्पनादेखि अनुसन्धानको हरेक पक्षलाई सहजीकरण गर्दै आउनुभएका डा. आभा श्रेष्ठ भन्नुहुन्छ– ‘नेपालमा नसर्ने रोगसँगै जटिल बन्दै गएको मुटु र रक्तनलीसँग सम्बन्धित समस्याले मानिसको मृत्यु मात्र नभई अपाङ्ग बनाउनसमेत ठूलो हिस्सा ओगटेको छ। नेपालमा यस विषयमा खोज तथा अनुसन्धानका क्षेत्रमा काम गर्ने जनशक्ति आवश्यकताअनुसार अत्यन्तै कम छ। त्यसैले अनुसन्धानात्मक समूहको खाँचो पहिचान गरी यो परियोजनाको सोच बनायौं।’ नेपालमा सरकारले मुटुरोगलाई उपचारमा सहज बनाउन धेरै काम गरेको छ। बच्चामा लाग्ने मुटुको बाथरोगको उपचार सरकारले निःशुल्क गरेको छ। मुटु, स्वासप्रस्वास, मृगौला, अल्जाइमर, पार्किङ्सनजस्ता स्वास्थ्य समस्याको उपचार तथा न्यूनीकरणका लागि अभियाननै अघि सारेको छ र धेरै काम भएका छन्।

सरकारले गर्दै आएका यिनै कामलाई अझ मजबुत बनाउँदै जान सहज होस् भन्ने उद्देश्यले नेपालमा हृदय रोगको अवस्था र न्यूनीकरणको बाटो के हुन सक्छ भन्दै यो परियोजनाले दक्ष जनशक्ति उत्पादनका लागि ४ वर्षसम्म तालिमका साथै अनुसन्धान र प्रयोगात्मक विधि अपनाएको छ। अबको ४ वर्षपछि उत्पादित दक्ष जनशक्तिले अनुसन्धान र समस्याको समाधानको खोजी गरिसक्नेछ।

त्यति बेलासम्म बाथ मुटुरोगको पहिचान मात्र नभई दर्ता नै गर्ने परम्पराको थालनी गरिसक्ने छौँ। यसबाट कुनरोग कसरी लाग्छ र समाधानका लागि के गर्न सकिन्छ ? भन्ने बारेमा एउटा निचोड निस्किसकेको हुनेछ। हृदय रोगको अवस्था कस्तो छ, किन लाग्छ, कसरी रोकथाम गर्ने भन्ने विषयमा खोजीका लागि दक्ष जनशक्ति उत्पादन गरी खोजतलास गर्नकै लागि नै यो परियोजना अघि सारिएको हो। यो अवधिमा देशको समग्र अवस्थालाई नजिकैबाट पहिचान गरी सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा समाधानको खोजीको लागि अघि बढ्छाँै।

यो परियोजनालाई अझ नजिकैबाट सबैले बुझ्न, सिक्न र सिकाउन सकून् भन्ने उद्देश्यले परियोजनाको शुरूआत नै डाक्टर, पब्लिक हेल्थ, फार्मेसी, नर्सिङ, हेल्थ फाइनान्स, आमसञ्चारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको समिश्रण गरी तयार पारिएको छ। यति मात्र नभई यो समूहको अनुभव, सीप र व्यावहारिकताले रक्त नली तथा मुटुको रोग गरिबीकै कारण बढेको हो या रोगका कारण गरिबी बढेको भन्ने विषयमा समेत खोतलेर हेर्न मद्दत पुगोस् भन्ने उद्देश्यले सबै पक्षलाई समेटिएको हो। यो समूहको लगनशीलता र मेहनतले मुटुरोगको समस्या समाधानका लागि उदाहरणीय सावित हुनेछ भन्ने विश्वास लिएका छौं।

द नेपाल एनसीडीआई पोभरटी कमिसनले सन् २०१८ मा सार्वजनिक गरेकोे राष्ट्रिय रिपोर्टलाई केलाउँदा १९९० देखि २०१५ सम्ममा सर्ने भन्दा नसर्ने रोगको समस्या बढ्दो क्रममा रहेको पाइन्छ। नसर्ने रोगमा पनि मुटुरोगसँग सम्बन्धित समस्याका कारण मृत्यु हुने र विकलांग हुनेको संख्या ठूलो (१७ प्रतिशत) रहेको छ। यी के कारणले लाग्यो भन्ने यकिन कारणको पहिचान नै नभएको अवस्था ६२ प्रतिशत रहेको छ र पहिचान भएकामा १९ प्रतिशत खानपान, मोटोपन रहेको छ भने ११ प्रतिशत वातावरणीय प्रतिकूल असर रहेको छ।

मुटुरोग कुन कारणले भयो भन्ने विषयमा थप अनुसन्धान गर्नुपर्ने अवस्था यो रिपोर्टले पनि औंल्याएको डा. श्रेष्ठ बताउनुहुन्छ। यिनै कारणको खोजका लागि आवश्यक दक्ष जनशक्ति र सोचको खाँचो औंल्याउने पक्षको कमजोरी भइरहेको अवस्थामा थालनी भएको यो अनुसन्धानात्मक परियोजना नेपालका लागि मात्र नभई अनुसन्धानकै क्षेत्रमा कोसेढुंगा सावित हुन सक्छ।

राष्ट्रिय जनसांख्यिक तथ्यांक २०११ मा उल्लेख भएअनुसार मानिसको खानपान र बसाइको स्तर वृद्धि भएको छ। बाथ, दम, मुटुरोग लाग्नेमा बढी मात्रामा गरिब देखिएका छन्। खानपान र उपचारमा सरदर खर्च गर्न सक्ने भनेका धनीवर्ग देखिएका छन्। रोग लाग्ने अवस्थाले गरिबी निम्त्याएकोमा शून्य दशमलब ६५ प्रतिशतमा मुटुको समस्या रहेको छ। यति मात्र नभई गरिबीको संख्या दिनप्रतिदिन बढ्दै छ भने रोगका कारण गरिबी बढ्ने क्रम अझ तीव्र भइरहेको छ डा. श्रेष्ठ भन्नुहुन्छ। नेपालको अवस्थालाई नियाल्दा उपचारका लागि हुने ५६ प्रतिशत खर्च व्यक्तिको खल्तीबाटै गइरहेको छ। जसमा ३२ दशमलब ८ प्रतिशत नसर्ने रोगका लागि हुने गर्दछ। यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने यो परियोजनाको खोजको विषय बनेको छ।

साथै अधिकांश जनसंख्याका लागि स्वास्थ्य सेवा खर्चिलो, स्वास्थ्य संस्था अपायक, भौगालिक विकटताका कारण पहुँचयोग्य छैनन्। बिरामीको रोग पहिचानका लागि ग्रामीण भेगमा स्थापित स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि उपकरण र दक्ष जनशक्तिसमेत पुग्न सकेको अवस्था छैन। यसका लागि सरकारी तहमै गुणस्तर मापनलगायतका जनशक्तिको मूल्यांकन गर्ने निकायको खाँचो टड्कारो रूपमा देखिएको छ।

यिनै कारणले गर्दा आधारभूत आवश्यकता रक्तनली तथा मुटु रोग प्राथमिकतामा पर्न सकेको छैन। यिनै विषयलाई केलाउँदै अघि सारिएको यो परियोजनाको अनुसन्धान रणनीतिमा निम्न आय भएका देशहरूमा हृदय रोगहरूको रोकथाम र प्रवद्र्धनका लागि सूक्ष्म अध्ययनमा आधारित रहेको छ। यसका लागि तीन प्रमुख विधाहरूको पहिचान गरेको छः पहिलो कुशल मानव संशाधनको कमी, दोस्रो स्थानीय आवश्यकताको बुझाइको कमी र तेस्रो कार्यक्रम डिजाइन गर्न, लागू गर्न र मूल्यांकन गर्न कार्ययोजनाको कमी रहेको छ।

यो परियोजनाको मुख्य उद्देश्य भनेकै रक्तन तथा मुटुरोगको रोकथाम र व्यवस्थापन कसरी गर्ने भन्ने हुनेछ। यो कार्य सम्पन्न गर्न उत्तिकै मेहनत र चुनौती छ। यसका लागि एउटा छुट्टै केन्द्रको विस्तार गरी अघि बढ्ने परियोजनाको लक्ष्य रहेको अर्का सहनिर्देशक डा. अर्चना श्रेष्ठ बताउनुहुन्छ। परियोजनाले अनुसन्धानमा कार्यक्रम एकीकृत गरेर अघि बढ्ने अवसरका लागि विश्वविद्यालयलाई राम्रो अवसर प्रदान गर्दछ।

दोस्रो, यस परियोजनाले सरकारी, गैरसरकारी संस्थाहरू र शैक्षिक संस्थानहरू बीचको साझेदारीको एक नयाँ मोडेल सिर्जना गर्नेछ। यस मोडेल भविष्यमा अन्य स्वास्थ्य कार्यक्रमका लागि उदाहरणीय हुन सक्छन्। तेस्रो, यो प्रस्तावले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारको साथ समेत सहयोगी सम्बन्ध सिर्जना गर्दछ जुन नसर्ने रोगको रोकथाम र व्यवस्थापनको क्षेत्रमा ठूलो अनुभव हुनेछ। यस परियोजनाले असम्भव मानिएका काम सम्पन्न गर्ने दिशामा ताजा जानकारी प्रदान गर्नेछ।

परियोजनाको अन्त्यमा, तालिम प्राप्त जनशक्ति नेपालका लागि महत्वपूर्ण जनशक्ति हुनेछन्। काठमाडौ विश्वविद्यालय प्रशिक्षण र अनुसन्धानमा नेपालको प्रमुख संस्थाहरूमध्ये एक हो। अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा हृदयरोग अनुसन्धानलाई प्रमुख प्राथमिकतामा राखेर देशकै लागि ठूलो योगदान गरेको छ। वासिंगटन विश्वविद्यालयसँगको सहयोगमा काठमाडौं विश्वविद्यालय धुलिखेलमा सञ्चालित यो परियोजना नेपालमा मात्र नभई विश्वमै नमुना हुने विश्वास लिएको छ। यो परियोजनाबाट अन्य विश्वविद्यालयहरूले पनि सिक्ने र सहकार्य गर्ने अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्