मेलम्ची कुन दशैंमा ?


गत चैत २७ मा खानेपानी ल्याउने सुरुङमार्ग निर्माण सम्पन्न अर्थात् ‘ब्रेक थ्रु’ भएपछि वर्षौैंदेखि काकाकुलझैं बनेका उपत्यकाबासी उत्साहित बनेका छन्। ‘जे होस्, अबचाहिँ पानी आउने भो है’ सुरुङ छिचोलिएपछि अधिकांश उपत्यकाबासीले यस्तै प्रतिक्रिया जनाएको देखियो, सुनियो। कुल साढे २७ किमी सुरुङ पार भएको खबर सुन्दा उत्साहपूर्ण प्रतिक्रिया आउनु स्वाभाविकै हो।

२९ गते उपराष्ट्रपति पुनले मेलम्ची पुगेर निकै तामझामका साथ सुरुङको उद्घाटन गरे। मेलम्ची भ्यालीमा सुरुङ रिवन काट्ने काम सकिएपछिको कार्यक्रममा खानेपानी मन्त्री मगरले भनेकी थिइन्– ‘म एक दिन पनि काम रोक्ने वातावरण बनाउँदिनँ, दशैंअघि नै उपत्यकाबासीको घर–घरमा खानेपानी पु¥याइनेछ।’

रिबन काट्दा र मन्त्रीको भाषण सुन्दा त उपत्यकामा मेलम्ची त्यही दिन खत्रक्कै खसेर उपभोक्ताका घर–घरमा पानी छ्यालव्याल भएजस्तो लाग्या थियो। तर धरहराले भने दशैं त के अर्को चैते दशैंमा पनि मेलम्ची काठमाडौं आउने लक्षण देख्या छैन। अहिले सुरुङ मात्रै त छिचोल्या हो, साढे २७ किमि सुरुङमध्ये २४ किमि सुरुङ अझै ‘फिनिसिङ’ भएकै छैन।

सुरुङ ‘ब्रेक थ्रु’ भएपछिको दुई सातासम्म कुनै पनि निर्माणकार्य भएको छैन, सम्पूर्ण निर्माणकार्य ठप्प छ। पूर्वाधार निर्माणकार्य अझै ३५÷४० प्रतिशत बाँकी रहेको धरहराले प्रस्ट देख्या छ। अब पानी कहिले आउँछ भन्ने
मिति अनुमान गर्ने
जिम्मा पाठकवृन्दको।