पाँच वर्षभित्र देशको मुहार फेरिन्छः प्रम

0
Shares

वीरबहादुर बम, मुगु

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको पानीलाई जीवनजलका रूपमा प्रयोग गरी जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ। उहाँले सो कुरा शनिबार कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुभारम्भ गर्दै देशबासीका नाममा बताउनुभएको हो।

सम्बोधनका क्रममा स्वास्थ्य र शिक्षा क्षेत्रमा अग्रगामी परिवर्तन गरी देशकै कायापलट गरिने बताउनुभयो। नयाँ वर्षसगै मुगुका मार्गी र मुर्मा गाउँका १ दर्जन बालबालिकाको अभिभावक बनेर पनि प्रधानाध्यापकसामु भर्ना गरेर अबको २ वर्षभित्रै निरक्षरता उन्मूलन गर्ने बताउनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्र देशको मुहार स्पष्ट अनुभूति हुने गरी बदलिने बताउनुभएको छ। उहाँले पाँच वर्षपछि नयाँ निर्वाचनमा जनताको बीचमा उपलब्ध हासिल दिलाउन सफल हुने बताउनुभएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘पाँच वर्षभित्रैमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, यसमा आश्वस्त हुन र नयाँ सरकारका काममा आवश्यक सुझाव, चासो र सहयोग गर्नुहोला।’ उहाँले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभयो।

मुगुको राराबाट देशबासीका नाममा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्नुभयो। ‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ। इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ’, उहाँले भन्नुभयो– ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो। अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन्।’

उहाँले २०७४ साल महŒवपूर्ण राजनीतिक उपलब्धिको साल रहेको उल्लेख गर्दै ०७४ सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताउनुभयो। सम्बोधनका क्रममा ओलीले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको बताउनुभयो।

अहिले पनि के नेपाल बन्छ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्न आफूले पटक–पटक सुन्दै आएको बताउँदै भन्नुभयो– ‘नेपाल बन्छ, बनाउनै पर्छ। हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ। मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ। तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन। इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन।’

राष्ट्रहरूबीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने बताउँदै उहाँले भन्नुभयो– ‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकीहरू, सबै मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ट सम्बन्ध विकास गरेर सरकार अगाडि बढ्छ।’

‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको संकल्पलाई कर्णालीसँगै सिंगो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउने उहाँको विश्वास थियो। निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताको अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिइने उहाँको भनाइ छ।

‘धनी र गरिबबीच रहेको खाडल बढाउँदै जाने होइन, घटाउनुपर्छ। संविधानले निर्देश गरेको ‘समाजवाद उन्मुख राज्य’ निर्माणका लागि सामाजिक उत्पीडन र आर्थिक शोषणका कारण समाप्त पार्ने दिशातर्फ हाम्रा कार्यक्रमहरू परिलक्षित हुनेछन्।’ –उहाँले भन्नुभयो। निरपेक्ष गरिबी, निरक्षरता, आधारभूत स्वास्थ्य सेवा, यातायात, विद्युत्, खानेपानीजस्ता न्यूनतम सुविधाबाट वञ्चित रहनुपर्ने बाध्यता र पूर्ण बेरोजगारी अब हाम्रा कामका मुख्य निशाना हुनेछन्’, उहाँले भन्नुभयो– ‘विविधता, बहुलता, सामाजिक सद्भाव र सांस्कृतिक सहचार्य हाम्रो समाजको विशेष पहिचान हो। यसैमाथि अडेको छ हाम्रो बलियो राष्ट्रिय एकता।’

उहाँको भनाइ थियो– ‘तर यसलाई खल्बल्याउने, गरिबी, बेरोजगारी र अविकासजस्ता मुख्य मुद्दाबाट ध्यान बर्गेल्ने र त्यसअप्रिय परिस्थितिलाई दुरूपयोग गर्दै सामुदायिक सद्भावका ठाउँमा अविश्वास, सामाजिक द्वेष र घृणा फैलाउने प्रयास पनि यदाकदा देखा पर्ने गरेका छन्। यस्तो कुरा नेपाल र नेपालीलाई स्वीकार्य हुने छैन।’
प्रधानमन्त्रीले भन्नुभयो– ‘हामीले सन् २०२२ सम्ममा नेपाललाई अति अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्नु छ र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यका प्रतिबद्धतालाई पूरा गर्नु छ।’ स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्दै पारदर्शी कर, श्रमिकहरूको हित र वातावरणीय पक्षप्रति संवेदनशील हुँुदै समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदानका लागि सरिक हुन आग्रह गर्नुभयो।